मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडौं
२०७६ भदौ २ सोमबार ०७:१८:००
Read Time : > 1 मिनेट
समाचार

तेस्रोपटक  बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु

Read Time : > 1 मिनेट
शान्ति तामाङ काठमाडौं
२०७६ भदौ २ सोमबार ०७:१८:००

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा शिखरशैलीमा निर्माण थालिएको हो । यसअघि काठमाडौं महानगरपालिका र पुरातत्व विभागको नेतृत्वमा मन्दिर पुनर्निर्माण सुरु गरिएको थियो । तर, पुरातत्व विभागले दिएको नमुना डिजाइनअनुसारको काम महानगरपालिकाले नगरेपछि पुनः पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिइएको थियो । 

विभागले ठेक्का लगाएको कम्पनीले कंक्रिट प्रयोग गरेकाले विवाद भई मन्दिर पुनर्निर्माण दुईपटक नै रोकिएको थियो । मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिरवरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिरवरिपरिको ‘प्यासेज’ पुनर्निर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ ।

चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ । २४ असारमा प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सिए÷तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो । सिए/तुलसी कन्स्ट्रक्सन जेभीका साइट इन्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको बताए ।  

 मन्दिर पुनर्निर्माणमा विवादको शृंखला
भूकम्प गएकै वर्ष २ माघ ०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा ठेकेदार कम्पनी वल्डवाइड कँडेल के एन्ड केजी जेभीले सिमेन्ट, ढुंगा, रोडा, गिट्टीलगायत कंक्रिट प्रयोग गरी पुनर्निर्माण थालेपछि स्थानीयको विरोधपछि पुरातत्व विभागले काम रोक्न निर्देशन दियो ।

विभागले आफ्नै नेतृत्वमा एक करोड ५० लाख रुपैयाँमा कँडेल (राम जेभी) रानीबारीलाई ठेक्का दिएको थियो । तर, उक्त कम्पनीले गरेको काममा कंक्रिट प्रयोग गरेको भन्ने विवाद आएपछि फेरि रोक्का भएको थियो । महानगर र विभागको काममा विवाद आएपछि मन्दिर पुनर्निर्माणको जिम्मा प्राधिकरणले लिएको हो । हाल प्राधिकरणको नेतृत्वमा सिए/तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण गरिरहेको छ । जेभीले मन्दिर र उपभोक्ता समितिले छाडेको काम करिब १४ करोड २७ हजार रुपैयाँमा सम्पन्न गर्नेछ ।