मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०९:१२:००
Read Time : > 1 मिनेट
खेलकुद

पिएसजीमा नेमार अलोकप्रिय

Read Time : > 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०९:१२:००

दुई वर्षअघि बार्सिलोनाबाट १९ करोड ८० लाख पाउन्डमा पेरिस जेन्ट जर्मेन (पिएसजी)मा अनुबन्ध हुँदा नेमार जुनियरको वाहवाही थियो । पिएसजी विश्वकै उत्कृष्ट युवा फुटबलर भित्र्याउन सकेकोमा निकै दंग पर्‍यो । नेमारको मार्केट भ्यालुअनुसारै क्लबको पनि उचाइ बढ्ने विश्वास पिएसजीको थियो । नेमारको बलमै पिएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबल जित्ने सपना देख्यो । तर, नेमारले पिएसजीको सपना पूरा गर्न सकेनन् । 

रंगशालामा नेमारको विरोध
पहिलो सिजनमा नेमारको पिएसजीमा ठिकै चल्यो । तर, दोस्रो सिजनमा नेमार त्यति चलेनन् । उनी मैदानमा भन्दा बेन्चमै बढी समय रहे । स–साना ट्याकलमा समेत नेमार घाइते हुनाले दिक्क भइसकेको पिएसजी पछिल्लो समय उनको व्ययभारले समेत स्तब्ध रहँदै आएको छ । यसका कारण समर्थक अब उनको विरोधमै उत्रिएका छन् । पिएसजीले सोमबार फ्रेन्च वान लिगको उद्घाटन खेलमा निमेसमाथि ३–० को जित निकाल्दा रंगशालामा नेमारविरोधी ब्यानरले व्यापक स्थान पाएका थिए । 

पिएसजी छाड्न सल्लाह
पिएसजीका समर्थकले ‘नेमार तिमीलाई बाहिर जान छुट छ’ जस्ता शब्दावली लेखिएका ब्यानर टाँसेका थिए । फ्रेन्च लिग वान सुरु हुँदा पनि नेमार मैदानमा नदेखिँदा समर्थक रिसाएको एएफपीले जनाएको छ । ‘तल्कालै नेमारले क्लबका अध्यक्षसँग कुराकानी गरी समस्याको सामाधान निकाल्नुपर्छ,’ पिएसजीका एक समर्थकले एएफपीसँग भने, ‘हामी घाइते खेलाडी हेर्न आएका होइनौँ ।’ नेमारविना मैदानमा उत्रिएको पिएसजीका लागि केलियन एम्बाप्पे, एन्डिसन काभानी तथा एन्जेल डी मारियाले एक–एक गोल गरेका थिए । 

कोपामा समेत बाहिर
नेमारलाई चोटले सताएको लामै समय भइसकेको छ । चोटकै कारण घरमै आयोजना भएको कोपा अमेरिका फुटबलमा समेत नेमारले प्रतिस्पर्धा गर्न पाएनन् । एक दशकपछि ब्राजिलले कोपा अमेरिका जित्दा नेमार सहयात्री हुन सकेनन् । गत साता पिएसजीले सिजनकै पहिलो उपाधि जित्दा पनि नेमार बेन्चमै सीमित थिए । युवा खेलाडी एम्बाप्पेले उपाधि जितको खुसीयाली मनाइरहँदा नेमारलाई धकेलिदिएका थिए । एजेन्सीका अनुसार पिएसजीका सिनियर खेलाडीले समेत नेमारलाई मन पराउन छाडेका छन् । यसले गर्दा उनको पिएसजीमा रहने सम्भावना कमजोर छ ।