फिल्म फ्लप भएपछि डिप्रेस्ड भएँ

आत्मसमीक्षा

२०७६ श्रावण ३० बिहीबार ०७:५०:००

सुशील श्रेष्ठ, अभिनेता

अभिनेता सुशील श्रेष्ठ ‘होस्टेल रिटन्र्स’बाट फिल्म उद्योगमा प्रवेश गरेका थिए । आकर्षक ज्यानका कारण चर्चामा आएका उनका त्यसपछि ‘सायद २’ र ‘कारखाना’ प्रदर्शन भए, तर ती दुवै फ्लप भए । उनको ‘लभ डायरिज’ प्रदर्शनको तयारीमा छ । यही सन्दर्भमा नयाँ पत्रिकाका लागि नवीन प्यासीसँग उनले आफ्नो फिल्मीयात्राको अनुभूति साटेका छन् :
 

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लभ डायरिज’बाट ठूलो अपेक्षा गरेको छु । र, यसमा मिहिनेत पनि गरेको छु । करिब अढाई वर्ष पछि ‘कमब्याक’ गर्दै छु । पहिलो फिल्म ‘होस्टेल रिटन्र्स’बाट राम्रै रेस्पोन्स पाएको थिएँ । तर, ‘सायद २’ र ‘कारखाना’ फ्लप भए ।

दुईवटा फिल्म फ्लप हुँदा दर्शकले मलाई नरुचाएको महसुस भयो । मैले दर्शकको अपेक्षा पूरा गर्न सकिनँ कि जस्तो लाग्यो । आफूले कम मिहिनेत गरेँ कि भन्ने पनि दिमागमा आयो । हुन त फिल्मको सफलता र असफलता टिममा भर पर्छ । तर, मैले असफलताको सबै जिम्मा आफैँले लिएँ ।

अनेक प्रश्न मनमा आउँदा म डिप्रेस्ड नै भएँ । एकपटक त फिल्म उद्योग नै छाड्नेबारे पनि सोचेँ । तर, फिल्म एक्लैले सफल नहुने कुरा अलि पछि मनन भयो । डिप्रेसनकै अवस्थामा रहेका वेला ‘लभ डायरिज’को अफरले औषधिको काम ग-यो । त्यसैले यो फिल्म मेरा लागि सञ्जीवनी बुटी हो ।

‘होस्टेल रिटन्र्स’मा काम गर्दा मैले अभिनय नै सिकेको थिइनँ । युवापुस्तामा जस्तै हिरो हुने लहड थियो, ममा । जोसैजोसमा होस्टेल रिटन्र्समा काम गरेँ । त्यसपछि भने अनुप बराल सरहरूसँग अभिनयको कक्षा लिएँ ।

डिप्रेसनकै अवस्थामा रहेका वेला ‘लभ डायरिज’को अफरले औषधिको काम ग-यो । त्यसैले यो फिल्म मेरा लागि सञ्जीवनी बुटी हो ।
 

त्यो कक्षाबाट अभिनय प्राकृतिक हुनुपर्छ भन्ने थाहा पाएँ । हामी जस्तो छौँ, अभिनय त्यस्तै हुनुपर्छ भन्ने सिकेँ । फिल्म ‘सायद २’ र ‘कारखाना’मा आफूलाई सुधारेँ । अभिनय पनि निख्रिएको थियो । ‘लभ डायरिज’मा आइपुग्दा आफूलाई धेरै निखारेको छु । ‘लभ डायरिज’मा अभिनय सुधार्नका लागि वर्कसपको पनि ठूलो भूमिका छ ।

यो फिल्म मेरो कमब्याक पनि हो । यो क्षेत्रबाटै पलायन हुन्छु भन्ने सोच बनाइरहेका वेला गरेको फिल्म हो, ‘लभ डायरिज’ । यसमा दर्शकबाट जस्तो प्रतिक्रिया पाउँछु, त्यसले मेरो बाँकी यात्रालाई निर्धारण गर्नेछ । तर, अहिलेसम्म पक्कापक्की छु– अब मेरो खास यात्रा सुरु भएको छ ।

नेपाली फिल्म उद्योगको अवस्थाले पनि पलायन हुन मन लाग्दोरहेछ । म एकदमै सकारात्मक सोच राख्छु । तर, मनमा अनेक कुरा आउँदा आफूलाई नकारात्मक बनाएर लाने रहेछ । नेपाली फिल्म उद्योगमा नयाँ कलाकार टिक्न गाह्रो छ । अनेक खेल हुने रहेछ । त्यस्ता खेलले मानसिक यातना दिँदा रहेछन् । त्यसले गर्दा कलाकार पलायन हुन बाध्य हुने रहेछन् ।