मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २८ मंगलबार ११:२७:००
Read Time : > 1 मिनेट
प्रदेश

पोलिक्लिनिकहरूमा अनुगमन  : सञ्चालकहरू सटर  बन्द गरेर फरार 

Read Time : > 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ११:२७:००

स्वास्थ्य कार्यालय सिरहाले सदरमुकाम लहान र जिल्लाका विभिन्न ठाउँमा निजीस्तरबाट अवैध रूपले सञ्चालित पोलिक्लिनिकहरूको सोमबार आकस्मिक अनुगमन गरेको छ । अवैध रूपले सञ्चालित आठ अस्पतालसहित १४ वटा पोलिक्लिनिकलाई संस्था बन्द गरेको जानकारी गराउन स्वास्थ्य कार्यालयले सात दिने अलिटमेटमसहित २१ जेठमा पत्र काटेको थियो । अटेर गरेपछि करिब दुई महिनापछि स्वास्थ्य कार्यालयले लहान क्षेत्रमा रहेका पाँचवटा पोलिक्लिनिककोे आकस्मिक अनुगमन गरेको हो । 

इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमल राजभण्डारी, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्रप्रसाद यादव, प्रशासन प्रमुख उमेशलाल कर्ण, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरूको टोलीले लहान–१ मा सञ्चालित लीलामदन पोलिक्लिनिक, लहान–३ स्थित हिमालय डेन्टल क्लिनिक, शिवोदेव हेल्थकेयर बन्द गराएको छ ।

सञ्चालकहरू फरार
अनुगमन टोली आएको थाहा पाएपछि सञ्चालकहरू सटर बन्द गरेर फरार भएका थिए । अनुगमन टोलीमा रहेका स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. यादवका अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० (संशोधनसहित) अनुसार सञ्चालन स्वीकृति लिएका अस्पताल तथा पोलिक्लिनिकको पुनः दर्ता र नवीकरणको म्याद समाप्त भएकाले बन्द गर्न पत्राचार गरिएको थियो । तर, अटेर गरेपछि अनुगमन गरिएको हो । ‘अस्पताल तथा पोलिक्लिनिकहरूको नवीकरण म्याद समाप्त भएपछि पुनः दर्ता नवीकरणका लागि दिइएको म्यादसमेत गुज्रेपछि बन्द गर्ने निर्देशनसहितको पत्र काटेका थियौँ,’ उनले भने, ‘उक्त पत्रको पनि बेवास्ता गरिएपछि अनुगमन गरी सात दिनभित्र स्वास्थ्य कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ ।’ 

अनुगमन टोलीले सोमबार लीलामदन पोलिक्लिनिक, सेराज पोलिक्लिनिक, हिमाल डेन्टल क्लिनिक, त्रिशक्ति हेल्थ केयर र शिवोदेव चाइल्ड हेल्थ केयरको अनुगमन गरेको हो । ‘अनुगमन गरिएकामध्ये कतिपयको दर्ता नवीकरण नरहेको र कतिपयले स्वीकृति पाएका बाहेकका सेवा पनि सञ्चालन गरेकाले सेवा बन्द गरी सात दिनभित्र कागजातसहित स्वास्थ्य कार्यालयमा हाजिर हुन निर्देशन दिएका छौँ,’ इलाका प्रशासन प्रमुख राजभण्डारीले भने ।
 
 पत्रको बेवास्ता
 स्वास्थ्य कार्यालयले अवैध रूपले सञ्चालित जिल्लाका आठ अस्पतालसहित १४ वटा पोलिक्लिनिकहरूलाई संस्था बन्द गरी जानकारी गराउन २१ जेठमा सात दिने पत्र काटेको थियो । ‘त्यसमध्ये दुईवटाले दर्ता नवीकरणका लागि कागजात बुझाएका छन्,’ स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख उमेशलाल कर्णले भने, ‘त्यसबाहेकका कसैले न नवीकरणका लागि कागजात बुझाएका छन् न त सम्पर्कमा नै आएका छन् ।’

स्वास्थ्यले सिरहाको लहान–३ स्थित डिभाइन हेल्थकेयर अस्पताल, लहान ४ स्थित कामना नर्सिङ होम प्रालि र फ्रेन्डस् मोडल हस्पिटल प्रालि, लहान–८ स्थित लहान लाइफ केयर हस्पिटल प्रालिलाई बन्द गर्न पत्र काटिएको प्रशासन प्रमुख कर्णले बताए । यनका अनुसार गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल प्रालि, माँ धमिनी हस्पिटल प्रालि, मिर्चैयास्थित रेखा नर्सिङ केयर एन्ड डाइग्नोस्टिक प्रालिसहित आठवटा अस्पताललाई संस्था बन्द गर्न पत्र काटिएको थियो । 

लहान–८ स्थित आदित्य मेडिकल केयर, अल्फ्रेड हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरले नवीकरणका लागि कागजात बुझाएको उनले बताए । लहान अस्पताल चोकस्थित बेस्ट राधाकृष्ण डेन्टल क्लिनिक र लहान–१ स्थित लीलामदन पोलिक्लिनिक, धनगढीको छपराढीस्थित मदरल्यान्ड पोलिक्लिनिक र मिर्चैयाको सलहेश पोलिक्लिनिकलाई पनि बन्द गर्न पत्र काटेको भए पनि अटेर गरेको प्रशासन प्रमुख कर्णले जानकारी दिए ।