मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ श्रावण २९ बुधबार ०९:०१:००
Read Time : < 1 मिनेट
समाचार

असहायका लागि  नवलपुरमा ‘कपडा बैंक’ 

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०९:०१:००

देवचुली नगरपालिका–३ केउरेनीमा कपडा बैंकको स्थापना भएको छ । नवलपरासीको देवचुलीमा स्थापना भएको यो कपडा बैंकमा कपडा लिने र दिने गरिन्छ । त्यो पनि निःशुल्क । कपडा बैंकमा पुराना कपडा हुनेले निःशुल्क दिन सक्छन् भने आवश्यक पर्नेले पनि निःशुल्क लिन सक्छन् । विशेष गरी विपन्न, असहायलाई सहयोग गर्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो ।

‘आयान कपडा बैंक स्टेन्ड स्टेसन’ नाम दिइएको यस बैंकको स्थापना शुभप्रभात समाजले गरेको हो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कपडा बैंकको स्थापना गरेको शुभप्रभात समाजका अध्यक्ष कृष्ण वाग्लेले बताए । आइतबारदेखि सञ्चालनमा आएको कपडा बैंकमा पहिलो दिन केही कपडा जम्मा भएका छन् । यहाँ संकलन भएका कपडा स्वेच्छाले कसैले लान सक्ने अध्यक्ष वाग्लेले बताए । ‘हामीले कपडा बैंकको नारा नै हुनेले दान गर्नुहोस्, नहुनेले निसंकोच लैजानुहोस् भनेका छौँ,’ अध्यक्ष वाग्लेले भने, ‘निःशुल्क रूपमा चाहिनेले लान सक्नेछन् ।’

कपडा बैंकमा संकलन भएका कपडा धेरै भएमा संस्थाका तर्फबाट विपन्न तथा अनाथ  आश्रममा लगेर बाँड्ने वा नगरपालिकासँग समन्वय गरी भण्डार कक्ष निर्माण गरी सोही स्थानमा संकलन गर्ने योजना रहेको संस्थाका सचिव सुशील चापागाईंले बताए । ‘कपडा बैंक स्थापनाले कपडा पुनः उपयोगलाई प्रोत्साहन गर्ने बताए । ‘कतिपय मानिसले केही समय लगाएर राम्रै कपडा पनि त्यसै फाल्ने गरेका हुन्छन्, अब ती कपडा अन्य असहायले लगाउन पाउनेछन्,’  सचिव चापागाईंले भने ‘यसले पुनः उपयोगलाई समेत बढाउँछ ।’ कपडा बैंकमा कपडासँगै जुत्ता, चप्पलसमेत हुनेले जम्मा गर्न सक्ने उनले बताए ।