मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ट्याक्टरबाट खानेपानी वितरण गरिँदै 
२०७६ श्रावण २९ बुधबार ०६:२२:००
Read Time : > 1 मिनेट
समाचार

बेनीमा खानेपानीको चरम अभाव

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०६:२२:००

जिल्ला सदरमुकाम बेनीमा खानेपानीको चरम अभाव भएको छ । बेनी–जोमसोम सडकको गलेश्वरदेखि राहुपारेखण्ड विस्तारका क्रममा पाइप फुटेका कारण खानेपानी आपूर्ति नहुँदा खानेपानी आभाव भएको हो । पाइपलाइनमा क्षति पुगेपछि दुई महिनादेखि खानेपानीको सहज आपूर्ति हुन नसकेको बेनीका खेम केसीले बताए । उनका अनुसार बेनी बजारका अधिकांश घरमा वैकल्पिक स्रोत नभएका कारण खानेपानी संकट भएको हो । 

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठका अनुसार सडक विस्तार जारी रहेकाले पाइपलाइन मर्मत गरे पनि पुनः पाइप फुट्ने समस्या छ । यसकारण यो समस्या तत्काल समाधान हुने अवस्था छैन । ‘हामीले दैनिक पाइपलाइन मर्मत गरेका छौँ, तर सडक विस्तारका क्रममा पाइप भाँचिने र क्षति भइहाल्छ । खानेपानीको नयाँ पाइपलाइन निर्माण नगरेसम्म दीर्घकालीन रूपमा समस्या हल नहुने देखिएपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छाैं,’ अध्यक्ष श्रेष्ठले भने । पाइपलाइन मर्मत गरेर शनिबार दिउँसोदेखि पुम्दीखोलाको मुहानबाट खानेपानी आपूर्ति गरिए पनि राति नै पाइपलाइन फुटेपछि आपूर्ति बन्द भएको थियो ।  

एक हजार ५० घरधुरी उपभोक्ताका लागि बेनीमा प्रतिसेकेन्ड २५ लिटर खानेपानी आवश्यक पर्ने खानेपानी संस्थाले जनाएको छ । निर्माण कम्पनीले समन्वय नगरी जथाभावी डोजर चलाउँदा पाइपलाइनमा भाँचिने र फुट्ने गरेको छ । यस्तै, पहिरोले पनि पाइपलाइनमा असर गरिहेको छ । खानेपानी आपूर्ति अवरुद्ध हुँदा बेनीका सर्वसाधारण, होटेल व्यवसाय र सरसफाइमा समस्या भएको छ । 

बेनी–जोमसोम–कोरला सडक ११ मिटर चौडा बन्दै
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत गलेश्वरदेखि राहुपारेखण्डको चार किलोमिटर क्षेत्रमा शर्मा–युनाइटेड जेभीले सडक विस्तार गरिरहेको छ । हाल ६ मिटर चौडा रहेको यो सडकलाई ११ मिटर चौडा  बनाउन लागिएको हो । 

उपभोक्ताको धारामा नियमित पानी आपूर्ति हुन नसकेपछि बेनी बजारमा ट्र्याक्टर र दमकलबाट पानी ढुवानी गरेर वितरण गरिएको छ । बेनी नगरपालिका, वडा कार्यालय, बेनी खानेपानी उपभोक्ता संस्था, युवा क्लब र टोल सुधार समितिको समन्वयमा बेनीका टोल टोलमा पिउनेपानी वितरण हुँदै आएको छ । कालीपुल, क्याम्पसचोक, न्युरोडको एभरग्रिन, दोभान र मंगलाघाटको बौद्ध युवा क्लबले खानेपानी वितरणमा सहजीकरण गरिरहेका छन् ।

त्यसैगरी, बेनीका व्यवसायी कुलदीप जुग्जालीले करिब एक महिनादेखि नै व्यक्तिगत लगानीमा ट्र्याक्टरमा ड्रम राखेर खानेपानी वितरण गर्दै आएका छन् । बजारका हार्डवयर व्यवसायीले खानेपानी वितरणका लागि ड्रम उपलब्ध गराएका छन् । बेनीनजिकका मुहानबाट ड्रममा राखेर टोलटोलमा पुर्‍याएर वितरण गरिएको खानेपानीलाई पानीलाई उमालेर र शुद्धीकरण गरेर मात्रै उपभोग गर्न आग्रह गरेको बेनपा–७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।