मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
ख्याम भुजेल
२०७५ पौष २२ आइतबार १०:४७:००
Read Time : > 1 मिनेट
प्रदेश

इलामका कृषक रायो खेतीमा आकर्षित

Read Time : > 1 मिनेट
ख्याम भुजेल
२०७५ पौष २२ आइतबार १०:४७:००

बाक्लो तुसारो पर्न थालेपछि सूर्योदय नगरपालिका–६ तारगाउँमा लगाइएका आलुको बोट नै मर्न थालिसक्यो । अलैँची अम्लिसोलगायतका बोटबिरुवा पनि चिसोले मर्न थालिसकेका छन् । बाली नपाक्दै तुसारोले बोटै सखाप पारेपछि हैरान बनेका कृषक यतिवेला रायो खेतीमा आकर्षित छन् ।  तुसारोले रायोलाई कुनै असर गर्दैन । झन् लहलह हुन्छ । तुसारोपछिको रायो लयालु र स्वादिलोसमेत हुने भएकाले लेकाली क्षेत्रको रायोले राम्रो भाउ पाउँछ ।

सूर्योदय गाउँपालिका तारागाउँका किसानका लागि हिउँद यामको मुख्य आम्दानीको स्रोत नै रायोको साग बनेको छ । यहाँका किसानले हिउँदे बालीका रूपमा बारीभरि रायो खेती लगाएका छन् । तारागाउँकै लीलबहादुर भुजेलले दुई–अढाई रोपनी क्षेत्रमा रायो खेती लगाएका छन् । त्यसबाट उनले एक सिजनमा ४०–५० हजार रुपैयाँ आम्दानी गर्छन् । वर्षाको वेला रायो खेती गर्दा १०–१५ हजार आम्दानी हुन्छ ।

गाउँभरका धेरैजसोको घरमा रायो रोपिएको छ । ‘अलि औलतिर मात्रै रायो खेती हुँदैन,’ स्थानीय नेत्र खड्काले भने, ‘यहाँ रायो नलगाएको बारी भेटिँदैन ।’ एउटा घरमा कम्तीमा २० हजारदेखि एक लाख रुपैयाँसम्मको रायो साग उत्पादन हुने गरेको स्थानीय ठाकुर खवास बताउँछन् । ‘नभएको पनि १०–२० हजारको साग हुन्छ,’ उनले भने, ‘धेरै बारीमा साग रोप्नेले लाख रुपैयाँसम्म कमाउँछन् ।’

 एक महिनामै आम्दानी 
रायोलाई अरू बालीजस्तो कडा मिहिनेत गर्नु पर्दैन । मलिलो बारीमा रोपेको एक महिनादेखि आम्दानी लिन सकिन्छ । ओसिलो जग्गामा फस्टाउने रायोका लागि न गोडमेल गर्नुपर्छ, न त अरू बालीमा जस्तो पानी नै लगाउनुपर्छ । आकासे शीतकै भरमा उत्पादन दिने रायो बारीमा रोपेपछि टिप्न मात्र पस्छन् ।  इलाममा बर्सेनि नौ हजार ६ सय ३० मेट्रिक टन रायो साग उत्पादन हुने गरेको छ । यहाँको पाँच सय ३५ हेक्टर क्षेत्रफलमा रायो खेती हुने गरेको तथ्यांक छ ।

रायो सागको बिक्रीबाट ३४ करोड रुपैयाँभन्दा बढी रकम किसानले हात पार्ने गरेका छन् । एक किलो सागलाई तीन मुठा बनाइन्छ । सरदर १२ रुपैयाँ प्रतिमुठाका दरले ३४ करोड ६६ लाख ८० हजार रुपैयाँ रकम इलामका किसानको हातमा पुग्ने गरेको छ । 

 साग तराईसम्म निर्यात 
रायो उत्पादन गर्ने किसानलाई बजारको खासै समस्या छैन । मेची राजमार्गले भेट्ने नजिकको बजारमा पु-याउँदा रायो बिक्री हुन्छ । कतिले तराईका व्यवसायीलाई पनि साग पठाउने गरेका छन् । ‘थोरैथोरै भएको वेला हर्कटे बजारमा पु-याउँछन्,’ रायोको बजारबारे जानकारी दिँदै किसान लीलबहादुर भुजेल भन्छन्, ‘अलि बढी भयो भने झापा पठाउँछौँ, बारीबाटै साग उठाउन व्यापारी यहीँ पनि आउँछन् ।’

 साग मुठा बनाएर दैनिक गाडीमा लोड गरी झापा पठाउने किसान रकम बुझ्न १५–२० दिनमा पुग्छन् । स्थानीय बजारमा रायोको साग मुठाको १० देखि १५ रुपैयाँका दरले बिक्री हुन्छ । झापाका बजारमा पु¥याउँदा अलि बढीमा बिक्री हुन्छ ।  दैनिक १०–१२ गाडी (पिकअप) यहाँ उत्पादन भएको रायो लिएर बिहानको झिसमिसेमा झापाका विभिन्न बजारमा पुग्छन् । झापाको बिर्तामोड, चारआली, धुलाबारी, काँकडभिट्टा, बुधबारे बजार इलामको सागको मुख्य बजार हो । इलामको कन्याम, पञ्चकन्या, फिक्कल, गोदक, पशुपतिनगर, बरबोटे, चमैता रायो खेती हुने मुख्य ठाउँ हुन् ।