मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विवेक काट्जू
२०७६ भदौ १ आइतबार ०८:२९:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

चीन–पाकिस्तान गठजोडको तोड 

Read Time : > 1 मिनेट
विवेक काट्जू
२०७६ भदौ १ आइतबार ०८:२९:००

देश/विदेश

चीनले भारतलाई आफूभन्दा कमजोर सम्झन्छ, तर विश्वमञ्चमा भारतको बढ्दो हैसियतलाई पनि नजरअन्दाज गर्न भने सक्दैन

भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरको तीनदिने चीन यात्रा (११ अगस्टदेखि १३ अगस्ट) पहिले नै तय थियो । तर, यो भ्रमण यस्तो समयमा सम्पन्न भयो, जतिखेर भारतले जम्मु–कास्मिरका सन्दर्भमा उठाएको नयाँ कदमलाई संसारले नियालिरहेको छ । जयशंकरभन्दा अघि पाकिस्तानका विदेशमन्त्री साह महमुद कुरैसीले चीन भ्रमण गरेका थिए । उनी चीनको नेतृत्वसँग भारतबारे गुनासो गर्न र उसबाट सहयोग लिने उद्देश्यले बेइजिङ गएका थिए । तर, एक–दुई इस्लामिक देशलाई छाडेर पाकिस्तानको राजनीतिक पहललाई कुनै पनि देशले महत्व दिएका छैनन् । 

जयशंकर र कुरैसीको यात्राको फरक–फरक उद्देश्य, मुद्दा र परिणामले भारत, पाकिस्तान र चीनको अन्तर्राष्ट्रिय स्थिति बताउँछ । चीनले आफैँलाई अहिले विश्वको महाशक्तिका रूपमा हेर्छ र उसले आफ्नो तुलना अमेरिकासँग मात्रै हुन्छ भन्ने मान्छ । उसले भारतलाई आफूभन्दा कमजोर सम्झन्छ, तर विश्वमञ्चमा भारतको बढ्दो हैसियतलाई पनि नजरअन्दाज गर्न भने सक्दैन । जयशंकरको यस यात्राको मूल उद्देश्य भारत र चीनको दुईपक्षीय सम्बन्ध तथा विश्वको बदलिँदो राजनीतिक तथा सामरिक स्थितिबारे छलफल गर्नु र अक्टोबरमा हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत यात्राको तयारी गर्नु थियो । 

जयशंकरले यात्राका दौरान चीनको नेतृत्वसँग बताएका छन् कि दुई देशीय सम्बन्धमा उल्लेखनीय प्रगति त भएको छ, तर सीमामा शान्ति कायम गर्न अत्यन्तै आवश्यक छ । उनले यो स्पष्ट गरेका छन् कि चीनसँग आर्थिक वा व्यापारिक सम्बन्ध बढाउन भारत चाहन्छ, तर उसले आफ्नो हितको पनि रक्षा गर्नुपर्छ । 

कूटनीतिक रूपमा भलै चीनले पाकिस्तानलाई धेरै मद्दत गर्न सकेन, तर उसले पाकिस्तानको सैन्य र आर्थिक शक्ति बढाउन पक्कै सहयता गर्दै छ
 

तर, चीनले यस विषयलाई नजरअन्दाज मात्रै गरेको छैन, उल्टै छिमेकमा असर पर्ने गरी कुनै कदम नउठाउन भारतलाई यो सल्लाह पनि दिएको छ । पछिल्लो सोमबार चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको थियो कि राष्ट्रवादी मात्रै बनेर भारतलाई फाइदा हुँदैन । चीन मैत्रीपूर्ण प्रमुख शक्ति बने मात्रै भारतको भविष्य उज्ज्वल हुन्छ । स्पष्ट छ, यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो । भारतको राजनीतिक, सामाजिक र आर्थिक स्वरूप कस्तो हुन्छ, यो तय गर्ने अधिकार भारतीय जनताको हो । भारतका जनताले सधैँ राष्ट्रवादी सरकारलाई चुन्छन्, तर राष्ट्रवादको तुलना आक्रामकतासँग गर्नु गलत हो । भारतले आफ्नो हितको रक्षा गर्छ र त्यसलाई प्रोत्साहन गर्छ भने दोस्रो देशलाई यसले के नोक्सान हुन्छ ?

जयशंकरको यात्राका दौरान चीनले भारतद्वारा गरिएको संवैधानिक परिवर्तनका विषयमा चर्चा गर्‍यो, यसले हामीलाई हैरान पार्दैन । किनकि हामीले बिर्सन हुँदैन, जम्मु–कास्मिर विवादको एक साझेदार चीन पनि हो । यसैगरी लद्दाखको हैसियत परिवर्तनका विषयमा पनि चीनले विरोध गरेको छ, जयशंकरले स्पष्ट रूपमा भनेका छन् कि यो भारतको आन्तरिक मामिला हो र यसले सीमा विवादमा कुनै असर गर्दैन ।  

चीनका लागि पाकिस्तानको सामरिक महत्व छ । त्यसैले आउने वर्षहरूमा चीन–पाकिस्तान गठजोडविरुद्ध हामी बलियो रूपमा तयार हुनुपर्छ । कूटनीतिक रूपमा भलै चीनले पाकिस्तानलाई धेरै मद्दत गर्न सकेन, तर उसले पाकिस्तानको सैन्य र आर्थिक शक्ति बढाउन सहयता पक्कै गर्दै छ ।  
(काट्जू भारतीय कूटनीतिज्ञ हुन्) लाइभ हिन्दुस्तान डटकमबाट