Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ भदौ १ आइतबार ११:४४:००
Read Time : > 3 मिनेट
खेलकुद

अझै उत्कृष्ट ब्याट्सम्यान स्मिथ

Read Time : > 3 मिनेट
२०७६ भदौ १ आइतबार ११:४४:००

गत समरमा मैले विराट कोहली वर्तमान समयकै उत्कृष्ट ब्याट्सम्यान बताएको थिएँ, अहिलेसम्म विराटको जस्तो ब्याटिङ शैली कसैको देखेकै थिइनँ । तर, अब म आफ्नो भनाइ परिवर्तन गर्न चाहन्छु । किनभने, विश्वमा फेरि एक ब्याट्सम्यान देखिएका छन्, उनी हुन् स्टिभ स्मिथ ।’ अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लैंगरले पूर्वकप्तान स्मिथको उत्कृष्ट पुनरागमनपछि प्रशंसामा खर्चिएका शब्द थिए यी । इंग्ल्यान्डविरुद्धको पहिलो एसेज टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि सानदरा जित निकाल्दा स्मिथको योगदान कसैले पनि बिर्सन मिल्दैन । दुवै इनिङमा अस्ट्रेलियाले जोडको योगफलको हिस्सा लगाउँदा स्मिथ मात्र एक्लैले ३९ प्रतिशत रन बटुलेका थिए । टेस्ट इतिहासमा दुवै इनिङमा एक सय ४० रन कटाउने स्मिथ चौथो ब्याट्सम्यानसमेत बने । 

 १६ महिनाको प्रतीक्षा
डेढ वर्षअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो । टेस्ट सिरिजको तेस्रो इनिङ चलिरहँदा एउटा सनसनीपूर्ण समाचार अन्तर्राष्ट्रिय एजेन्सीहरूले सम्प्रेषण गरेका थिए । त्यसमा अस्ट्रेलियन कप्तान स्मिथ र डेभिड वार्नरले बल टेम्परिङ गरेको आरोप लगाइएको थियो । सुरुमा स्मिथ र वार्नरजस्ता ब्याट्सम्यानले यस्तो काम गर्न सक्छन् भनेर कसैले पनि विश्वास गरेका थिएनन् । जब टेलिभिजन फुटेज देखाइयो, आधुनिक क्रिकेटमा अस्ट्रेलियाको बागडोर सम्हालेका यी दुवै चर्चित ब्याट्सम्यानको वास्तविक अनुहार बाहिर आयो । र, सबैले यी दुईलाई नराम्रो नजरले हेरे । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र अस्ट्रेलियन क्रिकेट बोर्डले फरक–फरक किसिमका अनुसन्धान गरे । निष्कर्ष निस्कियो, स्मिथ र वार्नरमाथि एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध । प्रतिबन्धले दुवैले इंग्ल्यान्डमा हुने १२औँ एकदिवसीय क्रिकेटसमेत गुमाउने अवस्था सिर्जना भयो । तर, स्मिथ र वार्नरले हार मानेनन् । दुवैले आफ्नो गल्ती स्विकारे । वार्नरभन्दा पनि स्मिथले बल टेम्पिरिङप्रति धेरै नै दुःख व्यक्त गरे । लगभग प्रतिबन्धको समयमा स्मिथ कहिल्यै हाँस्न सकेनन् । मनभित्र एउटा कालो दाग थियो, जुन उनलाई जसरी पनि मेटाउनुपर्ने थियो । प्रतिबन्ध फुकुवासँगै स्मिथले आफूलाई पुरानै अवस्थामा ल्याउने प्रयास गरे । विश्वकपमा सानदार ब्याटिङ प्रदर्शन गर्दा अस्ट्रेलियाले पुनः एकपटक उनलाई विश्वास गर्‍यो र १६ महिनापछि टेस्ट टोलीमा समावेश गर्‍यो । 

 रन र योगदान
सन् २०१६ यता टेस्ट क्रिकेटको विश्लेषण गर्ने हो भने चार ब्याट्सम्यान औसत ब्याटिङ गरिरहेका देखिन्छन् । इंग्ल्यान्डका कप्तान जोए रुट, न्युजिल्यान्डका केन विलियम्सन, स्मिथ र विराटले टेस्ट सिरिजमा एकनाशको प्रदर्शन गर्दै आएको एक अध्ययनले देखाएको छ । यी ब्याट्सम्यानलाई मध्यक्रमका चेतेश्वर पुजारा, हेनरी निकोल्सन तथा टोम लाथनले कडा टक्कर दिइरहेका छन् । सन् २०१६ अघिसम्म स्मिथको ब्याटिङ औसत ४४.५९ थियो । पछिल्लो चार वर्षमा उनले आफ्नो ब्याटिङ औसतमा निकै सुधार गरेका छन् । चार वर्षको विश्लेषण गर्दा स्मिथको प्रतिइनिङ औसत नै ५४.६८ रहेको छ । विगत साढे तीन वर्षमा स्मिथले रन बनाउने अभियानमा १८ प्रतिशतले वृद्धि गरेका छन् । 

विराट कोहली, जोए रुट, केन विलियम्सन र स्टिभन स्मिथले टेस्ट फर्म्याटमा वर्चस्व जमाएका छन् । तर, विश्लेषकका अनुसार अस्ट्रेलियाका पूर्वकप्तान स्मिथकै ब्याटिङ औसत उत्कृष्ट छ । 

 योगदान धेरै
स्मिथले प्रत्येक फर्म्याटमा आफूलाई अगाडि नै राखेका छन् । सन् २०१४ मा उनको औसत ब्याटिङ रेकर्ड ७३.५३ थियो । अस्ट्रेलियाका लागि स्मिथले प्रत्येक फम्र्याटमा कम्तीमा २०.६ प्रतिशत रनको योगदान दिएको देखिन्छ । अचम्मलाग्दो के छ भने स्मिथले २०१५ देखि आफूलाई एक फरक ब्याट्सम्यानका रूपमा विश्व क्रिकेटमा चिनाएका छन् । विपक्षी जोसुकै होस्, डरलाग्दा बलर नै किन नहोऊन्, स्मिथले आफूलाई कहिल्यै कमजोर बनाएनन् । निरन्तर साढे तीन वर्ष उनको ब्याट यसरी चल्यो कि, अस्ट्रेलियाले रिकी पोन्टिङ र माइकल क्लार्कपछि स्मिथलाई एक विश्वासिलो ब्याट्सम्यानका रूपमा पायो । यसै समयमा उनको ब्याटिङ औसत ७० रह्यो । कोहलीले मात्र स्मिथलाई रन तथा औसत स्ट्राइकमा चुनौती दिएका छन् । कोहलीले टोलीको जितमा ३५ प्रतिशत रन योगदान दिने गरेका छन् । त्यस्तै, रुटले औसत १५.७६ प्रतिशत योगदान दिएका छन् । एडवास्टनको कुरो गर्दा स्मिथले ७४ प्रतिशत योगदान दिएका छन् । पहिलो टेस्टमा अस्ट्रेलिया निकै नाजुक अवस्थामा रहँदा स्मिथले आफ्नो सबै अनुभव प्रयोग गरी ११ ब्याट्सम्यानसँग साझेदारी गरी टोलीलाई जितको निकट मात्र पु¥याएनन्, टेस्टमा उत्कृष्ट पुनरागमनसमेत गरे । 

 विविधताले भरिएको एडवास्टन
वास्तवमै एडवास्टनको टेस्टमा क्रिकेट समर्थकले भरपुर मनोरञ्जन लिने अवसर पाए । बलरको स्विङ र योर्कर चल्दा ब्याट्सम्यान एकपछि अर्को गर्दै क्रिजबाट हट्दै गए । केवल एक ब्याट्सम्यान चल्दा पुछारका ब्याट्सम्यानले पनि गतिलो रन बनाए । इंग्ल्यान्ड र अस्ट्रेलियाको दुवै इनिङमा यस्तै देखियो । यो टेस्टमा स्मिथ नै सबैभन्दा केद्रीय पात्र बने । पहिलो इनिङमा आठ विकेट गुमिसकेको अवस्थामा पनि स्मिथले हरेस खाएनन् । उनले पुछारका ब्याट्सम्यानलाई समेत आत्मविश्वास दिलाए । एक–एक रनका लागि संघर्ष गरिरहँदा स्मिथ भने खुलेर स्ट्रोक लगाउँदै गए । स्मिथले प्रत्येक पार्टनरसँग प्रतिओभर २.६८ को रनरेटमा ब्याटिङ गरे । क्रिजमा रहँदा उनले ४२ प्रतिशत रन आफैँले बनाए । यता यस्तै स्थितिमा विलियम्सन, कोहली र रुटसँग तुलना गर्दा स्मिथ नै अगाडि छन् । विराटले प्रतिओभर २.३७ को औसतमा रन बटुल्दा टोलीका लागि ३४.१४ प्रतिशत रन योगदान दिने गरेका छन् । विलियम्सनले २.५२ को औसतमा ब्याटिङ गर्दा ३२.६० प्रतिशत हिस्सा रन उनको नाम रहन्छ । यस मामिलामा रुटको योगदान औसतमा कमजोर छ । उनले २.२२ को औसतमा साझेदारी गर्दा इंग्ल्यान्डले बनाएको योगफलमा २९.१४ प्रतिशत मात्र उनको योगदान देखिन्छ । 

 दबाब नझेल्ने
दायाँहाते स्मिथ एक क्लासिक ब्याट्सम्यान हुन् । उनीसँग सबैखाले सट छन् । स्मिथ मैदानको प्रत्येक कुनामा बाउन्ड्री लगाउन सक्छन् । उनीसँग विशेष प्रतिभा छ, जस्तोसुकै परिस्थितिमा स्मिथ मजाले ब्याटिङ गर्न सक्छन् । यद्यपि १६ महिनापछि टेस्ट खेलमा फर्किएर पनि स्मिथ पुरानै छविअनुरूप ब्याटिङ गर्न सफल रहे । एडवास्टनमा जब अस्ट्रेलियाले दुवै इनिङमा २७ रनभन्दा मुनि सुरुवाती दुई विकेट गुमाएको थियो, स्मिथ क्रिजमा आए । दुवै इनिङमा उनले चार स्थानभन्दा अगाडि आएर ब्याटिङ गरे । दोस्रो इनिङमा पछाडि रहँदा पनि स्मिथकै ब्याटिङमा अस्ट्रेलिया पार लाग्यो । सन् २०१६ को जनवरीपछि स्मिथले १३ पटक यस्तो अवस्थाको सामना गरे । तेस्रो क्रममा आउँदा उनले १३ इनिङमा आठ सय ७३ रन जोडे । यसक्रममा उनले टोलीलाई ७२.७५ प्रतिशतले योगदान दिए । सन् २०१७ को गावामा भएको एसेज सिरिजमा उनले खेलेको एक सय ४१ रनको नटआउट इनिङ कसैले पनि भुल्न सकेका छैनन् । स्मिथ क्रिजमा आउँदा अस्ट्रेलिया ३०/२ को स्थितिमा थियो । 

 चौथो नम्बरमा स्मिथभन्दा कोहली कमजोर
चार वर्षको अवधिमा स्मिथले सातपटक तेस्रो नम्बरमा ब्याटिङ गरेका छन् । प्रत्येकपटकजसो उनले अर्धशतकीय इनिङ खेलेका छन् । यो स्थानमा ब्याटिङ गर्दा उनले ६५.४३ को औसतमा चार सय ५८ रन बनाएका छन् । यसक्रममा उनले कोलम्बो टेस्टमा एक सय १९, पुनेमा एक सय नौ तथा धर्मशालामा एक सय ११ रनको उत्कृष्ट इनिङ खेले । पाँचाैं नम्बरमा स्मिथले २२ पटक ब्याटिङ गरेका देखिन्छन् । यस स्थानमा खेल्दा उनको औसत ब्याटिङ प्रदर्शन ६८.४५ रहेको छ । यता भारतका कप्तान कोहलीले पछिल्लो चार वर्षमा चौथो स्थानमा २२ पटक ब्याटिङ गरे । यस स्थानमा उनको औसत ४३.९ रहेको देखिन्छ । तेस्रो क्रममा ब्याटिङ गर्दा कोहलीले धेरैपटक शतक बनाएका छन् ।