सुरक्षा बढाउँदै ओजिल

२०७६ श्रावण २८ मंगलबार ०९:५५:००

आर्सनलका स्ट्राइकर मेसुट ओजिल दुई साताअघिको अज्ञात समूहको हमलापछि निकै तर्सिएका छन् । यतिवेला उनी सुरक्षा घेराविना कहीँ पनि जाँदैनन् । यतिसम्म कि अब घरमा रहँदा पनि उनले सुरक्षा लिएका छन् । उत्तरी लन्डनको व्यस्त सडकम आक्रमण भएपछि ओजिललाई सुरक्षा व्यवस्था मिलाइएको हो । यद्यपि, सुरक्षा घेरामा रहँदा पनि ओजिललाई अहिले पनि केही समूहले धम्की दिने गरेको ब्रिटिस मिडियाले जनाएका छन् ।

ओजिल सुत्नुअघि आफैँ पनि सुरक्षासम्बन्धी घरमा जाँचबुझ लिने गर्छन् । सुरक्षाकर्मीले उनको घरमा तालिमप्राप्त केही कुकुरको बन्दोबस्त गरेका छन् । आइतबार इंग्लिस प्रिमियरसिपको खेलपछि ओजिल घर पुग्दा सुरुक्षाकर्मीले गस्ती गरिरहेको तस्बिर ब्रिटिस एजेन्सीले पोस्ट गरेका छन् । सुरक्षाकर्मीले कुकुरलाई घरको चारैतिर निरीक्षण गराएका तस्बिर पनि पोस्ट भएका छन् ।