मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भक्तपुर–८, वडा कार्यालयमा ट्यांकरबाट पानी भरिँदै । तस्बिर : नयाँ पत्रिका
२०७६ श्रावण २९ बुधबार ०६:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

भक्तपुरमा खानेपानी अभाव

उपभोक्ताले मागे जति पानी केयुकेएलले दिन सक्दैन, जथाभावी डिपबोरिङ, प्राकृतिक मुहान धमाधम सुक्दै

Read Time : > 2 मिनेट
२०७६ श्रावण २९ बुधबार ०६:२७:००

भक्तपुर नगरपालिका–८ मा रहेको लिवाली आवास क्षेत्रमा ६१० घरधुरी बस्छन् । तर, त्यसमध्ये १३० घरमा मात्रै खानेपानीको पाइप पुगेको छ । बाँकी करिब पाँच सय घरधुरीले पानी थाप्ने पालो नै पाउँदैनन् । उनीहरू दैनिक ट्यांकर र जारको पानी किनेर उपभोग गर्न बाध्य छन् । 

स्थानीय मात्र होइन, खानेपानीको समस्याले जनप्रतिनिधिलाई पनि सताएको छ । एक साताअघि ट्यांकरबाट वडा कार्यालयका लागि पानी भर्दै गरेका वडाध्यक्ष महेन्द्र खायमलीले भने, ‘उपभोक्ताले पानी थाप्न साताभरि कुर्नुपर्छ, हामीकहाँ मुहान छैनन्, केयुकेएलले दिएको पानीले हाम्रो प्यास मेटिएको छैन ।’ उनले खानेपानी वडाको मुख्य समस्याकै रूपमा रहेको बताए । लिवालीबाहेक वडाका अन्य क्षेत्रमा पनि खानेपानीको पर्याप्त सुविधा छैन । नगरपालिकाको क्षेत्रमा आफ्नै पानीको मुहान नहुँदा हाहाकार मच्चिएको हो । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड 
(केयुकेएल)ले भक्तपुरका सहरी क्षेत्रमा खानेपानी वितरण गर्दै आएको छ । तर, उसले उपभोक्ताले मागेजति पानी वितरण गर्न सकेको छैन । ‘धारामा आउने पानी पर्याप्त र पिउनयोग्य छैन, फोहोर र ढल मिसिएर दूषित पानी आउँछ, उपभोक्ताले सधैँ पानी किनेरै खानुपर्ने बाध्यता छ,’ वडाध्यक्ष खायमलीले भने ।

भक्तपुरमा दैनिक ८० लाखदेखि एक करोड लिटर खानेपानीको माग छ । तर, केयुकेएलले नगरकोटको मुहानपोखरीबाट करिब २० लाख लिटर र मध्यपुरथिमिको बोडेबाट करिब १५ लाख लिटर खानेपानी वितरण गरेको छ । वैकल्पिक व्यवस्था नभएको भन्दै महिनौँदेखि केयुकेएलले पालो मिलाएर ७–१० दिनमा एकपटक मात्रै पानी वितरण गरेको छ । 

 चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पनि उस्तै समस्या 
चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पनि खानेपानीको समस्या छ । वडाध्यक्ष शिवहरि केसी भन्छन्, ‘नयाँ बस्ती बढ्यो, जनसंख्या थपियो, तर पहिलेका मुहान सुके, खानेपानीको चरम समस्या छ ।’ चाँगुनारायणका अन्य वडामा पनि खानेपानीको समस्या रहेको वडाध्यक्ष केसी बताउँछन् । यहाँका अधिकांश वडामा प्राकृतिक मुहान र डिपबोरिङसमेत गरी पानी उद्योग सञ्चालित छन् । तर, प्राकृतिक मुहान सुक्ने क्रम पनि तेब्बरले बढेको स्थानीय बताउँछन् । 

सूर्यविनायक नगरपालिकामा पनि केही वडामा खानेपानीको समस्या छ । ‘पहिले सबैले प्राकृतिक मुहानकै पानी पिउँथे, अहिले मुहान सुकेर पानीको अभाव सुरु भएको छ,’ पूर्वाधार समितिका संयोजक रवीन्द्र सापकोटा भन्छन्, ‘मुहान व्यवस्थापन गरेर एउटै आयोजनामार्फत समानुपातिक रूपमा खानेपानी वितरण गर्ने तयारी छ ।’ भक्तपुरका भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका बासिन्दा पानीको समस्या लिएर नगरपालिका र केयुकेएल धाउने गरेका छन् । तर, नगरपालिका र केयुकेएल दुवैले खानेपानीको राम्रो प्रबन्ध मिलाउन सकेका छैनन् । 

 ट्यांकरबाट ढुवानी गरेर वितरण
खानेपानी समस्या सुल्झाउन भक्तपुर नगरपालिकाले दुईवटा ट्यांकरबाट दैनिक निःशुल्क पानी वितरण गरेको छ । ‘आवश्यक पर्दा अन्य ट्यांकर भाडामा समेत लिने गरिएको छ, आफ्नै ट्यांकरले नियमित १० देखि १२ ट्यांकर पानी वितरण गर्छन्,’ वडाध्यक्ष रवीन्द्र ज्याख्यले भने । खानेपानी समस्या सुल्झाउन नगरपालिकाले पहल गरेको, तर स्रोत अभावले समस्या भइरहेको उनले बताए । यहाँका ठूला व्यवसायी र होटेलले भने ट्यांकरबाट पानी ढुवानी गर्ने र उपभोग गर्ने गरिरहेका छन् । 

 जथाभावी डिपबोरिङ 
प्राकृतिक मुहान सुकेपछि भक्तपुरमा जथाभावी डिपबोरिङ मौलाएको छ । नगरपालिका र केयुकेएल आफैँले पनि डिपबोरिङ गरेर पानी वितरण गरिरहेका छन् । कतिपय व्यक्ति र समुदाय मिलेरसमेत आफ्नै लगानीमा डिपबोरिङ गर्ने र पानी उपभोग गर्नेक्रम बढेको छ । खाली ठाउँमा जथाभावी डिपबोरिङ गर्ने र पानी वितरण गर्ने गरेको पाइएको छ ।

भक्तपुर नगरपालिकाले मात्रै सल्लाघारी, भक्तपुर क्याम्पसनजिकै, ७ नम्बर वडा कार्यालयअगाडि, लिवाली, तुमचो दुगुरे आवास क्षेत्र र पुरानो जगाती क्षेत्रमा गरी ६ ठाउँमा डिपबोरिङ गरेर पानी वितरणको तयारी गरिरहेको छ ।

नगरपालिकाले केही योजना केयुकेएलसँग सहकार्य गरेर र बाँकी केही आफ्नै लगानीमा समेत सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । चालू आवमा खानेपानी ट्यांकी निर्माण र पाइप व्यवस्थापनका लागि नगरले दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष ज्याख्यले बताए । 

जनप्रतिनिधि भन्छन्– खानेपानीको समस्या नै प्रमुख चुनौती 
वडा नम्बर–९ का अध्यक्ष रवीन्द्र ज्याख्य वडावासीले दुई गाग्रा पानी थाप्न ७–९ दिनसम्म कुर्नुपर्ने अवस्था रहेको बताउँछन् । भन्छन्, ‘पहिलेका इनार, ढुंगेधारा र मुहान सुके, अहिले वडामा मात्रै होइन, नगरपालिकाकै अधिकांश ठाउँमा खानेपानी मुख्य चुनौती बनेको छ ।’ वडा नम्बर–२ का अध्यक्ष हरिप्रसाद वासुकला पनि वडामा खानेपानीकै समस्या रहेको बताउँछन् । ‘नगरक्षेत्रमा खानेपानीको समस्या बढ्दो छ, हामी जनप्रतिनिधि दिगो समाधानको खोजी गरिरहेका छौँ,’ उनले भने । 

मध्यपुरथिमि नगरपालिका–३ मा पनि खानेपानी व्यवस्था चुनौती बनेको छ । वडाध्यक्ष प्रेमबहादुर कुटु भन्छन्, ‘शुद्ध र पर्याप्त पानी पाइने अवस्था छैन, अब मेलम्ची आएपछि मात्रै यहाँ खानेपानीको समस्या सुल्झिन्छ ।’ मध्यपुरथिमि नगरपालिकाको बोडे र लोकन्थलीबाट केयुकेएलले पानी संकलन गरेर वितरण गरेको छ । यहाँको पानी काठमाडौंतर्फ लगिएको छ । तर, यहाँकै बासिन्दाले भने पर्याप्त पानी पिउन नपाएका वडाध्यक्ष कुटु बताउँछन् । खानेपानी व्यवस्थापनका लागि नगरपालिकाले बर्सेनि करोडौँ रुपैयाँ खर्च गरिरहेको छ ।