१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २९ बुधबार ०८:००:००
Read Time : > 1 मिनेट
प्रदेश

बजेट खर्च प्रभावकारी बनाउन प्रदेश १ सरकारले लागू गर्‍यो समयतालिका

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०८:००:००

प्रदेश १ सरकारले चालू वर्षको बजेट आउँदो जेठ १५ भित्र शतप्रतिशत खर्च गराउने भन्दै समयतालिकासहितको योजना कार्यान्वयन गराउन थालेको छ । आर्थिक वर्षको अन्तिममा महिना अर्थात् असारमा हतार–हतार बजेट खर्च गर्ने प्रवृत्ति हटाउन समयतालिका बनाएर बजेट खर्चको व्यवस्था गरेको प्रदेश सरकारले जनाएको छ ।

सबै मन्त्रालय र निकायहरूले तालिका अनुसार बजेट खर्च गर्नुपर्ने 
प्रदेश १ का सचिव सुरेश अधिकारीले प्रदेशभित्रका सबै मन्त्रालय र निकायहरूले आफूले खर्च गर्ने बजेटको समयतालिका निर्माण गर्नुपर्ने बताए । उनका अनुसार पहिलो चौमासिकमा २५ प्रतिशत दोस्रोमा ६० र तेस्रोमा शतप्रतिश बजेट खर्च गर्नुपर्नेछ । बजेट खर्च गर्ने तालिका बनाएको/नबनाएको र तालिकाअनुसार खर्च भए/नभएको अनुगगन मुख्यमन्त्रीको नेतृत्वमा रहेको संयन्त्रले गर्नेछ । तालिका अनुसार बजेट खर्च गर्ने मन्त्रालय र निकायहरूको उचित मूल्यांकन गरिने बताइएको छ । तर, अटेर गरेर वा विभिन्न बहाना बनाएर तालिकाअनुसार बजेट खर्च नगर्नेहरू कारबाहीमा पर्ने प्रदेश सचिव अधिकारीले जानकारी दिए । सबै मन्त्रालय र निकायहरूले चालू वर्षमा कात्तिक महिनाभित्र पुँजीगत खर्चका लागि टेन्डर आह्वान गरिसक्नुपर्नेछ । र, सबैले हरेक चौमासिकमा आफ्नो बजेट खर्चको प्रगति र उपलब्धिको अवस्थासहित मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष विवरण प्रस्तुत गर्नुपर्नेछ ।

उपलब्धिहीन असारे बजेट खर्चको आरोपबाट मुक्त हुन प्रदेश १ सरकारले २८ साउन मंगलबार सबै मन्त्रालयका मन्त्री र सचिव, योजना आयोगका अध्यक्ष, प्रदेश सभा सचिवालयका सचिव र प्रदेश न्यायाधिवक्तालगायतलाई सहभागी गराएर चालू वर्षको बजेट खर्च गर्ने कार्यक्रमको समयतालिकासहितको योजना प्रस्तुत गर्न लगाएको छ । गत वर्षको जस्तो बजेट खर्च गर्न अब कानुन, कार्यालय र कर्मचारीको समस्या नहरेकाले कुनै बहानाबाजी नगरी उपलब्धिमूलक ढंगले बजेट खर्च गर्न निर्देशन गरेको छ । चालू वर्षमा ९५ प्रतिशत बजेट प्रभावकारी ढंगले खर्च गर्ने अठोट प्रदेश सरकारको छ । यस्तै प्रदेश सरकारले १५ जेठदेखि उता कसैले कुनै पनि बजेट खर्च गर्न नपाउने नीति लागू गरेको छ । 

प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार विनियोजन भएको बजेट खर्च गर्न कुनै माथिल्लो निकायबाट अख्तियारी लिन नपर्ने र सोझै निकासा बुझेर तल्ला निकायहरूले खर्च गर्न पाउनेछन् । उनले चालू वर्षमा शतप्रतिशत बजेट प्रभावकारी रूपमा खर्च हुने विश्वास व्यक्त गरे । मन्त्री आङ्बोले भने, ‘गत आवमा संघीयता कार्यान्वयनको पहिलो वर्ष भएकाले विभिन्न समस्याले गर्दा हामीले अपेक्षित बजेट खर्च गर्न सकेनौँ, तर अब त्यस्तो हुनेछैन ।’ 

प्रदेश सरकार अर्थ मामिला मन्त्रालयका अनुसार एक नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख रुपैयाँ बजेट पारित गरेको छ । पारित बजेट मध्ये कुल १८ अर्ब ५४ करोड ६४ लाख चालूतर्फ र २३ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ पुँजीगत खर्चमा राखिएको छ । यसैगरी अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ । 

कसैलाई बजेट खर्च नगर्ने बहानाबाजीको सुविधा हुँदैन : मुख्यमन्त्री राई 
मुख्यमन्त्री शेरधन राईले गत वर्ष कर्मचारी, कानुन र संरचना र समन्वय अभावले गर्दा सन्तोषजक बजेट खर्चमा सरकारले चित्त बुझाउन बाध्य भएको, तर चालू वर्षमा बजेट शतप्रतिशत खर्च गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । २८ गते मंगलबार भएको समयतालिकासहितको समीक्षा कार्यक्रममा उनले समयमै प्रभावकारी ढंगले बजेट खर्च गरेर आफ्नो क्षमता प्रदर्शन गर्न र समयको सदुपयोग गर्न निर्देशनसमेत दिए । उनले भने, ‘कसैलाई कुनै पनि बहाना बनाएर बजेट खर्च गर्न सकिएन भन्ने सुविधा हुनेछैन, चाँडोभन्दा चाँडो निर्देशिका र कार्याविधिहरू बनाएर प्रभावकारी ढंगले बजेट खर्च गर्न लागिपर्नोस् ।’