मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार १७:०९:००
Read Time : < 1 मिनेट
समाचार

पूर्व मुख्यसचिव भन्छन, ‘राजनीतिक नेतृत्वका कारण भ्रष्टाचार नियन्त्रण भएन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार १७:०९:००

पूर्व मुख्यसचिव विमल कोइरालाले राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषयमाथिको छलफलमा शनिबार उनले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताएका हुन्  

‘सुधार माथिबाटै गर्नुपर्छ,’ काेइरालाले भने, ‘टाउकोबाट नै नुहाउनु पर्छ, खुट्टा मात्रै पखालेर हुँदैन ।’

सधै सत्तामा रहेको दलले राजनीति गरेकाले कर्मचारी प्रशासनले क्षमताअनुसार काम गर्न नसकेको टिप्पणी उनले गरे । राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको उनको भनाइ थियो । भ्रष्टाचार न्युनीकरणविना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै उनले राजनीतिक नेतृत्वका मुहान नै सफा हुनु पर्नेमा जोड दिए । 

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको उनले दाबी गरे । कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै उनले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।

संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उनले बताए । प्रदेशलाई अधिकार नदिनु संघीय सरकारको हिनताबोध र लघुताबोध भएको उनले टिप्पणी गरे ।