युद्धले सधैँ जितिँदैन

२०७६ श्रावण २८ मंगलबार ०८:५५:००

जबसम्म यस धर्तीमा घाँस उम्रिरहनेछ, त्यतिवेलासम्म आक्रमणकारीविरुद्ध लड्ने योद्धा जन्मिरहनेछन्’– भियतनामी नेता हो ची मिन्हले साम्राज्यवादविरुद्ध लड्दा दिएको अभिव्यक्ति हो यो । यही भनाइको प्रभावले भियतनामी योद्धा निर्भीकतापूर्वक सम्राज्यवादविरुद्ध सन् १९३० देखि १९७५ सम्म निरन्तर लडिरहे । फलस्वरूप हो ची मिन्हको नेतृत्वमा भियतनामका योद्धाहरूले फ्रान्स, बेलायत, जापान र अमेरिकाजस्ता साम्राज्यवादलाई परास्त पारे ।

कपास उद्योगमा काम गर्ने दासको मनोकांक्षालाई मालिकले बुझ्न नसक्दा सन् १८६० देखि १८६५ सम्म अमेरिका गृहयुद्धमा फस्यो । जुन वेला अमेरिकामा काला जातिका मानिसलाई दास बनाउने प्रथा थियो । तर, जब अब्राहम लिंकनको नेतृत्वमा दासलाई मुक्ति दिलाउने आन्दोलनले सफलता हासिल गर्‍यो, त्यसपछि समग्र निग्रो दासले आधारभूत स्वतन्त्रता र नागरिक अधिकार प्राप्त गरे । 

अमेरिकी स्वतन्त्र संग्रामको प्रभाव फ्रान्समा परिरहेका वेला १७७३ मा लुई १६औँ सत्तामा पुगेपछि सत्ता र राजसंस्थाप्रति जनताको आक्रोश झनै बढ्दै गयो । जनता आक्रोशित भइरहेका वेला लुई १६औँले एटेस्ट जनरललाई कुलीन वर्ग, पुरोहित वर्ग र सामान्य जनता गरी तीन वर्गमा वर्गीकृत गरिदिए । कुलीन वर्गले राजाका मन्त्रीको क्रियाकलाप स्विकारेका थिएनन् । राजाले ढुकुटी समाप्त पारेर त्यसको भार किसानमाथि थोपरेको उनीहरूको आरोप थियो । यी कारण देखाउँदै जनता राजसंस्थाको विरोधमा उत्रिँदा सन् १७८६ मा औद्योगिक संकट उत्पन्न भयो ।

जनताको आन्दोलनले आर्थिक मन्दी लाग्यो । वस्तुको मूल्यवृद्धिले जनता अनिकाल खेप्न बाध्य भए । राजनीतिक घटनाक्रम विकराल बन्दै गएपछि राजा भाग्नुपर्ने अवस्था बन्यो । पछि जनताले राजालाई फाँसी दिए । त्यसको झन्डै सय वर्षपछि सन् १८७१ मा पेरिसमा कम्युनको नाममा मजदुर र सर्वहाराको शक्तिशाली सत्ता निर्माण भयो । जुन सत्ताले विश्वमा चमत्कार देखायो । तथापि, त्यो कम्युनिस्ट सरकार सय दिन नपुग्दै अपदस्त भयो । 

चार सय वर्षको अवधिमा विभिन्न राजनीतिक विचार र सिद्धान्तले फ्रान्सलाई विश्वमा शक्तिमान राष्ट्रको रूपमा परिचित गरायो । धेरै कठिन दिन पार गर्दै फ्रान्स विकास र समृद्धिको बाटोमा लाग्यो । लुई १६औँदेखि इम्यानुएल म्याक्रोनसम्मको राजनीतिक व्यवस्था र शासन पद्धति र नेपालको सन्दर्भ एकै खालको पाइन्छ । किरातकालीन राजतन्त्रात्मक शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक उतारचढाव, फेरबदल र परिवर्तनका पाटा हेर्दा दुवै देशमा राजतन्त्रात्मक व्यवस्था जनताले समाप्त गरे ।

समय हेर्ने हो भने फ्रान्सले तीन सय वर्षअघि नै राजा र राजसंस्था आवश्यक नरहेको घोषणा ग¥यो, नेपालले तीन सय वर्षपछि । समयको लामो अन्तर भए पनि फ्रान्स र नेपालमा राजसंस्था फ्याँक्ने भूमिकामा कम्युनिस्टको सहभागिता देखिन्छ । फ्रान्समा दक्षिणपन्थीको राजनीतिक योजना भत्काउने र राजाको शासन ढाल्ने कम्युनिस्ट थिए । तर, अहिले फ्रान्समा इम्यानुएल म्याक्रोनको विरुद्धमा ‘एल्लो भेस्ट’ लगाई ढुंगामुडा गर्न उग्रवामपन्थी कम्युनिस्ट र दक्षिणपन्थी एकै ठाउँमा देखिएका छन् ।

नेपालमा सरकारको नेतृत्व गर्ने पनि कम्युनिस्ट छन् र विद्रोह गर्ने पनि कम्युनिस्ट । मौका कुरेर बसिरहेका धार्मिक अतिवादी, दक्षिणपन्थी अनुदारवादी र उग्रवामपन्थी शक्तिको चाहना संघीयता र गणतन्त्र मास्ने हो । वर्तमान कम्युनिस्ट सरकारको मुख्य काम त्यसको खुलेर मुकाबिला गर्ने हो । कम्युनिस्टको काम विरोध गर्ने मात्र होइन, विश्वमा हेर्ने हो भने धेरै मुलुकमा कम्युनिस्टले राम्रो गरेका छन् । तर, नेपालमा एउटा कम्युनिस्ट पार्टी बन्दुकको सिरानी बनाई जंगलमा सुतिरहेको छ भने, अर्को सिंहदरबारमा लालपरेड देखाइरहेको छ ।

युद्ध मानवीय भावना र व्यवहारको खिलाफ हुन्छ, त्यसैले यो घातक र अमानवीय हुन्छ, सभ्य समाजमा यसको कुनै स्थान हुँदैन

जनताका आधारभूत अधिकार खोस्ने, शोषण, दमन र अत्याचार गर्ने कार्य राज्यबाट भयो भने अधिकार प्राप्तिका लागि जनताले विद्रोह गर्छन् । विद्रोहबाट राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन भएका उदाहरण छन् । नेपालको सन्दर्भमा ००७ सालमा अधिकार प्राप्तिका लागि गरिएको संघर्षले ल्याएको परिवर्तन एतिहासिक उपलब्धि हो भन्न हिच्किचाउनुनपर्ला । त्यही परिवर्तनको जगमा विभिन्न प्रकारका आन्दोलन र संघर्ष झेल्दै अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ ।

जुन अहिलेसम्मकै ठूलो उपलब्धि हो । अहिले जुन–जुन राष्ट्र शक्तिशाली छन, ती देश एक समय अभाव, संकट, युद्ध र क्रान्तिमा गाँजिएर विविध समस्याले थिलथिलो भएका थिए । फ्रान्स, भियतनाम, अमेरिकाका आन्तरिक युद्धको उदाहरणले यसलाई प्रस्ट पार्छ । 

आदिम समाजदेखि आधुनिक समाज विकाससम्म हेर्ने हो भने सरल र सहज ढंगले विकास भएको पाइँदैन । अन्तर्निहित पीडा हेर्दा हिंसा प्रमुख देखिन्छ । किनकि, समाजले आफ्नो सामाजिक मूल्य–मान्यता स्थापित गर्न अर्को मूल्य–मान्यतालाई समाप्त पारेका घटनाका इतिहासमा धेरै भेटिन्छन् । त्यसो गर्न एक जातिले अर्को जातिको विनाश गरेको देखिन्छ । के अब मानिस मर्न तयार छन् ?

त्यो सोचनीय विषय हो । तसर्थ हिंसा र द्वन्द्व राजनीतिक होस् वा सामाजिक, एक हदसम्म एक पक्षलाई लाभकर देखिएला । यसको दूरगामी असर नराम्रो नै हुन्छ । त्यसैले यसको व्यवस्थापन आजको विश्वको सबैभन्दा प्रमुख कार्य हो । भनिन्छ, विकासका लागि विद्रोह, युद्ध र क्रान्ति जरुरी छ । क्रान्तिको माध्यमबाट मात्र विकास र आर्थिक, सामाजिक रूपान्तरण हुन्छ । तर, युद्धले राजनीतिक परिवर्तन ल्याउँछ, विकासको होइन ।

युद्ध मानवीय भावना र व्यवहारको खिलाफ हुन्छ । त्यसैले यो घातक र अमानवीय हुन्छ । सभ्य समाजमा यसको कुनै स्थान हुँदैन । तथापि कुनै समय युद्ध पनि आवश्यक हुन्छ । निरपेक्ष र शास्त्रीय क्रान्तिकारी दर्शनका भरमा व्यक्तिगत स्वार्थपूर्ति गर्न गरिने क्रान्तिले देशलाई संकटको दलदलमा मात्रै फसाउँछ  । 

(राई पाटन संयुक्त क्याम्पसका पूर्वस्ववियु सभापति हुन्)

सम्बन्धित समाचार