१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २८ मंगलबार १०:५५:००
Read Time : > 1 मिनेट
प्रदेश

डडेल्धुरामा  बाँदरआतंक  

अन्नबाली बाँदरले खान थालेपछि खेतबारी बाँझै छोडेर युवा विदेश पलायन

Read Time : > 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार १०:५५:००

बाँदरले अन्नबाली खान थालेपछि जिल्लाका विभिन्न गाउँका किसान चिन्तित बनेका छन् । खेतीपातीबाट जीविकोपार्जन गरिरहेका किसान बढ्दो बाँदर आतंकबाट हैरान परेका हुन् । बाँदरले घरभित्रै पसेर भण्डारणका लागि अन्नपातसमेत खान थालेको स्थानीयले गुनासो गरेका छन् । 

जिल्लामा रहेका सातवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ । बाँदरले खेतमा लगाएको मकैबाली, दाल तथा तरकारीबाली सबै नष्ट गर्ने गरेको उनीहरूको गुनासो छ । विगत ६–७ वर्षदेखि बाँदर आतंकले सताएको अमरगढी नगरपालिका—१ की स्थानीय पार्वती ताम्राकारले बताइन् । ‘खाना पकाएर अन्य कामका लागि बाहिर गएको वेला बाँदरले घरभित्र पसेर सबै खाइदिन्छ,’ उनले भनिन्, ‘दिनभर बाँदर धपाउँदा एकातिर घरको काम छुटेको छ भने अर्कोतर्फ घरभित्र राखेको खानेकुरा पनि बाँदरले बाँकी राख्दैन ।’

बाँदरले खेती नष्ट गर्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने वेला आएको कृषकको भनाइ छ । विगतमा बाँदर धपाएर बाली संरक्षण गरिएकोमा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले मानिसलाई आक्रमण गर्ने गरेको अमरगढी—८ की बिस्ना गैरालले बताइन् । ‘लगाएको अन्नबाली बाँदरले खान थालेपछि किसानहरू खेतबारी बाँझै छोडेर विदेश पलायन हुने क्रम बढ्दो छ,’ उनले भनिन्, ‘केटाकेटीलाई त बाँदरले पनि टेर्दैन ।’

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । तर, कृषकले भने राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । गाउँमा मान्छेभन्दा बाँदर धेरै आउने गरेको अमरगढी—७ अमरपुरकी इन्दिरा ताम्राकारले बताइन् । उनले भनिन्, ‘सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गर्दासमेत दिएनन् ।’

उनले बाँदर धपाउन स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने बताइन् । बाँदरआंतक बढेपछि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेश्वर गाउँपालिका—१ का रमेशबहादुर ठकुराठीको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ ।

जिल्लामा रहेका सातवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ । कृषकले बाँदर व्यवस्थापन एवं क्षतिपूर्तिको माग गर्दै आए पनि त्यसबारे स्पष्ट नीति नहुँदा अन्योल बढेको छ । नेपाल कृषिप्रधान देश भएकाले बाँदर न्यूनीकरणका लागि पहल गरेर कृषि उत्पादनमा जोड दिने अमरगढी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नरबहादुर साँकीको भनाइ छ ।

वडाअध्यक्षले धपाएर बाँदर आतंक न्यूनीकरण नहुने भएकाले समाजका सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ । जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतंकले मुख्य खाद्यबालीको रूपमा रहेको मकै बचाउन कठिन देखिएको छ ।

जंगली जनावरको आतंक न्यूनीकरणका लागि अजयमेरु गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर २ मा तारजालीको व्यवस्था गरेको अजयमेरु गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष शिवराज भट्टले बताए । जंगली जनावरबाट अन्नबाली जोगाउन गाउँपालिकाका ६ वटै वडामा तारजालीको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।