मुकेश अम्बानीकाे सम्पत्तिमा साढे ४ अर्ब अमेरिकी डलर वृद्धि

२०७६ श्रावण २९ बुधबार २०:०८:००

विश्वका अर्बपतिको सूचीमा भारतीय व्यापारी मुकेश अम्बानीले तीन स्थान अगाडि बढेका छन् । एशियाकै सबैभन्दा धनी अम्बानीले ४.४५ अर्ब अमेरिकी डलर सम्पत्ति बढाउँदै धनीको सूचीमा अगाडि उक्लिएको हो ।

विश्वका धनाड्याहरूको सूची निकाल्दै 'ब्लूमबर्ग बिलेनियर इण्डेक्स'ले अम्बानीको कुल सम्पत्ति ४९.९ अर्ब अमेरिकी डलर रहेको देखाएको हो । 'लायन्स इण्डस्ट्रिज'को शेयरमा भारी वृद्धि हुँदा अम्बानीको सम्पत्ति बढेको इण्डेक्सले सार्वजनिक गरेको हो । रिलायन्स कम्पनीको शेयर मंगलबार १० प्रतिशतले बढेर एक हजार दुई सय ७५ पुगेर बन्द भएको थियो । 

विश्वको सबैभन्दा धनीहरूमध्ये १८ औँ स्थानमा रहेका अम्बानी नयाँ सूचीअनुसार १५ औँ स्थानमा रहेका छन् । यस्तै, अमेजन कम्पनीका मालिक तथा सिइओ जेफ बेजोस एक सय १४ अर्ब अमेरिकी डलरसहित पहिलो सूचीमा रहेका छन् । दोस्रो स्थानमा माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स छन् । उनीसँग कूल एक सय ६ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ । एजेन्सी

सम्बन्धित समाचार