मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २९ बुधबार ०९:३३:००
Read Time : > 1 मिनेट
खेलकुद

संगीताद्वारा तीन कीर्तिमान सुधार

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०९:३३:००

विभागीय टोली नेपाल पुलिस क्लबकी संगीता राईले ओलम्पियन सुनीलराज जोशी स्मृति तेस्रो राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा यसअघि आफैँले कायम गरेको कीर्तिमानमा सुधार गरेकी छन् । संगीताले सिनियर महिलाको ४९ केजी तौल समूहमा स्न्याचतर्फ ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजी र कुलमा १३५ केजी भार बहन गर्दै तीनै विधाको कीर्तिमानमा सुधार गरेकी हुन् । उनले यसअघि आठौँ राष्ट्रिय प्रतियोगितामा तीनै विधामा कीर्तिमान कायम गरेकी थिइन् । 

उनले आठौँ राष्ट्रिय खेलकुदमा स्न्याचतर्फ ५८, क्लिन एन्ड जर्कमा ७५ र कुलमा १३३ केजी भार बहन गरेकी थिइन् । उनले यसपटक स्न्याच र क्लिन एन्ड जर्कतर्फ एक–एक केजी र कुलमा दुई केजी बढी भार बहन गर्दै कीर्तिमानमा सुधार गरेकी हुन् ।यस विधाको जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण जितिन् । उनले स्न्याचमा ४०, क्लिन एन्ड जर्कमा ५० र कुलमा ९० केजी भार उठाइन् । 

सिनियर महिलाको ४५ केजीमा सेनाकी रिता गुरुङले क्लिन एन्ड जर्क र कुलमा गरी दुई राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले क्लिन एन्ड जर्कमा ६२ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी हुन् । यस्तै, स्न्याचमा ४२ केजी भार बहन गरेकी उनले कुलमा १०४ केजी भार उठाएर नयाँ कीर्तिमान राखिन् । यो विधामा दोस्रो स्थान हात पारेकी झापाकी करिना चौधरीले स्न्याचतर्फ ४७ केजी भार उठाउँदै कीर्तिमान कायम गरिन् । उनले क्लिन एन्ड जर्कमा ५६ केजीसहित कुल १०३ केजी भार बहन गरेकी थिइन् । 

यसअघि यो तौल समूहको तीनवटै विधामा रिताको नाममा कीर्तिमान थियो । रिताले आठौँ राष्ट्रिय खेलकुदमा स्न्याचतर्फ ४५ केजी, क्लिन एन्ड जर्कमा ५० केजी र कुलमा ९५ केजी भार उठाएर कीर्तिमान कायम गरेकी थिइन् । ४५ केजीको जुनियर महिलातर्फ सप्तरीकी काजल सदाले स्वर्ण जितिन् । उनले स्न्याचमा २७ र क्लिन एन्ड जर्कमा ३७ केजी गरी कुलमा ६४ केजी भार बहन गरेकी थिइन् । यस्तै, ५५ केजीको सिनियर महिलातर्फ नेपाल पुलिसकी देवीकुमारी चौधरीले स्वर्ण हात पारिन् । उनले स्न्याचमा ६० केजी, क्लिन एन्ड जर्कमा ८२ केजी र कुलमा १४२ केजी भार उचालेकी थिइन् । 

सिनियर महिलाको ५९ केजी तौलमा स्न्याचतर्फ सन्जु चौधरीले ७१ केजी भारका साथ कीर्तिमानी प्रदर्शन गर्दै स्वर्ण जितिन् । यसअघि यस विधामा सेनाकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान रहेको थियो । कमलाले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उक्त कीर्तिमान कायम गरेकी थिइन् । 

महिलाको ६४ केजी तौल समूहमा नेपाली सेनाकी शारदा चौधरीले स्न्याचतर्फ आफ्नै नाममा रहेको ६० केजीको कीर्तिमानमा सुधार गरेकी छिन् । उनले यस पटक ६१ केजी भार बहन गरिन् । यस्तै, ७१ केजी तौल समूहमा पुलिसकी राजलक्ष्मी थापाले पनि स्न्याचतर्फ आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी छिन् । यसअघि ६६ केजीको कीर्तिमान राखेकी उनले यसपटक ६३ केजीको कीर्तिमान बनाइन् ।