मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जनार्दन बराल
२०७५ पौष १ आइतबार ०९:०४:००
Read Time : > 2 मिनेट
अर्थ

दक्षिण एसियामा नेपालले अढाई खर्बको निर्यात गर्न सक्छ : अध्ययन

Read Time : > 2 मिनेट
जनार्दन बराल
२०७५ पौष १ आइतबार ०९:०४:००

नेपालले आफ्नो क्षमताको एकचौथाइ पनि निर्यात गर्न सकेको छैन


नेपालले दक्षिण एसियाली बजारमा मात्रै करिब अढाई खर्ब रुपैयाँबराबरको निर्यात गर्न सक्ने एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले हालै प्रकाशित गरेको दक्षिण एसियाको व्यापारसम्बन्धी प्रतिवेदन ‘आधा भरिएको गिलास’ (अ ग्लास हाफ फुल)ले यस्तो देखाएको हो । ‘सन् २०१५ मा नेपालले दक्षिण एसियाली मुलुकहरूमा करिब ५० करोड अमेरिकी डलर (साढे ५७ अर्ब रुपैयाँ)को निर्यात गरेको थियो । तर, मानवनिर्मित अवरोध नभएर स्वाभाविक व्यापार भइदिएको भए त्यो २ अर्ब १० करोड अमेरिकी डलर (करिब अढाई खर्ब रुपैयाँ)को हुन्थ्यो,’ प्रतिवेदनमा उल्लेख छ । यसरी नेपालले आफ्ना छिमेकीहरूसँग क्षमताको एकचौथाइ मात्रै निर्यात गरिरहेको छ । नेपालले दुईतिहाइभन्दा बढी निर्यात दक्षिण एसियामा नै गर्छ । नेपालको व्यापार घाटा साढे १२ खर्ब हाराहारी छ, जुन कुल गार्हस्थ उत्पादनको ३७ प्रतिशत हो । 

दक्षिण एसियाका मुलुकहरूले अपनाएको नीतिगत अवरोधका कारण यस क्षेत्रमा स्वाभाविक स्तरको व्यापार हुन नसकेको प्रतिवेदनका सम्पादक एवं विश्व बैंकका मुख्य अर्थशास्त्री सञ्जय कथुरियाले बताए । समग्र दक्षिण एसियाली मुलुकको कुल व्यापारको एक–आपसमा गरिरहेको व्यापार जम्मा ५ प्रतिशत मात्रै रहेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘विश्वका सबैभन्दा विकसित क्षेत्र युरोप, उत्तर अमेरिका र दक्षिणपूर्वी एसिया हुन्, युरोपेली मुलुकले कुल व्यापारमध्ये ६५ प्रतिशत एक–आपसमा गर्छन्, पूर्वी एसियामा त्यो ५० प्रतिशत छ, अमेरिका, क्यानडा र मेक्सिकोबीचको व्यापार उनीहरूको कुल आयात–निर्यातमा सबैभन्दा बढी छ,’ कथुरियाले भने, ‘वास्तवमा यस क्षेत्रको समग्र आर्थिक विकासका लागि एक–आपसको व्यापार वृद्धिको कुनै विकल्प छैन ।’ नेपालले सन् २०३० भित्र मध्यम आय भएको मुलुक बन्न पनि व्यापार वृद्धिको विकल्प नभएको उनले बताए । 

भारतमा मात्रै नेपालले २ खर्बको निर्यात गर्न सक्छ
नेपालले भारततर्फ स्वाभाविक क्षमताको करिब एकचौथाइ मात्रै निर्यात गरिरहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । भारतको नेपालतर्फको निर्यात स्वाभाविकभन्दा अत्यन्तै बढी र नेपालको भारततर्फको निर्यात स्वाभाविकभन्दा अत्यन्तै कम रहेको छ । सन् २०१५ मा नेपालले भारततर्फ ४८ करोड ९६ लाख अमेरिकी डलर (करिब सवा ५६ अर्ब रुपैयाँ)को निर्यात गरेको थियो । तर, स्वाभाविक अवस्था भइदिएको भए १ अर्ब ७६ करोड ५२ लाख अमेरिकी डलर (२ खर्ब ३ अर्ब रुपैयाँ)बराबरको निर्यात गर्न सक्थ्यो । यसरी नेपालले आफ्नो क्षमताभन्दा १ अर्ब २७ करोड ५७ लाख अमेरिकी डलर कम निर्यात गरेको थियो । 

२०१५ मा नेपाल र भारतबीचको व्यापार स्वाभाविक तहभन्दा १ अर्ब अमेरिकी डलर (करिब १ खर्ब १५ अर्ब रुपैयाँ) ले बढी रहेको पनि प्रतिवेदनमा उल्लेख छ । सन् २०१५ मा नेपाल र भारतबीचको व्यापार ४ अर्ब ४९ करोड ८० लाख करोड अमेरिकी डलर थियो । तर, ग्य्राभिटी मोडलअनुसार स्वाभाविक व्यापारचाहिँ ३ अर्ब ३६ करोड २० लाख हुनुपथ्र्यो । त्यो साल स्वाभाविकभन्दा १ अर्ब १३ करोड ६० लाख अमेरिकी डलर बढी व्यापार भएको थियो ।

 नेपाल–भारतबीच वैधानिक र अवैधानिक व्यापार बराबर
नेपाल र भारतबीच हुने औपचारिक व्यापार बराबरी नै अनौपचारिक व्यापार भइरहेको पनि प्रतिवेदनले जनाएको छ । समग्र दक्षिण एसियाको अनौपचारिक व्यापार औपचारिक व्यापारको आधा रहेको प्रतिवेदनले उल्लेख गरेको छ । तर, कुनै–कुनै देशबीच अनौपचारिक व्यापार त एकदमै धेरै देखिन्छ । उदाहरणका लागि सन् २०१२–१३ मा भारत र पाकिस्तानबीचको अनौपचारिक व्यापार औपचारिक व्यापारभन्दा दोब्बर थियो । 

दक्षिण एसियाली मुलुकबीच सम्भाव्यताको एकतिहाइ मात्रै व्यापार
दक्षिण एसियाली मुलुकबीच सम्भाव्यताको एकतिहाइ मात्रै व्यापार भइरहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । ‘दक्षिण एसियाली मुलुकबीच अवरोधविना प्राकृतिक रूपमा व्यापार भइरहेको भए ६७ अर्ब अमेरिकी डलर (अहिलेको मूल्यमा ७७ खर्ब रुपैयाँ)बराबरको व्यापार हुन सक्थ्यो, तर २३ अर्ब (करिब साढे २६ खर्ब रुपैयाँ) अमेरिकी डलरको मात्रै भइरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

नेपालले आयात–निर्यातलाई समान व्यवहार गर्न सक्दैन : अर्थमन्त्री 

अन्तर्राष्ट्रिय बजारमा नेपालले पाइरहेको सहज पहुँचजस्तै बाहिरी सामानलाई पनि उस्तै सुविधा दिन नेपालले नसक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । शुक्रबार काठमाडौंमा विश्व बैंकको प्रतिवेदन ‘अ ग्लास हाफ फुल’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । ‘समग्र दक्षिण एसियाको कुल गार्हस्थ उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने मुलुक भारत हाम्रो नजिक छ, यस्तो अवस्थामा व्यापारलाई पूर्ण रूपमा खुला छोड्दा नेपालको उत्पादन र उत्पादकत्व ध्वस्त हुन सक्छ,’ उनले भने । 

यद्यपि, उच्च आर्थिक वृद्धिका लागि व्यापार बढाउनुपर्छ भन्नेमा सरकार जानकार रहेको उनको भनाइ थियो । ‘यद्यपि, प्रतिवेदनमा भनिएजस्तै दक्षिण एसियाको व्यापार ठीक ढंगले चलेको छैन,’ उनले भने । कार्यक्रममा वाणिज्यसचिव चन्द्रकुमार घिमिरेले नेपाल व्यापारका दृष्टिले विश्वको सबैभन्दा उदार देशमध्ये एक भएको बताए । ‘विश्व व्यापार संगठन (डब्लुटिओ)मा हामीले गरेको सम्झौताअनुसार ९९ दशमलव ३ प्रतिशत भन्सार लाइनमा हामी बाँधिएका छौँ र त्यसअनुसार दरहरू पालन पनि गरेका छौँ,’ उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कक्षाकोठामा पढेजस्तो व्यापार सुन्दर चिज नभएको बताए । ‘व्यापारमा अर्थ–राजनीति पनि जोडिन्छ, त्यसो हुँदा सिद्धान्तजस्तो यो आदर्श हुँदैन,’ उनले भने । नेपालजस्ता साना मुलुकले आफ्नो व्यापार नीति बनाउँदा बाहिरी विश्वलाई ध्यान दिनुपर्ने उनले बताए ।