१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २९ बुधबार ०६:१३:००
Read Time : > 1 मिनेट
समाचार

दाङका जनप्रतिनिधिले दुई वर्षमा किने आठ करोडका गाडी

सबै स्थानीय तहद्वारा अध्यक्ष तथा प्रमुखलाई गाडी र वडाध्यक्षलाई मोटरसाइकल खरिद

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०६:१३:००

दाङका स्थानीय तहले जनप्रतिनिधिका लागि करिब आठ करोड रुपैयाँबराबरको सवारीसाधन खरिद गरेका छन् । कानुनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सवारीसाधनको सुविधा पाउने उल्लेख छ ।

सोही कानुनलाई टेकेर चर्को मूल्यका सवारीसाधन खरिद गरिएको हो । स्थानीय तहमा नियमविपरीत उपप्रमुखदेखि वडाध्यक्षसम्मका लागि सरकारी सवारीसाधन खरिद गरिएको छ । दाङमा तुलसीपुर र घोराही गरी दुई उपमहानगरपालिका, लमही नगरपालिका र सातवटा गाउँपालिका छन् । 

घोराही नगर प्रमुखका लागि ६१ लाखको कार
तुलसीपुर उपमहानगरले जनप्रतिनिधिका लागि सवारीसाधनमा एक करोड ३२ लाख लाख रुपैयाँ खर्च गरेको छ । २० वटा मोटरसाइकल तथा नगर प्रमुख र प्रशासकीय अधिकृतका लागि महँगो मूल्यको गाडी खरिद गरिएको छ । उपमहानगरपालिकाले मारुती कार एक, टाटा जिप एक, १५० सिसीको मोटरसाइकल एक थान र १२५ सिसीको मोटरसाइकल २० वटा खरिद गरेको उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलले बताए ।

नगर प्रमुख घनश्याम पाण्डेका लागि करिब ५२ लाख पर्ने गाडी खरिद गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत ३९ लाखको मारुती कार चढ्छन् । १९ वटा वडा कार्यालय र एक जनस्वास्थ्य महाशाखाका लागि २० वटा मोटरसाइकल ४१ लाख १४ हजार ३७९ मा खरिद गरिएको सूचना अधिकारी खरेलले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा गाडी खरिद गर्न एक करोड ६२ लाख ८८ हजार रुपैयाँ खर्च गरिएको छ । उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी चढ्ने गाडीको बजारमूल्य ६१ लाख हो । उपप्रमुख सीता सिग्देल न्यौपानेले प्रयोग गरेको जिपको मूल्य ३५ लाख छ ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले ४० लाखको गाडी चढ्दै आएका छन् । घोराहीका १३ वडाध्यक्षका लागि नगरले एक लाख ६८ हजार मूल्यका १६ वटा खरिद गर्दा २६ लाख ८८ हजार खर्च गरेको छ । त्यस्तै, बबई गाउँपालिकामा सवारीसाधनका लागि ८० लाख ९४ हजार रुपैयाँ खर्च गरिएको छ । गाउँपालिका प्रमुखका लागि ५० लाखको स्कोर्पियो, उपप्रमुखका लागि स्कुटर र वडाध्यक्ष र अन्य शाखाका लागि १३ वटा विभिन्न कम्पनीका मोटरसाइकल किनिएको छ । 

गाउँपालिका अध्यक्ष ५० लाखको गाडी चढ्छन्
शान्तिनगर गाउँपालिकाले गाडी खरिदमा ७६ लाख ५० हजार रुपैयाँ सकेको छ । गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी ५० लाखको गाडी चढ्छन । उपाध्यक्ष मिथिला शाहले भने पल्सर बाइक चढ्दै आएकी छन् । प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीका अनुसार वडाध्यक्षहरूका लागि दुई लाख ५० हजार मूल्यका सातवटा मोटरसाइकल खरिद गरिएको छ । 

त्यसैगरी, बंगालाचुली गाउँपालिकाले सवारीसाधन खरिदमा ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । अध्यक्ष भक्तबहादुर वलीले साढे २३ लाख मूल्य पर्ने गाडी चढ्दै आएका छन् । उपाध्यक्ष यमुना घर्तीका लागि दुई लाख २५ हजार रुपैयाँको मोटरसाइकल खरिद गरिएको छ । पालिकाले आठजना वडाध्यक्षलाई दुई लाख ५० हजार मूल्यबराबरको १५० सिसीको पल्सर मोटरसाइकल खरिद गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए ।

दंगीशरण गाउँपालिकाले ७६ लाख ८० हजार रूपैयाँ सवारीसाधनका लागि खर्च गरेको छ । अध्यक्ष र उपाध्यक्षले ६० लाखबराबरको स्कार्पियो गाडी प्रयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । 

रहर नभई आवश्यकता : जनप्रतिनिधि
सवारीसाधनमा चर्को रकम खर्च गरेका स्थानीय तहका जनप्रतिनिधिले सवारी किन्नु रहर नभई आफूहरूको बाध्यता भएको बताउँदै आएका छन् । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले कामको चापका कारण सवारीसाधनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । ‘पहिले गाविसको भन्दा अहिले धेरै काम छ । प्रदेशदेखि केन्द्रसम्म पुग्नुपर्ने हुन्छ । गाडीको प्रयोग नगरी सम्भव हुँदैन,’ उनले भने ।