मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल
२०७५ पौष १ आइतबार ०८:५३:००
Read Time : > 3 मिनेट
साहित्य

भारतीयसँगको विवादले झर्रो आन्दोलन

Read Time : > 3 मिनेट
गणेश लम्साल
२०७५ पौष १ आइतबार ०८:५३:००

बालकृष्ण पोखरेल (८२) भाषामा एमए गर्ने पहिलो तीन नेपालीमध्येका हुन् । उनी बृहत् नेपाली शब्दकोश र नेपाली–अंग्रेजी शब्दकोशका लेखक पनि हुन् । उनीसहित ताना शर्मा, चूडामणि रेग्मी, बल्लभमणि दहाललगायतले ०१३ मा झर्रोवादी आन्दोलन थालेका थिए । उनले नै ताना शर्माका यात्रानिबन्धलाई नियात्रा नामकरण गरेका हुन् । पोखरेलसँग नयाँ पत्रिकाका गणेश लम्सालले झर्रोवादी आन्दोलन र भाषाका सम्बन्धमा संवाद गरेका छन् :

नेपाली भाषा अध्ययन गर्नेले अहिले झर्रो आन्दोलनबारे पढ्छन् । त्यो आन्दोलन मैले नै जन्माएको हो । २०१३ सालमा बनारस पढ्दा आन्दोलनको सुरुवात भएको हो । पछि त्यसलाई साथ र टेवा अरू साथीले पनि दिए । 

त्यो वेला भारतीयहरू नेपालीलाई अलग्गै भाषा नै मान्दैन थिए । हिन्दीकै शाखा भन्थे । विद्यालयका साथीहरू पनि ‘नेपाली भाषा त हिन्दीजस्तै हो,’ भन्थे । उनीहरू नेपाली लेखकले लेखेका लेख, कविता पढेर सबै मिलेको दाबी गर्थे । तर, म मान्दिन थिएँ । मेरो आफ्नै अडान थियो । एक दिन भारतीयहरूले भाषाको कक्षामै नेपाली भाषालाई हिन्दी भनिदिए । मलाई साह्रै चित्त दुख्यो । कैयौँ दिन निद्रा लागेन । त्यसपछि मैले निकै मिहिनेत गरेर गाउँ ठाउँका झर्रो शब्दहरू संकलन गरेँ । अनि तर्क गरेँ, ‘लौ भन तिम्रो हिन्दी भाषामा छन् यी शब्दहरू ?’ उनीहरू गले । त्यो दिन जति खुसी मलाई आजसम्म लागेको छैन । 

मैले झर्रो नेपाली शब्दबारे अध्ययन थालेँ । बनारसबाट छापिने पत्रपत्रिकामा झर्रो नेपाली भाषाबारे लेख–रचना छापिन थाले । तारानाथ शर्मा, चूडामणी रेग्मी, कोषराज रेग्मीहरू झर्रो भाषाको विकास गर्न हौसिए । बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठ पनि सर्मथक भए । झ्याउरे भाका प्रयोग गर्दा जातै जान्छ भनेझैँ गर्ने लेखनाथ पौड्याललाई पनि मैले हात जोडेर आफनो साहित्यमा झ्याउरे प्रयोग गर्न हौस्याएँ । त्यो वेला उनले  डाँफे चरीको विरहमा प्रशस्त झ्याउरे भाषा प्रयोग गरे । झर्रो आन्दोलनका सहयोगीमध्ये तारानाथ शर्मा अलि बढी उग्र थिए । कति ठाउँमा उनले विवादै ल्याइदिन्थे । सम्हाल्नको सास्ती हुन्थ्यो । हामीले नेपालमा त्यो वेला प्रकाशित हुने रूपरेखा पत्रिकामा झर्रो भाषामा स्तम्भ नै राखेका थियौँ । सम्पादक बालमुकुन्द पाण्डेले बसिबियाँलो स्तम्भ राखिदिएका थिए । पछि उनका ज्वाइँ उत्तम कुँवरले हटाइदिए । 

 गाउँका अनपढ पनि झर्रोवादी 
झर्रो भाषाको प्रयोग साहित्यमा भएकै छ । भर्रोवादीहरू यत्रतत्र देखिएकै छन् । तर, झर्रोवादी आन्दोलनलाई भने बिर्सिन थाले । उत्तराधिकारीले नामै नलिएपछि इतिहास मेटिइगयो नि । के खग्रेन्द्र संग्रौलाको लेखनीमा झर्रो छैन र ? मोहन शर्माका लेख, निबन्ध झर्रोभन्दा कम छन र ? अहिले पनि झर्रोवादी लेखन चलिरहेको छ । जसरी मुहानको गंगोत्री पछि गंगा भएर अन्य धेरै नामले चिनिए । त्यसरी नै झर्रोवादीहरू पनि फराकिलो बाटो भएर बगिरहेका छन् । अगल–अलग नामले चिनिएका छन् । यसलाई हामीले पनि स्विकार्नुपर्छ । भाषाको बाटो साँघुरो हुनुहुँदैन । 

हाम्रो गाउँ–समाजमा सबैतिर झर्रोवादीहरू लुकेका छन् । उनीहरू सबै झर्रोका सन्तानहरू हुन् । उनीहरूले झर्रोवादी आन्दोलन गर्नेको अनुहारसम्म पनि देखेका छैनन् । तपाईंंहरूले सुन्नुभएकै छ कि उनीहरूको बोली ठेट झर्रो छ । उनीहरूले पढेका पनि छैनन् होला । झर्रो भनेको नै माटोको मौलिकता हो । झर्रोको उद्देश्य भनेकै माटोको मायासँग भाषालाई गाँस्नु हो । झर्रोवादबारे अनुसन्धान पनि भइरहेका छन् । भाषालाई अनिवार्य गरेर जनताका छोराछोरीको गिदी खान थालियो भने त त्यो निरंकुशता हुन्छ । 

हिज्जेको विवाद निरर्थक
दुई वर्षअघि काठमाडांैमा भएको हिज्जे सम्मेलनमा भाग लिन म पनि गएको थिएँ । मैले त्यहाँ भनको थिएँ, ‘भाषा जति उदार हुन्छ त्यत्ति भविश्य उज्ज्वल हुन्छ, प्रयोग आ–आफ्ना हुन्छन् ।’ जस्तो, सबै वैज्ञानिक न्युटन हुन सक्दैनन् । कुनै वैज्ञानिकले नयाँ प्रस्ताव ल्यायो भन्दैमा त्यसलाई अछुत मान्नु त हुँदैन नि ! छलफल गर्नुप¥यो । कसैले भने होलान् ‘भाषाका गुरुहरू नै हिज्जे विवादमा अलमलिए,’ भनेर । तर, प्रस्तावमा छलफल गर्दा मेरो गोरुको बाह्रै टक्का भनेर दाबी गर्नुचाहिँ मूर्खता हो । भाषामा यही लेख, त्यो नलेख भनेर भन्नुहुँदैन । हिज्जे त भाषाको सहायक पक्ष मात्र हो । उत्तरपुस्तिका जाँच गर्दा पनि हिज्जे अशुद्ध भयो भने पाँच नम्बर कटाउन सकिएला, तर उत्तरै गलत भयो भनेर भन्न मिल्दैन । 
भाषाको मूल मर्म शब्द हो । हिज्जेमा साँघुरो हुनु भनेको भाषाको विकासमा संकीर्ण हुनु हो । हाम्रा विश्वविद्यालयका केही गुरुहरू अहिले हिज्जेको कुरा गरेर भाषामा हुकुम छाँटिरहेका छन् । म त्यसको विरोधी हुँ । 

हिन्दी भाषा हाम्रोभन्दा राम्रो बाटोमा हिँडिरहेको छ । उनीहरूको हिज्जे आफ्नै प्रकारको छ । अंग्रजीमा पनि वासिंगटन र लन्डनको हिज्जे फरक–फरक छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाको अंग्रेजी पनि धेरै फरक छ । यसैले हिज्जेमा विवाद गरेर भाषामा भ्रम नल्याऔँ । जे सही लाग्छ, त्यही लेखौँ । हिज्जे भनेको लेख्य परम्परा मात्र हो । इमानदार त भाषाको कथनप्रति हुनुपर्छ । उहीले गाएको गीत सुन्न मन लाग्दैनथ्यो । तर, आजकल तिनै गीतहरू फरक तकिराले गाएकाले सुन्न मन लाग्छ । भाषा गीत, नाटक, चलचित्र, अभिनय आदि कथनका आधारमा हुनुपर्छ । 
 
पादरीले दियो पाँच सय
एकजना पादरी विराटनगरमा प्रकाशनगृह खोल्न आएका थिए । उनले कवि महानन्द सापकोटाको किताब पनि छापे । तर, शुद्धाशुद्धि भने ध्वस्त । पादरीले किताब फेरि छापे । महानन्द गुरुले ‘मेरो एउटै किताब दुईपटक छाप्यो, तर एकपटकको मात्र पैसा दियो’ भनेर गुनासो गरे । विरोध भएका कारण त्यतिवेलासम्म काठमाडौँ फर्किसकेको थियो । म अंग्रेजी जान्ने भएकाले महानन्द गुरुले काठमाडौं गएर कुरा गरिदिन आग्रह गरे ।  

काठमाडाैंमा पादरीलाई भेटेर कुरा राखियो । उसले अशुद्ध छापिएको पुस्तक फेरि छाप्दा आफ्नो लगानी बढेको र घाटा भएको भन्दै पारिश्रमिक दिन नमिल्ने बतायो । तर, महानन्द गुरुले मान्दैमानेनन् । ‘यत्रो धनी मान्छे भएर पनि दुई–चार सयको लोभ गर्ने ?’ भन्न थाले ।  पादरीले ‘तिमी घरजग्गा भएको मान्छे धनी कि म केही नभएको मान्छे धनी ?’ भनेर सोध्यो । उसले भनेको थियो, ‘मेरो देशमा त मेरो एउटा घर पनि छैन, सबै सरकारको छ । घरको पनि कर तिर्नुपर्छ । तर, तिम्रो देशमा त आफनो नाममा जमिन र जग्गा छ । भन को धनी ?,’ तर अहँ ! महानन्द गुरु केही गरे मानेनन् । अनि उसले पाँच सय दियो । हामी विराटनगर फर्कियौँ ।