बलिउड गायक मिका सिंहमाथि आफ्नै समर्थकले निसाना साँधेका छन् । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफका नातेदारको बिहे पार्टीमा प्रस्तुति दिएपछि उनीसँग फ्यान चिढिएका हुन् ।
मिका पछिल्ला केही दिनदेखि कराँचीमा थिए । जब उनको प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा आयो, त्यसपछि समर्थकले कडा टिप्पणी गर्न थाले । संविधानको अनुच्छेद ३७० निस्प्रभावी बनाउँदै जम्मु–कास्मिरलाई केन्द्रशासित प्रदेश बनाउने भारतको निर्णयसँगै भारत–पाक सम्बन्धमा दारार आएको छ ।
पाकिस्तानले भारतसँगका सबै सम्बन्ध समाप्त भएको घोषणा गरेको छ । समर्थकका अनुसार यस्तो गम्भीर घडीमा मिकाले पाकिस्तानमा प्रस्तुति दिनु लज्जास्पद छ ।
एक समर्थकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिकाको पासपोर्ट र नागरिकता रद्द गरिनुपर्छ । उनलाई पाकिस्तानमै बस्न दिऊँ ।’ मिकाले ८ अगस्टमा प्रस्तुति दिएका थिए, भारतीय सञ्चारमाध्यमका अनुसार उनी १४ जनाको समूहमा गएका थिए र प्रस्तुतिबापत उनलाई एक करोड ६ लाख भारतीय रुपैयाँ मिलेको थियो ।