Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पुष्प कोइराला
२०७५ पौष १ आइतबार ०७:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

७२ किमि रेलमार्गको ८० देखि ९० प्रतिशत भागमा पुल वा सुरुङ

Read Time : > 1 मिनेट
पुष्प कोइराला
२०७५ पौष १ आइतबार ०७:५६:००

काठमाडौं/ केरुङ–काठमाडौं रेल्वेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न करिब अढाई वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । प्रारम्भिक अध्ययनले दुईदेखि तीन अर्ब रुपैयाँ डिपिआरमा खर्च हुने देखाएको छ । त्यो खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लागेको छैन ।

७२ दशमलव २५ किलोमिटर लामो रेलमार्गबारे चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । चिनियाँ नेसनल रेल्वे अथोरिटीका उपमन्त्री आन लुसुनले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई पूर्वप्रारम्भिक अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका छन् । 

चिनियाँ अधिकारीले तिब्बतको सिगात्से, केरुङदेखि काठमाडौंसम्म रेलमार्गको डिपिआरका लागि अढाई वर्ष लाग्ने जानकारी गराइसकेका छन् । ‘यसमा कसले कति खर्च गर्ने भन्ने विषयमा छलफल हुन बाँकी छ,’ नेपाली अधिकारीले भने, ‘चीनले के–कति लगानी गर्ने, नेपालले के गर्ने भन्ने विषयमा अब छलफल हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने । रेलमार्ग निर्माणको खर्च र समय त डिपिआरले मात्र तय गर्नेछ । 

पूर्वसम्भाव्यता अध्ययन पूरा भइसकेकाले अब रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति बैठकमा भएको सचिव अधिकारीले जानकारी दिए ।

८० देखि ९० प्रतिशत भागमा पुल र सुरुङ
७२.२५ किलोमिटर लामो सो रेलमार्गमा ८० देखि ९० प्रतिशत भागमा पुल र सुरुङ बनाउनुपर्ने अध्ययनले देखाएको छ । रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणका लागि कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । रेलमार्गबारे विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न गत वैशाखमा चिनियाँ पक्षसँग सम्झौता भएको थियो । चाइना रेल्वे फस्र्ट सर्वे एन्ड डिजाइन इस्टिच्युटले अध्ययन प्रतिवेदन तयार पारेको हो । 

४ हजार मिटरभन्दा बढी उचाइको तिब्बती पठारबाट १३ सय मिटरको काठमाडौंको ओरालोमा रेल ल्याउनेबारे भौगोलिक प्राविधिक विविध अध्ययन गर्नुपर्ने भएकाले अध्ययनमा धेरै रकम लगानी हुने देखिएको छ । 

यसअघि गत वैशाख र भदौमा नेपाल र चिनियाँ रेल्वे संयन्त्रको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणताका काठमाडौं–केरुङ रेलमार्ग अनुदानमा बनाइदिन चीनसमक्ष नेपालले प्रस्ताव गरेको भए पनि सो रेलमार्ग निर्माणको मोडालिटीबारे हालसम्म टुंगोे लाग्न सकेको छैन । 

कुन आयोजनाको डिपिआर लागत कति ?
फास्ट ट्र्याकको डिपिआर १० करोड १२ लाख 

काठमाडौं–निजगढ ७६ किलोमिटरको फास्ट ट्र्याक (एक्सपे्रस वे)को डिपिआर सुरुमा भारतीय परामर्शदाता कम्पनी आइएल एन्ड एफएसले तयार गरेको थियो । डिपिआरमा ६१ करोड रुपैयाँ खर्च भएको उसको दाबी थियो तर, नेपालले सो डिपिआर खरिद गरेन । हाल सो मार्ग निर्माणको संयोजना गरिरहेको नेपाली सेनाले १० करोड १२ लाख रुपैयाँमा डिपिआर तयार पार्ने गरी कोरियन कम्पनी सुसुङलाई जिम्मा दिएको छ । 

पूर्व–पश्चिम रेलमार्गको डिपिआर १ अर्ब ५० करोड
पूर्व–पश्चिम रेलमार्गको डिपिआर तयार पार्ने काम विभिन्न नौवटा प्याकेजमा गरिएको थियो । सो रेगमार्ग पूरैको डिपिआर तयार पार्न झन्डै एक अर्ब ५० करोड रुपैयाँ लागेको रेल विभागले जनाएको छ । 

बुढीगण्डकीको डिपिआर तयार पार्न ९७ करोड 
गोरखा र धादिङको सीमामा निर्माण हुने बुढीगण्डकी जलविद्युत् आयोजनाको डिपिआर ०७१ मा तयार पारिएको हो । सो आयोजनाको डिपिआर फ्रान्सेली कम्पनी ट्र्याक्टवेलले तयार पारेको हो । सो आयोजनाको डिपिआर तयार पार्न करिब ९७ करोड रुपैयाँ लगानी भएको थियो ।