१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अर्मान्डाे अरियता
२०७५ पौष २२ आइतबार ०८:३३:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

सशक्तीकरणको एउटा बाटो

हामी सबैले जीवनको कुनै मोडमा गएर चुनौती त झेल्नैपर्छ । तर, कमजोर आत्मसम्मानका आधारमा निर्णय गर्नु अल्पकालीन खेल मात्रै हो ।

Read Time : > 3 मिनेट
अर्मान्डाे अरियता
२०७५ पौष २२ आइतबार ०८:३३:००

विपक्षीलाई कुन चिजले पराजित गर्न सकिन्छ

आत्मविश्वास । टेनिस खेलाडी भेनस विलियम्सले १४ वर्षको उमेरमा एबिसी न्युजका रिपोर्टर जोन केन्जीलाई दिएको अन्तर्वार्ताको सानो क्लिप्स सन् २०१८ तिर सामाजिक सञ्जालमा देखिएको थियो । ‘मलाई थाहा छ, म उसलाई हराउन सक्छु,’ मुस्कुराउँदै भेनसले केन्जीलाई भनेकी थिइन्, ‘मलाई एकदमै विश्वास छ ।’

‘तिमीले त कति सजिलै भन्यौ,’ केन्जी उनको जवाफले अचम्मित मान्दै भन्छन्, ‘किन ?’ 

‘किनभने मलाई विश्वास छ,’ भेनस जवाफ फर्काउँछिन् । यही आत्मविश्वासले विलियम्सको सारा जीवन चलिरहेको छ । आत्मविश्वासले नै हो व्यावसायिक टेनिसमाथि विलियम्स हाबी भएको र विश्वको टप महिला टेनिस खेलाडीमा दर्ज भएको पनि ।

तर, लैंगिक समानता प्रोत्साहन गर्नका लागि व्यक्तिगत सशक्तीकरण पनि त्यति नै महत्वपूर्ण हुन्छ । जस्तो कि उनले महिलालाई पनि पुरुषकै जति राशिको विम्बल्डन पुरस्कार दिइनुपर्ने भन्दै सार्वजनिक  अभियानको नेतृत्व गरेकी थिइन् ।

(विलियम्स सन् २०१७ मा चौथो विम्बल्डन टाइटल जितेपछि पुरुष च्याम्पियन रोजर फेडेररकै जति पुरस्कार राशि चौध लाख डलर पाउने पहिलो महिला बनिन् ।) 

आत्मविश्वासले उनको उद्यमशीलतामामहत्वपूर्ण  सहयोग पु-याएको छ । उनले स्थापना गरेको ‘इलिभेन’ र ‘भी स्टार’ इन्टेरिअर फर्म पनि व्यावसायिक रूपमा सफल भएका छन् । आत्मविश्वास नै उनको उपलब्धिको मुख्य स्रोत हो ।

उनलाई लाग्छ, ‘आत्मविश्वास एउटा त्यस्तो कौशल हो जसलाई लगातार सिकाउन र काम गर्न सकिन्छ ।’‘मलाई लाग्छ, मेरो सफलतामा म मेरै आत्मविश्वासप्रति सबैभन्दा धेरै आभारी हुनुपर्छ,’ उनले न्युयोर्क टाइम्सलाई भनिन्, ‘मैले थाहा पाएकी छु कि आत्मविश्वास सिक्न र विकास गर्न सकिन्छ ।

वास्तवमा मेरो आत्मविश्वासले म हरेक दिन काम गर्न सकिरहेकी छु, जिम जानुहोस् वा प्रशिक्षणका लागि टेनिस कोर्ट ।’ हामीले विलियम्सलाई सोधेका थियौँ– आत्मविश्वास बढाउने र व्यवस्थित गर्ने सूत्र के हुन् ? ‘वास्तवमा जसरी मान्छे आफ्नो शारीरिक अभ्यास गर्छ त्यसरी नै आफूलाई विश्वास गरेर मानसिक रूपमा पनि अभ्यास गर्न सक्छ,’ उनले भनिन् ।

 यस्ता छन् भेनस विलियम्सले हामीलाई दिएका आत्मविश्वास बढाउने तीन नियम : 
 

- आफ्नो भावनाप्रति  इमानदार हुनुहोस्

जब मैले चाहेको कुनै पनि तरिकाले काम भएन भने म आफैँलाई साधारण तर  महत्वपूर्ण एउटा प्रश्न गर्छु, किन ? मलाई लाग्छ, समस्याको समाधान खोज्ने यो नै एउटा गजब तरिका हो । जब तपाईं आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्नुहुन्छ त्यतिवेला दिमागमा आफ्नो भावनाप्रति इमानदार हुनुपर्छ भन्ने कहिल्यै नबिर्सिनुहोस् ।

तपाईंसँग भएको कुनै पनि आशंकालाई लुकाएर राख्नुभन्दा त्यसको समस्या कहाँनेर हो पहिचान गर्नुहोस् । जब आफूलाई आत्मविश्वास हुँदैन त्यतिवेला फेरि आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुनुहोस् र आफ्नो दृढताबाट पछि नहट्ने निर्णय लिनुहोस् । 

आत्मविश्वासले विलियम्सको सारा जीवन चलिरहेको छ । आत्मविश्वासले नै हो व्यावसायिक टेनिसमाथि विलियम्स हाबी भएको र विश्वकै टप महिला टेनिस खेलाडीमा दर्ज भएको पनि ।

तपाईंले कुनै पनि काम गर्दा सहज बाटो नरोज्नुहोस् । त्यसले तपाईंलाई अस्थायी खुसी मात्रै दिन्छ । आफूलाई अरूसँग तुलना गर्न पनि बन्द गर्नुहोस् । अरू मान्छे स्मार्ट, राम्रा वा अग्ला भएर सफल भएका हुन् भन्ने सोचाइले तपाईंको आफ्नो सफलतालाई नजरअन्दाज गर्न सिकाउँछ ।  तपाईंले कुरा गरिरहेको सफल मान्छे कोच होस् वा मेन्टर वा सामान्य, तपाईंले सम्मान गर्ने मान्छे नै किन नहोस्, ऊप्रति दिमागमा सधैँ सकारात्मक सोच राख्नुहोस् ।

जब तपाईं आफ्नो भावनाप्रति इमानदार बन्नुहुन्छ त्यतिवेला आफूप्रतिको आशंकालाई मानवीय स्वभावका रूपमा स्वीकार गरिदिनुहोस् । कुनै पनि असुरक्षित तरिकाले त्यसो गरिनु चाहिँ हुन्न । खेलमा जाँदा सधैँ म आफूलाई नर्भस हुनु ठीक हो भन्छु, तर मेरो खेल जित्नका लागि यो ठीक होइन ।

मेरा आसपासका केही मान्छे बारम्बर गलत निर्णय लिएर अविश्वासमा बाँचिरहेका हुन्छन् । मान्छेहरू त्यस्तो किन सोच्छन् ? यस्तो समयमा तिनीहरूका निर्णय बेतुकका जस्ता देखिन्छन् । तर, मलाई चाहिँ तिनीहरूको आत्मविश्वासप्रतिको अभावका कारण भएको हो भन्ने महसुस हुन्छ । जब कि त्यस्ता निर्णयले मानिसलाई पश्चात्तापमा पु-याउँछ । यसले मानिस आफू योग्य छैन भन्ने मनोबललाई बढवा दिने मात्रै हो ।

- ‘गन्तव्यमा पुग्ने गोरेटोको नक्सा’  बनाउनुहोस्

तपाईं सफल, खुसी र आफ्नो सपनाको जीवन बाँच्नलायक हुनुहुन्छ । यदि तपाईंलाई त्यो अप्ठ्यारो छ भन्ने लागिरहेको छ भने आफैँलाई भन्नुहोस्, ‘म जीवनमा सबैभन्दा खराब चिजको लायक छुँ । म विफल र दुःखी हुन मात्रै लायक छुँ ।’ के त्यो सही सुनिन्छ ? अवश्य सुनिँदैन ।

त्यसो भए यसको ठीक उल्टो सोच्नुहोस् र अघि बढ्नुहोस् ।  ओहिव स्टेट युनिभर्सिटीको अध्ययनबाट उपलब्ध तथ्यअनुसार ‘जसले आफ्नो लक्ष्य प्राप्त गरेको देख्न सक्छ, उसले प्राप्त पनि गर्छ ।’ एकपटक आफूले उद्देश्यलाई चुमिसकेको सम्झिएर अघि बढे अवश्य गन्तव्यमा पुगिन्छ ।मैदानमा उत्रिनुभन्दा पहिले नै याद राख्नुहोस् कि खेलमा जित या हार जे पनि हुन सक्छ ।

पहिलो अन्तर्वार्तामा गएपछि जागिर पाइन पनि सक्छ, गुम्न पनि सक्छ । त्यसैले म्यानेजरसँग कुरा गर्नुभन्दा पहिले मनस्थिति बनाउनुहोस् । यात्राका लागि ढोकाबाट निस्किनुभन्दा पहिले गन्तव्यसम्म पुग्न कति हिँड्नुपर्ने हो ? तयार हुनुहोस् । 

तपाईं आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्नुहुन्छ त्यतिवेला दिमागमा आफ्नो भावनाप्रति इमानदार हुनुपर्छ भन्ने कहिल्यै नबिर्सिनुहोस् । जतिवेला आफूलाई आत्मविश्वास हुँदैन त्यतिवेला फेरि आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुनुहोस् र आफ्नो दृढताबाट पछि नहट्ने निर्णय लिनुहोस् ।


- असफलतालाई फाइदाका  रूपमा लिनुहोस्

व्यक्तिगत जीवन सन्तुलित र खुसी हुनुको आधार भनेको आत्मविश्वास हो । जसले तपाईंको जीवनमा भव्य सफलता हात पार्न पनि मद्दत गर्न सक्छ । त्यस्तो किनभने जब हामी विश्वस्त हुन्छौँ, तत्कालीन समस्यामा अल्झिराख्नेभन्दा पनि भविष्यको कामप्रति सक्रिय भएर केन्द्रित हुन्छौँ । फेरि पनि असफलता जीवनको अपरिहार्य चिज हो ।

म मेरो असफलतामा एउटा एथलेटिक्स खेलाडीका रूपमा इमानदारीपूर्वक सोच्छु । खेलमा हारलाई सामान्य रूपमा परिभाषित गरिन्छ– जब तिमी आफैँलाई सच्याउँदैनौ, हार निश्चित छ । मेरा लागि असफलता भनेको थप मिहिनेत गर्नुपर्छ भन्ने मात्रै हो । त्याग्नु मेरो विकल्प कहिल्यै होइन । असफलताले तिमीलाई साहसी, बुद्धिमान् र झनै राम्रो बनाउँछ ।

मेरो असफलता नै सफलताका लागि सबैभन्दा महत्वपूर्ण  आधार हो ।  हामी सबैले जीवनको कुनै मोडमा गएर चुनौती त झेल्नैपर्छ । तर, कमजोर आत्मसम्मानका आधारमा निर्णय गर्नु अल्पकालीन खेल मात्रै हो । जसले हामीलाई हाम्रा दीर्घकालीन गन्तव्यमा पुग्न कहिल्यै दिँदैनन् ।

जति धेरै आत्मविश्वासको आधारमा हामी निर्णय गर्न सिक्नेछौँ, उति नै हामी हाम्रो सपना पूरा गर्न सफल हुनेछौँ । मेरा लागि त्यही नै सफलताको साँचो परिभाषा हो ।
 
(भेनस विलियम्स विश्वकी उत्कृष्ट टेनिस खेलाडी हुन् । उनले सातवटा ठूला टाइटल र चारवटा ओलम्पिक गोल्डमेडल जितेकी छिन् । उनी भी स्टार इन्टेरियरकी सिइओ र इलेभेन फेसन लाइनकी संस्थापक पनि हुन् ।)