१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
युवराज ज्ञवाली
२०७५ पौष २२ आइतबार ०७:५१:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

हातमा आएको अवसर गुम्ने खतरा

सदस्यहरूले भनेजस्तै हुबहु नहुन पनि सक्छ, तर अध्यक्षको जवाफले तुलनात्मक रूपमा धेरै विषय सुध्रेर जाने अवस्था छ

Read Time : > 4 मिनेट
युवराज ज्ञवाली
२०७५ पौष २२ आइतबार ०७:५१:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक (मंसिर २९–१३ पुस) सकारात्मक सन्देश प्रवाह गर्दै सम्पन्न भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेस गरेको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । प्रतिवेदनमाथि सदस्यहरूले खुलस्त भएर आ–आफ्ना विचार राख्नुभएको छ । प्रतिवेदनभित्रका कतिपय विषयमा गहन रूपमै छलफल भयो । विशेषगरी सरकार सञ्चालन, पार्टी सञ्चालन र वर्तमान परिवेशबारे घनीभूत बहस भयो । भन्नुपर्ने विषय केही पनि बाँकी राखिएनन् । शिष्ट ढंगले सदस्यहरूले जोडदार रूपमा विषय उठाउने काम भयो । नेता तथा कार्यकर्तामा उत्साह आयो । समग्रमा यो बैठकलाई सकारात्मक मान्नुपर्छ । बैठकमा जमेर आलोचना पनि भएको छ, धेरै रचनात्मक सुझाब पनि आएका छन् । यसले पार्टीलाई अझ बढी एकताबद्ध बनाएर लाने स्थिति देखापरेको छ । 

मुख्य दुई पाटो
मुख्यतः अध्यक्षद्वयको प्रतिवेदनमा राजनीतिक र सांगठनिक पक्ष थिए । राजनीतिकतर्फ पार्टी एकता, सरकार निर्माण, सरकारका कामकारबाही, गतिविधिका सम्पूर्ण पक्ष र अहिलेको परिस्थितिबारे व्याख्या गरिएको छ । अब कसरी अगाडि जाने भन्ने विषय पनि संक्षिप्त रूपमा प्रतिवेदनमा आएको छ । प्रतिवेदनमाथि स्थायी समिति बैठकमा हामीले विभिन्न सुझाब दिएका छौँ । महत्वपूर्ण  सुझाब आएका छन् । कतिपय साथीले लिखित सुझाबसमेत राख्नुभएको छ । ती सुझाबलाई नोट गरिएको छ । र, त्यसलाई अध्यक्षद्वयले सकारात्मक रूपमा लिएको बताउनुभएको छ । सदस्यहरूबाट आएका सुझाबलाई समेट्दै प्रतिवेदनलाई पूर्णता दिने निर्णय बैठकले गरेको छ । प्रतिवेदनलाई सचिवालयले अन्तिम रूप दिनेछ ।

अर्कातर्फ, संगठनात्मक विषयमा पनि स्थायी कमिटीमा घनीभूत छलफल भएको छ । केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, गठित प्रदेश कमिटीको छानबिन, विधानमा उठेका प्रश्नलगायत तमाम विषय टुंग्याउन नौसदस्यीय कार्यदल गठन भएको छ । त्यो कार्यदलले विस्तृत रूपमा गृहकार्य गरेर यी सबै विषयलाई समेटेर १० दिनभित्र सचिवालयमा प्रतिवदेन बुझाउने र सचिवालयमा छलफल गरेपछि स्थायी समितिमा ल्याएर पारित गर्ने निर्णय भएको छ ।

यही महिनाको अन्तिमसम्म कार्यदलले सबै काम सकेर स्थायी समितिमा प्रस्ताव ल्याउनेछ । कार्यदललाई जनवर्गीय संगठनलाई एकताबद्ध गर्ने अधिकार पनि दिइएको छ । कार्यदलले कस्तो प्रस्ताव ल्याउँछ, त्यो त हेर्न बाँकी नै छ । फेरि पनि कार्यदलले ल्याएकै प्रस्ताव निर्णायक हुन्छ भन्ने छैन । कार्यदलले ल्याउने प्रस्ताव मात्रै हो, त्यसलाई स्थायी समितिले फाइनल गर्छ । कार्यदलको प्रस्तावलाई हामी अध्ययन गर्छौं । ठीक–बेठीक छुट्याउँछौँ । स्थायी समितिमा आएर फेरि पनि छलफल हुन सक्छ । तर, धेरै विषयमा कार्यदलले गृहकार्य गरिसकेको हुनाले त्यति अप्ठ्यारो नपर्ला । कतिपय विषय रहेछन् भने स्थायी समितिमा छलफल गरेर टुंग्याउनेछौँ । त्यसपछि देशभरका संगठन एकताबद्ध हुने स्थिति बन्नेछ ।

भनेबमोजिम नभए फेरि प्रश्न उठ्छ
प्रतिवेदनमा आएका विषयमा सुझाब आएका छन् । ती सुझाबलाई समेत ध्यानमा राखेर प्रतिवेदन परिमार्जन गर्ने भन्ने सहमति भएको छ । त्यसबारे सचिवालयमा फेरि छलफल हुन्छ । सुझाबलाई नेतृत्वले सकारात्मक रूपमा लिएकाले परिमार्जनका विषयमा समस्या नहोला । ठ्याक्कै यी–यी विषयमा परिमार्जन गर्ने भन्नेचाहिँ भएको छैन ।  सदस्यहरूले भनेजस्तै हुबहु नहुन पनि सक्छ । तर, अध्यक्षको जवाफले तुलनात्मक रूपमा धेरै कुरा सुध्रेर जाने, सच्चिएर जाने अवस्था देखिन्छ । बैठक अहिले मात्र बसेको होइन, यो त नियमित प्रक्रिया हो । अब त दुई–दुई महिनामा बैठक बस्ने भनिएको छ । फेरि बाँकी रहेका वा थप नयाँ केही विषय आए छलफल चल्दै जान्छ । निर्णय हुँदै जान्छन्, यो त निरन्तर चल्ने प्रक्रिया हो । पार्टीमा नयाँ–नयाँ विवाद आइरहेका छन् । तत्काल गर्नुपर्ने निर्णय सचिवालयमा छलफल गरेर गर्नुपर्छ । विवादास्पद विषय आए छलफल गरेर टुंग्याउनुपर्छ भनिएको छ । यदि त्यो ढंगले नेतृत्व अगाडि नबढे फेरि बैठकमा प्रश्न उठ्छ । पार्टी र सरकारलाई सच्याउने प्रक्रिया निरन्तर अगाडि बढ्छ । 

जनअपेक्षित काम भएन
सरकारको कामकाजबारे पनि गम्भीर आलोचना र सुझाब आएका छन् । अधिकांश सदस्यले जनताको जुन अपेक्षा थियो, सरकारले त्यसअनुरूप काम गर्न नसकेको धारणा राख्नुभयो । दुईतिहाइ बहुमतको सरकार बनेको छ । देश र पार्टीका लागि यो ठूलो अवसर हो, तर यसलाई उचित ढंगले सदुपयोग हुन सकेन । जनताका अपेक्षा पूरा भएनन् । जनतामा असन्तुष्टि बढेको छ, त्यसलाई सम्बोधन गर्ने काम भएन । गल्ती, कमजोरीलाई सुधारेर, सच्याएर अगाडि जानुपर्छ । जनताको समस्या सम्बोधन गर्ने गरी काम हुनुपर्छ भन्ने सुझाब आएका छन् । सरकारको काम सुस्त भइराखेका छन्, तीव्र गतिमा काम हुनुप¥यो भन्ने कुरा आएको छ । 
त्यसलाई नेतृत्वले महसुस गरेको छ । आगामी दिनमा नेतृत्व कसरी अगाडि बढ्छ, त्यो त हेर्नैपर्छ । फेरि बस्ने बैठकहरूमा पनि छलफल हुँदै जान्छन् । छापिएको विधानमा तीन महिनामा एकपटक स्थायी समिति बैठक बस्ने भनिएको छ । तर, बैठक बस्न ५–६ महिना लाग्यो । बैठकमा यस विषयमा पनि गम्भीर प्रश्न उठेको छ । कम्तीमा दुई महिनामा एकपटक स्थायी समिति बैठक बस्नुपर्छ र सोहीअनुसार विधान संशोधन हुनुपर्छ भन्ने सहमति भएको छ । नेतृत्वले त्यसलाई स्वीकार गरेको छ । यो बैठक लामै चलेको देखियो । बैठक बिहान–बिहान अढाई–तीन घन्टा मात्र चलेको हो ।

माघभित्रै केन्द्रीय समिति बैठक
केन्द्रीय समिति बैठक कहिले बस्छ भनेर हामी सबैले प्रश्न उठायौँ । माघभित्र केन्द्रीय समितिको बैठक सक्ने, तलसम्मको एकता सक्ने र फागुन–चैतमा देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने सहमति भएको छ । यद्यपि, केन्द्रीय समिति बैठकको मिति भने तय भइसकेको छैन । सम्भवतः माघको दोस्रो सातासम्ममा केन्द्रीय समिति बैठक बस्छ । पुसभित्रै बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाउँछ । केन्द्रीय समिति बैठकको मितिसँगै पोलिटब्युरो, केन्द्रीय सदस्यको कार्यविभाजन पनि त्यही बैठकले गर्छ ।

पार्टी र राज्यसत्ता दुरुपयोग खतरनाक
एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्ने महत्वपूर्ण  काम भएको छ । तर, यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिएन भने अहिले जसरी उत्साह देखिएको छ, बिस्तारै निराशाको स्थिति आउन सक्छ । पार्टीभित्रका तमाम अन्तरविरोध र समस्यालाई ठीक ढंगले समाधान गर्ने, मिलाएर लाने गर्नुपर्छ । मुख्य रूपमा अहिले एकले अर्कालाई निषेध गरेर, एकले अर्कालाई पछारेर वा एकले अर्कालाई पन्छाएर जाने, सत्ताको होडमा लाग्ने, स्वार्थमा लाग्ने, आफ्नो निहित स्वार्थ पूरा गर्न पार्टी सत्ता र राज्यसत्ता दुरुपयोग गर्ने प्रवृत्ति अत्यन्त खतरनाक र घातक छन् । 

पार्टीलाई माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा कम्युनिस्ट आदर्श, मूल्यमान्यतालाई ध्यानमा राखेर एकताबद्ध बनाउनुपर्छ । सबैलाई मापदण्डका आधारमा जिम्मा दिने, एक–अर्कालाई सम्मान गर्ने, आलोचना सुन्ने, सकारात्मक सुझाब लिने ढंगले जानुपर्छ । खासगरी सामूहिक ढंगले पार्टी चलाउनुपर्छ । व्यक्तिलाई धुरी बनाएर होइन, नीति, सिद्धान्त र संगठनलाई धुरी बनाएर पार्टीलाई सामूहिक नेतृत्वको आधारमा तलदेखि माथिसम्म पार्टी सञ्चालन गर्ने हो भने अहिले देशका लागि अत्यन्त राम्रो अवसर छ । यो मौका गुम्न दिनु हुँदैन । सम्पूर्ण नेता र कार्यकर्ता गम्भीर भएर लाग्नुपर्छ । हिजोभन्दा आज हाम्रो काँधमा धेरै ठूलो दायित्व आएको छ । हिजो क्रान्ति गर्न जति कठिन थियो, त्योभन्दा अहिले क्रान्तिका उपलब्धि संस्थागत गर्न, देश र जनतालाई समृद्ध बनाउन कठिन छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा राम्रो छ । तर, त्यसलाई व्यवहारमा लागू गर्न धेरै कठिन छ । त्यसका लागि सबै ठाउँबाट ठीक ढंगले प्रयन्त गरियो भने मात्र त्यो सम्भव छ । होइन, सबै आ–आफ्नो स्वार्थमा लाग्ने, गुटबन्दीमा रमाउने तरिकाले जाने हो भने भताभुंग पनि हुन सक्छ । अवसर र चुनौती दुवै छन् ।  चुनौतीको सामना गर्ने गरी अवसरलाई सदुपयोग गरी अगाडि बढ्न सक्नुपर्छ ।
(ज्ञवाली नेकपा स्थायी कमिटी सदस्य हुन्)