नेकपामा नवप्रवेशी भूमिकाविहीन

वर्ष दिनमा केन्द्रीय कार्यालयमा मात्रै ४ हजार नेता–कार्यकर्ता सत्तारुढ दलमा प्रवेश, तर कुनै जिम्मेवारी छैन

२०७६ श्रावण २९ बुधबार ०६:४४:००

१९ जेठमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका नेता पदम राईलाई स्वागत गर्दै नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल । फाइल तस्बिर

झन्डै दुईतिहाइ बहुमतका साथ चुनाव जितेको नेकपामा अरू पार्टीबाट प्रवेश गर्नेको ताँती चलिरहेकै छ । एकता भएको एक वर्ष भइसक्दा पनि नेकपाले आन्तरिक सांगठनिक व्यवस्थापन गर्न सकेको छैन । नवप्रवेशीलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरिरहेका छन् । पछिल्लो समयमा भने नवप्रवेशीहरूले भूमिका नपाएको गुनासो गर्न थालेका छन् ।

प्रतिबन्धित नेकपाको पोलिटब्युरो छाडेर सत्तारुढ दल प्रवेश गरेका पदम राईले नयाँ दलमा कुनै जिम्मेवारी पाएका छैनन् । १९ जेठमा नेकपा प्रवेश गरेका राईले पोलिटब्युरो सदस्य र प्रदेश नम्बर एकको सह–इन्चार्जको आश्वासन पाएका थिए । प्रचण्डले राईलाई भूमिका दिनेमा कुनै कन्जुस्याइँ नगरिने अमूर्त वाचा गरेका थिए ।

‘प्रवेश गर्दा एकसरो दुवै अध्यक्षसँग भेटेको थिएँ, दोहो-याएर भेटेको छैन,’ राईले भने, ‘मेरो बानी नै दबाब दिने खालको छैन । खै, अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन ।’ राई ०६४ सालमा अन्तरिम व्यवस्थापिकामा पनि सांसद थिए भने गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भौतिक योजना राज्यमन्त्री भएका थिए ।

२० असारमा नवगठित समाजवादी पार्टी त्यागेर सत्तारुढ नेकपा प्रवेश गरेका कल्पना धमला र देवेन्द्र पराजुलीले पनि केन्द्रीय समिति सदस्यको आश्वासन पाएका थिए । उनीहरू ६० जना नेता–कार्यकर्तासहित नेकपा प्रवेश गरेको घोषणा गरिएको थियो । ‘अध्यक्ष प्रचण्डले तपाईंसरहका साथीको जत्तिको भूमिका दिइन्छ भन्नुभएको थियो,’ पराजुलीले भने, ‘तर अहिलेसम्म भूमिका पाएको छैन ।’ पराजुली जनयुद्धकालीन अखिल(क्रान्तिकारी)को अध्यक्ष हुन् भने धमला डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा विज्ञान प्रविधिमन्त्री थिइन् । 

७ माघमा कांग्रेसबाट नेकपा प्रवेश गरेका पूर्वसांसद तथा चितवन जिल्लाका पूर्वसभापति तीर्थ भुसाललाई प्रदेश कमिटीमा राख्ने आश्वासन अध्यक्ष प्रचण्डले नै दिएका थिए, तर पार्टी प्रवेश गरेको ६ महिनासम्म पनि उनी भूमिकाविहीन छन् । ‘भुसालजीलाई प्रदेश कमिटीमा राख्न सकेनौँ,’ नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारले भने, ‘अब प्रदेश परिषद् वा सल्लाहकार समितिमा राख्न सिफारिस गरेका छौँ ।’ 

भुसाल ०५१ सालको निर्वाचनमा कांग्रेसबाट चितवनमा निर्वाचित भएका थिए । १३ साउनमा नेकपा प्रवेश गर्ने कांग्रेस पूर्वसांसद ओमदेवी मल्ल पनि अहिले जिम्मेवारीविहीन छिन् । 
नेकपा महासचिव विष्णु पौडेल पनि विभिन्न पार्टीबाट आउने नेता–कार्यकर्तालाई जिम्मेवारी दिन नसकेको स्विकार्छन् । ‘पार्टीभित्रैका साथीले पनि भूमिका पाउनु भएको छैन’ पौडेलले भने, ‘नवप्रवेशीलाई पार्टीभित्र उचित भूमिका दिइनेछ, त्यसमा कन्जुस्याइँ हुँदैन ।

देशभरिबाट प्रवेश  गर्नेको अभिलेख छैन
केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नेको मात्रै नेकपाले रेकर्ड राखेको छ । पूर्वएमाले  र पूर्वमाओवादीबीच एकता भएयता मात्रै ३ हजार ५ सयदेखि ४ हजारसम्म नेता कार्यकर्ता प्रवेश गरेको नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । ‘हामीले केन्द्रीय कार्यालयबाट प्रवेश गर्नेको मात्रै रेकर्ड राखेका छौँ, अध्यक्षद्वयनिवास र जिल्लाबाट प्रवेश गर्नेको तथ्यांक हामीसँग छैन ।’

प्रतिबन्धित नेकपाबाट सत्तारुढ नेकपा प्रवेश गरेका पदम राई भन्छन्–उता कारबाहीमा परेँ,यता पनि केही जिम्मा छैन

विद्रोही नेकपा छोडेर सत्तारुढ नेकपामा किन जानुभयो ? 
विप्लव नेतृत्वमा नेकपा बनाएपछि नयाँ तरिकाले संघर्ष गर्न सकिन्छ भन्ने थियो । तर, त्यस्तो लागेन । पार्टीको विचार राम्रो छ, संस्कारलाई हेर्दा कम्युनिस्ट भन्न नसकिने खालको छ । अनि म निरास भएँ । पार्टी सच्याउन प्रयास गरेँ । आफू सच्चिनेभन्दा मलाई पार्टीबाट निकालियो  । मैले वार्ताको कुरा उठाएँ । अहिले पनि वार्ता हुनुपर्छ भन्ने पक्षमै छु । देश द्वन्द्वमा गए राष्ट्रलाई क्षति हुन्छ । यदि कसैले युद्धबाट देशलाई फाइदा हुन्छ भन्ने ठानेको छ भने मूर्खता मात्रै हो ।

पहिले संसदीय कम्युनिस्टले केही गर्न सक्दैनन् भन्नुहुन्थ्यो, ती शक्तिहरू सच्चिएका हुन् त ?
हेर्नुस्, विप्लवजीले नेतृत्व गरेको पार्टी जंगेले शासन गरेकोजस्तै भयो । म पोलिटब्युरो सदस्य थिएँ । मैले वार्ताको विषय उठाउँदा निलम्बनमा परेँ। ३४ वर्षको राजनीतिक जीवनमा मैले कुनै अपराध गरेको थिइनँ । वार्ताको कुरा गर्दैमा निलम्बन गर्ने ? म त राजनीति गर्ने मान्छे, खरानी घसेर जोगी हुन सक्दिनँ । कहाँ सम्मान पाइन्छ भन्ने खोज्दै यहाँ (नेकपामा) आएँ ।

पार्टी प्रवेश गरेपछि के जिम्मेवारी पाउनुभयो त ? 
उहाँहरूले कुनै पद दिन्छु, भन्नुभएन । मैले यो पद दिए मात्रै आउँछु भनिनँ । म सपना देख्ने मान्छे हुँ । मैले राजनीति गरेको अर्थ हुनुप¥यो भन्ने हो । हिजो प्रचण्ड कमरेडलाई दलाल र गद्दार भन्याैँ । दलाल भनेकै मान्छेसँग जानुपर्दा कस्तो (पीडा) हुँदोरहेछ । तर, त्यहाँ जाँदा उहाँहरूका पनि पीडा रहेछन्, सपना रहेछन् । अन्तमा उहाँले देखेका सपना साकार पार्दै पीडाबाट मुक्त गर्नुपर्छ भन्ने लाग्यो । भएका कम्युनिस्ट पार्टीभन्दा राम्रो भनेर प्रवेश गरेको हुँ । प्रवेश गर्दा पनि गर्वले छाती फुलेको छैन । नेकपालाई सच्याएर राम्रो गर्न सकिन्छ कि भन्ने आशा छ ।

मूलधारबाहिर बस्दा कस्तो अनुभूति गर्नुभयो ? 
हेर्दा र भोग्दा पक्कै फरक हुन्छ । संसदीय व्यवस्थाबाट यति धेरै गर्न सकिँदैन । कतिपय मन्त्रीहरूलाई भेटेरै सुझाब दिऊँभन्दा भेटै नहुने । ती नेताहरू कसैलाई नभेटी बसेका पनि छैनन्, पूरा भिड छ । भिडले आफ्नो मात्रै कुरा गर्छ । सरुवा–बढुवा, ठेक्का–पट्टाको कुरा गर्नेले घेर्दा मन्त्रीहरूलाई खाना खाने फुर्सदसमेत छैन । यो व्यवस्थाकै कमजोरी हो ।

पार्टीभित्र जिम्मा नपाए के गर्नुहुन्छ ? 
प्रवेश गरिसकेपछि कहिले यता, कहिले उता जाने काम गर्दिनँ । नेकपालाई जति गाली गरे पनि योभन्दा अर्को राम्रो पार्टी छैन । नराम्रा पार्टीमध्येमा राम्रो पार्टी नेकपा हो, यसलाई सुधार्न सकिन्छ भन्ने आशा छ ।

आउँदा ताली पिट्छन्,जिम्मा दिन कन्जुस्याइँ गर्छन्
 

 कृष्ण खनाल,राजनीतिक विश्लेषक

राजनीतिक दलमा आउने–जाने र नयाँ मान्छेहरू प्रवेश गर्ने भई नै रहने प्रक्रिया हो । हाम्रो जस्तो स्थिर व्यवस्था नभएको मुलुकमा राजनीतिक संस्कार बसिसकेको छैन, राजनीतिक मूल्यमान्यता छैन । त्यो अवस्थामा पार्टी प्रवेश गर्ने र नयाँ पार्टी खोल्ने भई नै रहन्छ । यसलाई नियमित राजनीतिक प्रक्रियाका रूपमा लिन्छु ।

नेपालजस्तो मुलुकमा पार्टी प्रवेशका दुई मुख्य पक्ष जोडिएका छन् । एउटा, अवसरको पक्ष र अर्को चिन्तनको पक्ष  । कतिले आफू आबद्ध पार्टीमा चिन्तन, विचार, सिद्धान्त नमिलेर छोड्छन् । त्यो एकाध सन्दर्भमा मात्रै देखिन्छ । धेरैजसो नेता–कार्यकर्ताचाहिँ अवसरका लागि नै अर्को पार्टीमा प्रवेश गरेको देखिन्छ ।

सत्तारुढ नेकपाको एकता पूर्वघोषित नै थियो । यो पूर्वसर्तका साथ भएको हो । नेकपामा त्यो आकर्षण हिजो जति थियो, त्यो अहिले नहुन सक्छ । तत्काल नेकपासँग प्रतिस्पर्धा गर्न अर्को कम्युनिस्ट पार्टीले सक्दैन । त्यस्ता साना कम्युनिस्ट घटकबाट नेकपामा प्रवेश गरिरहेका देखिन्छन् । त्यस्ता घटकहरूबाट कि त नेकपामै प्रवेश गर्नुप¥यो, कि विप्लव (नेत्रविक्रम चन्द)हरूले जस्तै आँट गरेर भिन्न शक्ति देखाएर जान सक्नुप-यो । 

अहिले नेकपामा प्रवेश गरेका समाचार सुनिन्छन् । त्यसमा एउटा मुख्य कारण त अवसर नै हो । अर्को कारण आफू बसेको पार्टीमा सुरक्षा नदेखेपछि विकल्प खोजेको पनि हुन सक्छ । ठूलो पार्टी भएपछि सरकार बन्छ, सत्ता हुन्छ । सत्ता हुँदा अवसर दिन्छ ।

नयाँ नेता–कार्यकर्ता आउँदा बथान ठूलो हुने भयो भनेर सबैले ताली पिट्छन्, जब भूमिका देखिने वेला आउँछ, कन्जुस्याइँ सुरु हुन्छ र अन्तमा चित्त सानो बनाउँदा मनै फाट्छ

राजनीति गर्नेलाई कहिलेकाहीँ सानो पार्टीमा हुँदा भय हुन्छ । खास गरेर नेकपा र विभिन्न कम्युनिस्टभित्रको कुरा गर्दा विभिन्न विचार राखेर बाहिर बस्न सकिँदैन र सत्ताको मारमा परिन्छ कि भन्ने राजनीतिक भय पनि हुन सक्छ । त्यही भयका कारणले ठूलो पार्टीमा जानेको संख्या पनि हुन्छ । त्यस्तो संख्या सामान्यतः थोरै हुन्छ । ठूलो संख्या त फेरि पनि अवसरकै कारणले आउने हुन्छ ।

पार्टीहरू प्रायजसो परम्परागत र रुढिबद्ध हुन्छन् । भर्खर आएका (नवप्रवेशी) लाई किन ठाउँ दिने भन्ने धारणा पार्टीहरूमा बलियो हुन्छ । तत्कालीन एमाले–माओवादी एकता हुँदा आउने नेताको एउटा हैसियत भयो । त्यसभन्दा पछि एकतामा आएका नेता–कार्यकर्ताप्रति ‘पछि आएका हुन्’ भन्ने मानसिकताबाट हेरिन्छ, व्यवहार गरिन्छ (सायद) । त्यस्ता, नेता नै संगठनमा भूमिकाविहीन हुन्छन् ।

यो समस्या कम्युनिस्ट पार्टीमा मात्रै होइन, नेपाली कांग्रेसमा पनि ०४६ देखि ०४८ सालसम्म प्रवेशको लहरै चल्यो । कम्युनिस्ट–कांग्रेस दुवै पृष्ठभूमि बोकेका धेरै नेता–कार्यकर्ता त्यसवेला कांग्रेसमा प्रवेश गरे । अन्ततः त्यस्ता नेताहरू कतिपय निस्क्रिय बसे, केही पछि अरू पार्टीमा गए । त्यस्तै, अवस्था अहिले नेकपामा देखिएको छ । नेतामा क्षमता भयो भने उसले आफ्नो भूमिका बनाएर राम्रो काम गर्न पनि सक्छ । तर, विगतकै पृष्ठभूमिका आधारमा भने नवप्रवेशीले संगठनमा अवसर पाउन गाह्रो हुन सक्छ ।

पार्टीमा एकतापूर्वका दुई संगठनबाट सीधै जिम्मेवारीसहित आएका मान्छे (संस्थापन)मा एक खालको अहम् हुन्छ । उनीहरूमा ‘खास मान्छे हामी नै हौँ’ भन्ने दम्भ र अहंकार हुन्छ । त्यस्तो दम्भले अरूको उपस्थिति र हैसियतलाई स्वीकार गर्दैन । राजनीति गर्ने मान्छेलाई एउटा स्थान बनाउने लोभ धेरै हुन्छ । नयाँ नेता–कार्यकर्ता आउँदा बथान ठूलो हुने भयो भनेर सबैले ताली पिट्छन्, अबिर लगाउँछन् । जब भूमिका बाँडिने र देखिने वेला आउँछ, कन्जुस्याइँ सुरु हुन्छ र अन्तमा चित्त सानो बनाउँदा मनै फाट्छ ।

 

 

 

सम्बन्धित समाचार