मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २ सोमबार ०६:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नगरकोटमा अतिक्रमित सात पक्कीसहित ८६ घर/टहरा भत्काइए

Read Time : > 1 मिनेट
२०७६ भदौ २ सोमबार ०६:५६:००

पर्यटकीय क्षेत्र नगरकोटमा सामुदायिक वन अतिक्रमण गरी बनेका घर/टहरामा चाँगुनारायण नगरपालिकाले डोजर चलाएको छ । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि नगरपालिका, जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अतिक्रमित घर/टहरा भत्काइएको डिभिजन वन कार्यालयका प्रमुख प्रेम खनालले बताए ।

स्थानीयवासीको चर्को विरोधका बीच प्रहरी परिचालन गरेर नगरपालिकाले अतिक्रमण गरी बनेका ७ वटा पक्की घरसहित ८६ घर÷टहरा र एक होटेलको पर्खाल भत्काएको छ । यसअघि १९ जेठमा पनि नगरपालिकाले डोजर लगाएर अतिक्रमण गरी बनेका ३५ वटा घर/टहरा भत्काएको थियो । 

कुसुम सामुदायिक वनको जग्गा अतिक्रमण गरी घर/टहरा बनाई प्रयोग गरिरहेकाहरूलाई भक्तपुर र काभ्रे वन कार्यालयले पटक–पटक जग्गा खाली गर्न सूचित गरेका थिए । नगरपालिकाले १६ वैशाखमा पत्राचार गरेर अतिक्रमण गरी बनाइएका घर/टहरा भत्काउन भनेको थियो ।  तर, स्थानीयले अटेरी गर्दै आएका थिए ।

आफूहरूलाई विकल्प दिएर मात्रै भत्काउन भन्दै स्थानीयले शनिबार मात्रै विरोध प्रदर्शन र सभा गरेका थिए । स्थानीयवासीले आवास र रोजगारीको हक संविधानमै उल्लेख भएको तर्क गर्दै सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता गराएका छन् । तर, प्रशासनले सर्वोच्चले पेसी तोकेर मुद्दामा छलफल गर्नुअगावै डोजर चलाएको छ । 

भट्टेडाँडादेखि ग्यालेक्सी चोकसम्म चल्यो डोजर

भट्टेडाँडादेखि ग्यालेक्सी चोकसम्म चारवटा पक्की घरसहित ५५ वटा टहरा, नगरकोट टावरका १२ वटा, कफीसप आसपासका ८ वटा र ठकुरी गाउँमा आठवटा टहरा भत्काइएको डिभिजन वन प्रमुख खनालले बताए । यस्तै, वनको जग्गा अतिक्रमण गरी लगाइएको होटेल सेरेनाको पर्खालसमेत भत्काइएको छ ।

चौतारामा रहेका रोड साइडका तीनवटा पक्की घरमा समेत डोजर चलेको छ । ‘हामीले वर्षौँदेखि गर्दै आएको प्रयास असफल भइरहेको छ, अहिले स्थानीय सरकारको अगुवाइमा सामुदायिक वनमा भएको अतिक्रमण खाली गरेका छौँ, ठूलो उपलब्धि मिलेको छ,’ वन अधिकृत खनालले भने । 
 प्रहरी र स्थानीयबीच तनाव

नगरपालिकाले सयौँको संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर आइतबार डोजर चलाउन थालेपछि स्थानीय आक्रोशित बनेका थिए । स्थानीयले विरोध जनाएपछि स्थिति तनावग्रस्त बनेको थियो । गरिबको गाँसवास खोसेको भन्दै स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए ।

नगरपालिकाले बल प्रयोग गरेर आफूहरूमाथि अन्याय गरेको भन्दै स्थानीयले नाराजुलुससमेत गरे । सडकमा टायर बालेर सडक अवरुद्धसमेत गरेका थिए । स्थानीयको सानोतिनो विरोधका बीच घर÷टहरा भत्काइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले बताए । स्थानीय र प्रहरीको झडपमा केही प्रहरी र स्थानीय घाइते भएका छन् ।