Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ श्रावण २९ बुधबार ०९:५३:००
Read Time : > 2 मिनेट
खेलकुद

भारतीय प्रशिक्षकका लागि  ६ जना सर्ट लिस्टमा

Read Time : > 2 मिनेट
२०७६ श्रावण २९ बुधबार ०९:५३:००

भारतीय क्रिकेट टिमको नयाँ प्रशिक्षकको घोषणा आगामी साता हुँदै छ । कपिल देवको संयोजकत्वमा रहेको क्रिकेट एड्भाइजरी काउन्सिलले ६ पूर्वखेलाडीलाई सर्ट लिस्ट गरेको छ । जसमा न्युजिल्यान्डका पूर्व कोच माइक हेसन, अस्ट्रेलियाका पूर्व अलराउन्डर टम मुडी, भारतीय टिमका पूर्व फिल्डिङ प्रशिक्षक रोबिन सिंह, वेस्ट इन्डिजका पूर्व म्यानेजर लालचन्द राजपुत, वेस्टइन्डिजका पूर्व ओपनर फिल सिमोन्स र भारतका वर्तमान प्रशिक्षक रवि शास्त्रीको नाम सर्ट लिस्ट गरिएको हो ।

क्रिकेट एड्भाइजरी काउन्सिल (सिएसी)ले सबै ६ उम्मेदवारको इन्टरभ्यु यही शुक्रबार लिनेछ । रवि शास्त्री स्काइपमार्फत इन्टरभ्युमा रहन सक्ने जनाइएको छ । उनी अहिले भारतीय टिमका साथ वेस्टइन्डिजसँगको सिरिजमा रहेका छन् । छनोट कमिटीमा कपिल देवबाहेक भारतका पूर्व ओपनर अंशुमान गायकवाड र महिला क्रिकेट टिमकी पूर्वकप्तान शान्ता रंगास्वामी रहेका छन् ।

टम मुडी
अस्ट्रेलियाका पूर्व अलराउन्डर टम मुडी २००५ मा जोन राइटपछि भारतीय टिमको कोचका दाबेदार थिए । तर, चैपललाई यो जिम्मेवारी दिएपछि मुडी श्रीलंकन टिमको प्रशिक्षक बने । उनको प्रशिक्षणमा श्रीलंका २००७ को विश्वकपको फाइनलसम्म पुग्न सफल भएको थियो । उनले २००७ को बिग बासमा वेस्टर्न अस्ट्रेलिया टिमलाई पनि प्रशिक्षण गराएका थिए । त्यसबाहेक आइपिएलमा किंग्स इलेभन पन्जाब र सनराइजर्स हैदराबादको पनि कोचको भूमिका निभाएका छन् । उनकै प्रशिक्षणमा सनराइजर्सले २०१६ को आइपिएल उपाधि जितेको थियो ।

माइक हेसन
हेसन ६ वर्षसम्म न्युजिल्यान्डको प्रशिक्षकका रूपमा रहेका थिए । उनको प्रशिक्षणमा न्युजिल्यान्ड २०१५ को विश्वकप फाइनलमा स्थान बनाउन सफल भएको थियो । उक्त फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो । गत वर्ष उनले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभन पन्जाबलाई प्रशिक्षण गराएका थिए ।

फिल सिमोन्स
वेस्टइन्डिजका लागि २६ टेस्ट र १४३ एकदिवसीय खेल खेलेका सिमोन्सले २००२ मा सन्न्यास घोषणा गरेका थिए । उनी २००४ मा जिम्बावेका प्रशिक्षक बने । उनले २००७ को विश्वकपपछि आयरल्यान्डको प्रशिक्षण समाले । सिमोन्सले टिमलाई २२४ खेलमा प्रशिक्षण गरेका थिए । २०१५ मा सिमोन्सले वेस्टइन्डिज टिम समालेका थिए । उनको प्रशिक्षणमा टिमले २०१६ को टी–२० विश्वकप उपाधि जितेको थियो । त्यसपछि उनले २०१७ मा अफगानिस्तान क्रिकेट टिम समालेका थिए ।

रोबिन सिंह
भारतका लागि एक टेस्ट र १३६ एकदिवसीय खेल खेलेका रोबिन सिंह भारतीय टिमका पूर्व फिल्डिङ प्रशिक्षकसमेत हुन् । उनले भारतीय यू–१९ टिमको प्रशिक्षण गराएका थिए । २००४ मा उनलाई हङकङ क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको प्रशिक्षणमा हङकङ २००४ मा एसिया कपका लागि छनोट हुन सफल भएको थियो । २००६ मा उनले भारत ‘ए’ को प्रशिक्षण समालेका थिए । उनी २००७ देखि ०९ सम्म भारतीय टिमको फिल्डिङ प्रशिक्षक बन्न सफल भए । त्यसपछि उनी २००८ मा आइपिएलमा डेकन चार्जर्सको प्रशिक्षक नियुक्त भएका थिए । उनले २०१० मा मुम्बई इन्डियन्सका लागि तीन वर्षको प्रशिक्षक सम्झौता गरेका थिए । उनी टिममा रहँदा २०१० मा मुम्बई उपविजेता बनेको थियो । त्यसबाहेक उनी ८ अन्य घरेलु टिमको प्रशिक्षकसमेत रहेका थिए ।

लालचन्द राजपुत
लालचन्द राजपुत जिम्बावेका प्रशिक्षक हुन् । तर, आइसिसीले टिमलाई केही समयअघि प्रतिबन्ध लगाएको छ । लालचन्दले २००७ मा टी–२० विश्वकप र २००८ मा अस्ट्रेलिया भूमिमा सिबी सिरिज जित्ने टिमको म्यानेजरका रूपमा रहेका थिए । मुम्बईका पूर्व ओपनर लालचन्दले भारतका लागि दुई टेस्ट र चार एकदिवसीय खेल खेलेका छन् । उनले आफ्नो कोचिङ करिअरको सुरुवात यू–१९ टिमबाट गरेका थिए । त्यसपछि उनले सिनियर टिमको म्यानेजरका रूपमा काम गरे । २००८ मा मुम्बई इन्डियन्सको प्रशिक्षक बनेका उनी २०१६ मा अफगानिस्तानको प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा अफगानिस्तानले वेस्टइन्डिजलाई पराजित गरेर टेस्ट राष्ट्रको मान्यता पाएको थियो । उनी २०१८ मा जिम्बावेका प्रशिक्षक बनेका थिए ।

रवि शास्त्री
५७ वर्षीय शास्त्री भारतीय टिमका वर्तमान प्रशिक्षकसमेत हुन् । उनले आफ्नो कोचिङ करिअरमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अस्ट्रेलियामा टेस्ट सिरिज खेले भने एकदिवसीय विश्वकपमा समेत प्रतिस्पर्धा गरे । जहाँ उनी चारमध्ये तीन मिसनमा फेल भए । भारतले दक्षिण अफ्रिका र इंग्ल्यान्डमा सिरिज जित्न सकेन । साथै, भारत एकदिवसीय विश्वकपको फाइनलमा समेत स्थान बनाउन असफल रह्यो । उनको उच्च सफलताका रूपमा अस्ट्रेलियामा पहिलोपटक भारतलाई टेस्ट सिरिज जिताउनु हो । साथै, उनले एसियाकप जित्न सफल भएका छन् । उनी समग्रमा भारतको औसत प्रशिक्षकका रूपमा रहेका छन् । यद्यपि उनी वर्तमान कप्तान विराट कोहलीका विश्वासपात्र प्रशिक्षक हुन् ।