मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २९ बुधबार ०६:०८:००
Read Time : > 1 मिनेट
समाचार

बेलको जुस उद्योगले गाउँमै रोजगारी

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०६:०८:००

म्याग्दे गाउँपालिका–२ साठीमुरेका बासिन्दाले वनमा खेर गइरहेको बेल संकलन गरी जुस निकाल्न थालेका छन् । गाउँपालिकाका ६ वटा सामुदायिक वन उपभोक्ता समितिले उद्योग दर्ता गरी बेलको जुस बनाउन थालेका हुन् । 

उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठका अनुसार बर्दिया र रामेछाप जिल्लाको भ्रमणका क्रममा बेलबाट जुस बनाएको देखेपछि सिको गरिएको हो । ‘त्यहाँ बेल खरिद गरेर जुस बनाउँदा रहेछन्, जसले उनीहरूको आम्दानी पनि राम्रो भइरहेको रहेछ । त्यो दृश्यले मलाई पनि जंगलमा  खेर गइरहेको बेलको सदुपयोग गरी जुस बनाउन सकिन्छ भन्ने लाग्यो । त्यसैले गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समिति मिलेर उद्योग खोलेका हौँ ।’ भिरपानी, उमाचोक, सिद्धबतासना, ज्यान्ट्याङ, बरच्याङ र पोसिली सामुदायिक वन उपभोक्ता समितिले रकम संकलन गरी उद्योग दर्ता गराएका हुन् । 

१० जनालाई प्रत्यक्ष रोजगारी
बेलको जुस निकाल्ने उद्योगले यस क्षेत्रका १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अप्रत्यक्ष रोजगरीमा पनि धेरै रहेको सञ्चालक विष्णुकुमार श्रेष्ठले बताए । फुर्सदिला महिलाले गाउँ घरमै काम र आय आर्जन गरिरहेको उनको भनाइ छ । उद्योग स्थापनाबाट स्थानीय स्तरमा आम्दानीको स्रोत बढ्नुका साथै वन संरक्षणसम्बन्धी चेतान पनि बढेको छ । यहाँका ६ वटा सामुदायिक वनका उपभोक्ता मिलेर चार लाख ६० हजार संकलन गरी ०७२ मा उद्योग स्थापना गरेका हुन् । 

गत वर्ष उद्योगबाट १५ हजारभन्दा बढी बोतल बेलको जुस उत्पादन भएको थियो । यस वर्ष भने त्यसभन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर रानाभाटले बताए ।

जुसको माग निरन्तर बढ्दो
बेलको जुस प्रतिबोतल दुई सय १० रुपैयाँका दरले बिक्री भइरहेको छ । मानव स्वास्थ्यलाई बेलको जुसले फाइदा हुने भएकाले यसको माग बढिरहेको रानाभाटले बताए । एक बोतल बेलको जुसमा चार बोतल पानी मिसाएर पिउन सकिने उनको भनाइ छ । नमुना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बजारमा पाइने जुसभन्दा बेलको जुसको मूल्य कम तोकेको छ । अहिले उद्योगमा करिब एक लाखबराबरको जुस भण्डारण गरिएको छ । 

प्रचारप्रसार कम भए पनि बेलको जुस बहुउपयोगी भएकाले यसको माग बढ्दै गएको उद्योग सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार उद्योगमा डिभिजन वन कार्यालय तनहुँ, हरियो वन, घरेलु तथा साना उद्योग विकास समितिलगायत कार्यालयबाट करिब ३० लाख लगानी भइसकेको छ । जुस बनाउन सुरु गरेपछि माग पनि बढेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । जुसले स्मरण शक्ति, पाचन शक्ति बढाउने, शरीरलाई स्वस्थ र स्फूर्ति बढाउनुका साथै पेटसम्बन्धी समस्यामा पनि राहत मिल्ने विश्वास गरिन्छ । उत्पादित जुस जिल्लाको दमौली, दुलेगौँडा, आँबुखैरेनी, पोखरा, काठमाडौंलगायय सहरमा खपत हुँदै आएको छ ।