मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २ सोमबार ०७:०३:००
Read Time : > 1 मिनेट
समाचार

साना–होटेल व्यवसायीका समस्यै–समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २ सोमबार ०७:०३:००

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा अपराध नियन्त्रणका लागि एकै किसिमका आचारसंहिता निर्माण गरी लागू गर्न व्यवसायी तयार भएका छन् । महानगरी प्रहरी वृत्त ठिमीले अपराध नियन्त्रण र न्यूनीकरणका लागि नगर क्षेत्रका व्यवसायीसँग गरेको अन्तरक्रियामा सहभागी साना होटेल र खाजाघर सञ्चालक÷व्यवसायी आचारसंहिता निर्माण गरी लागू गर्न सहमत भएको डिएसपी शान्तिराज कोइरालाले बताए । 

छलफलमा सहभागी व्यवसायीले व्यवसाय सञ्चालन गरेर खाने वातावरण नरहेको गुनासो गरे । सहभागीमध्ये अधिकांश व्यवसायीले पसल खोल्ने समय, पसल दर्ता, प्यान दर्ता, कर चुक्ताजस्ता विभिन्न विषयमा आफूहरूलाई दुःख दिने गरेको गुनासो गरे । ‘सानो बजार छ, यहाँ ठूलो व्यवसाय गर्ने सम्भावना छैन, न त हामीसँग त्यति धेरै पुँजी नै छ,’ एक व्यवसायीले भने, ‘बिहानै जाँड खान कोही आउँदैन, साँझ पर्न नपाई प्रहरी बन्द गर भन्दै आइपुग्छन् ।’

व्यवसायीले साना व्यवसायीलाई व्यापार गरेर दुई पैसा आम्दानी गर्ने र परिवार पाल्ने वातावरण बनाइदिन जनप्रतिनिधि र प्रशासनसँग आग्रह गरे । सहभागी धेरैले एकै किसिमका समस्या सुनाए । कार्यक्रममा मेयर मदनसुन्दर श्रेष्ठ, महानगरीय प्रहरी परिसर प्रमुख एसपी सविन प्रधान र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिसमेत देखेपछि स्थानीयले दर्जनौँ समस्याको पोको खोलेका हुन् । 

नगर क्षेत्रका अधिकांश पसलहरू नगरपालिकामा समेत दर्ता छैनन् । साना व्यवसायीले नियमविपरीत एकै ठाउँमा किराना सामान, चुरोट, सुर्ती, खैनी, मदिराजन्य पदार्थ र खाजा परिकारसमेत बिक्री वितरण गर्छन् । कानुनतः चुरोट र किराना सामग्री एकै ठाउँमा बिक्री गर्न पाइँदैन । चुरोट र मदिराका लागि छुट्टाछुट्टै अनुमति लिनुपर्छ । ‘उहाँहरूका धेरै समस्या रहेछन्, जुन हामीले पनि बुझ्नुपर्ने थियो,’ डिएसपी कोइरालाले भने, ‘अब व्यवसायीलाई पनि सहज र प्रहरीलाई पनि सहज हुने गरी सुरक्षा व्यवस्था मिलाउन आचारसंहिता बनाउने निर्णय भएको छ ।’ 

व्यवसायीले पसलमा ग्राहकले समेत देख्ने गरी आचारसंहिता बनाएर टाँस्ने सहमति गरेका हुन् । व्यवसायीका प्रतिनिधिसँग पुनः छलफल गरेर निर्णय गर्ने र आचारसंहिता तय गर्ने डिएसपी कोइरालाले बताए । हाल सुरक्षाको कारण देखाउँदै प्रहरीले राति ९ बजेसम्म मात्रै पसल खुला गर्न दिने गरेको छ । तर, साना होटेल र खाजाघरमा साँझ परेपछि मात्रै ग्राहक आउने व्यवसायीको गुनासो छ ।