मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३० बिहीबार ०७:४२:००
Read Time : < 1 मिनेट
राजनीति

पूर्वएमाले समूहको विवादले सचिवालय बैठक सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३० बिहीबार ०७:४२:००

विभाग गठनसहित केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा पूर्वएमाले समूहमा समझदारी नहुँदा सत्तारुढ नेकपाको सचिवालय बैठक धकेलिँदै गएको छ । ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा लिने सहमतिअनुसार कार्यविभाजन टुंग्याउन मंगलबार बैठक बस्ने तयारी थियो ।

प्रधानमन्त्री केपी ओली सिंगापुरबाट निर्धारित मितिभन्दा तीन दिन ढिलो फर्किएपछि गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर पूर्वएमाले समूहले छुट्टै छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मंंगलबार सचिवालयमा रहेका पूर्वएमाले नेताहरूको बैठकमा विभाग प्रमुखमा सहमति भएन । 

‘हामीले गहिराइमा पुगेर छलफल गरेका छैनौँ,’ वरिष्ठ नेता झलनाथ खनालले नयाँ पत्रिकासँग भने, ‘विषयको गहिराइमा पुगेर छलफल नभएकैले आवश्यक गृहकार्य नपुगेर बैठक नबोलाइएको हो ।’ स्रोतका अनुसार पूर्वएमालेको भागबण्डामा परेका १८ विभागमध्ये अधिकांशमा अध्यक्ष ओलीले निकट नेताको नाम प्रस्ताव गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले अस्विकार गरेका छन् । नेपालको प्रतिवादपछि पूर्वएमालेभित्र विभाग गठनसहित केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा कुरामिल्न सकेन । 

ओली–प्रचण्ड छलफल 
अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय विभाग गठन र कार्यविभाजनमा केन्द्रित रहेर बुधबार दुईपटक छलफल गरेका छन् । पूर्वमाओवादी तर्फबाट कार्यविभाजनमा जिम्मेवारी पाउने नेताको नाम प्रचण्डले तयार पारेका छन् । एमाले समूहभित्र भने पार्टी स्कुल विभागमै सहमति हुन सकेको छैन । ओली र प्रचण्डले बिहीबार सचिवालय बैठक बोलाउने सहमति गरेका छन् ।