मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार १६:१७:००
Read Time : > 1 मिनेट
समाचार

भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्धले तराईमा डुबान : गृहसचिव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार १६:१७:००

गृहसचिव प्रेम कुमार राईले नेपाल भारतबीचको सीमाना, तटबन्ध तथा तराई मधेस डुबान समस्याको दीर्घ कालीन समाधानका लागि कुटनीतिक पहल गरिनु पर्ने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बुधबार गृहसचिव राईले तराई–मधेस डुबान, बाढी तथा नेपाल भारत सीमावर्ती बाँध सम्बन्धमा दीर्घ कालीन समाधान खोज्न उच्चस्तरमा कुटनीतिक पहल गरिनु पर्ने बताएका हुन् । 

रौतहटको इसान नगरमा भारतले बनाएको सीमावर्ती सडक एक तर्फी रुपमा ५ फिटसम्म उचाई बढाउने काम भएको र त्यसबारे  चासो राख्दा मर्मत गरेको भनी परराष्ट्र मन्त्रालयले सामान्य रुपमा लिएको भन्दै उनले गुनासो गरे । राईले तराई मधेसमा वर्षेनी हुने डुबान र बाढीको समस्या मुलतः भारतले सीमा क्षेत्रमा निर्माण तटबन्धकै कारणले हुने गरेको बताए । नेपाल तर्फको तटबन्ध गुणस्तरीय नहुनु, तटबन्ध निर्माणको प्राविधिक पक्ष कमजोर हुनु तथा चुरेको दोहन बढ्दै जानुले पनि बाढीको समस्या बढाएको उनले स्पष्ट पारे ।

अहिले सम्पूर्ण अधिकार स्थानीय सरकारमा गएको र बालुवा, गिटी निकासीका लागि स्थानीय तहले अनुमति दिने भएकाले संघले अनुगमन गर्न नमिल्ने उल्लेख गर्दै उनले चुरेको दोहन नरोके भविश्यमा झन ठुलो क्षति व्यहोर्नु पर्ने बताए । राईले भारतसँगको सीमा स्तम्भ समयमै मर्मत गर्न नसकिएको र बाढीले बगाएको लामो समयसम्म पनि बनाउन नसकिएको स्वीकार गरे । 

तराईका बाढी प्रभावितका लागि गरिने उद्धार, राहत र पुर्ननिर्माण तथा पुनस्थापनाको काममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेको उनले गुनासो गरे । परराष्ट्र सचिव शंकर दास बैरागीले सीमा क्षेत्रमा हुने डुबान समस्या हेर्न दुई देशका प्रतिनिधि सम्मिलित स्थायी प्रकृतिको संयन्त्रले दिएको प्रतिवेदनका आधारमा सुझाव कार्यान्वयनका लागि पठाएको जानकारी गराए । 

सुस्ता र कालापानी लगायतका सीमा हेर्नका लागि प्रबुद्ध व्यक्तिहरुको समुह नै गठन गरिएकाले सो समुहले दुवै सरकारलाई प्रतिवेदन बुझाएपछि मात्रै त्यसबारे निर्णयमा पुग्न सकिने उनले बताए । दुई देशबीचको सीमा समस्या भने राजनीतिक, परराष्ट्र, सीमा सुरक्षाको विषयमा गृहमन्त्रालय र प्राविधिक पक्ष नापी विभागबाट संयुक्त रुपमा समाधान खोजिनु पर्ने उनको भनाइ थियो । सीमासम्बन्धी सम्पूर्ण समस्या समाधान नसुल्झेसम्म सीमासम्बन्धी तयार भएका दस्तावेजमा पनि हस्ताक्षर गर्न नहुने भनेर रोकेको उनले जानकारी दिए ।

शसस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले जनशक्ति पर्याप्त नभएकाले भारतीय सीमा सुरक्षा बलको अनुपातमा नेपाल तर्फबाट तैनाथी व्यापक पार्न नसकिएको बताए । समितिले तराई डुबान, बाढी समस्या तथा नेपाल भारत सीमावर्ती बाँधका सम्बन्धमा गृह, परराष्ट्र, शसस्त्र प्रहरी बल तथा नापी विभागसँग छलफल गरेको हो ।