मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २ सोमबार ०६:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पूर्वराजदूत झा हत्या प्रकरण - भान्से तामाङ पुनः पक्राउ

Read Time : > 1 मिनेट
२०७६ भदौ २ सोमबार ०६:५१:००

फ्रान्सका लागि नेपालका पूर्वराजदूत ८० वर्षीय केशव झा हत्या अभियोगमा प्रहरीले सानुकान्छा तामाङलाई पुनः पक्राउ गरेको छ । घटना पुष्टि गर्ने आधार भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तामाङलाई काभ्रेको खोपासीबाट शुक्रबार पक्राउ गरेको हो ।

झाकी श्रीमती ७४ वर्षीय ज्ञानूको किटानी जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ज्ञानूले गत बुधबार तामाङविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । पक्राउपछि थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरेको छ । तामाङ झाको घरमा सात वर्षदेखि भान्सेका रूपमा कार्यरत थिए ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले किटानी जाहेरीपछि सानुकान्छालाई पक्राउ गरिएको बताए । उनले भने, ‘झा हत्याको अभियोगमा सानुकान्छा तामाङलाई पक्राउ गरिएको छ । झाकी श्रीमतीको किटानी जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । थप अनुसन्धान गर्न पाँच दिनको म्यादसमेत थप भएको छ । अब हामी अनुसन्धानलाई नयाँ ढंगले अघि बढाउँछौँ ।’

प्रहरीका अनुसार झा हत्यामा नयाँ सुराक फेला परेपछि तामाङलाई पक्राउ गरिएको हो । घटनाबारे विस्तृत अध्ययन काठमाडौं परिसरले गरिरहेको छ । काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने, ‘पहिलो त उनकी श्रीमतीको किटानी जोहरी प-यो । यस्तो अवस्थामा अभियुक्त पक्राउ गर्नैपर्ने कानुनी बाध्यता हुन्छ । अर्को घटना अनुसन्धानमा नयाँ क्ल्यू पनि फेला परेको छ । त्यसो हुँदा हामीले तामाङलाई पक्राउ गरेका छौँ । अनुसन्धान भइरहेको छ । पक्कै पनि नयाँ तथ्य आउला ।’

प्रहरीले यसअघि पनि तामाङसहित झाको घरमा काम गर्ने दुई मालीलाई पक्राउ गरेको थियो । भरपर्दो प्रमाण फेला नपरेपछि प्रहरीले तीनैजनालाई छाडेको थियो । तर, निगरानी भने तीनैजनामाथि जारी राखेको थियो । प्रहरीले तामाङसँगै पक्राउ परेका दुई मालीलाई भने यसपटक पक्राउ गरेको छैन । झाको किचेन र बेडरुमसम्म पुग्ने पहुँच तामाङबाहेक अन्यसँग नभएको प्रहरीको भनाइ छ । जुन कोणबाट अनुसन्धान सुरु गर्दा पनि टुंगिने बिन्दु तामाङ नै देखिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दियो । 

भान्साको चक्कु हत्यामा प्रयोग 
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार झाको हत्यामा उनकै भन्साको चक्कु प्रयोग भएको थियो । भुइँ तलामा सुत्ने झाको बेडरुममा भान्साकोठाबाट सजिलै पुग्न सकिन्छ । हत्यामा प्रयोग भएको चक्कु केही महिनाअघि मात्रै तरकारी काट्ने प्रयोजनमा ल्याइएको थियो । प्रहरीका अनुसार उक्त चक्कु झाका भान्से सानुकान्छा तामाङले नै बजारबाट खरिद गरी ल्याएका थिए ।