मनको बाजा सुनेर गीत लेखेँ

रचनागर्भ

२०७६ श्रावण २८ मंगलबार ०८:३९:००

शीतल कादम्बिनी, गीतकार

ओइ झुमा, ओइ झुमा, 
ओइ झुमा झुम्कावाली...

०७१ सालमा विष्णु भट्टले सुदूरपश्चिमको फ्लेवर आउने धुन बनाएर मलाई दिएका थिए । त्यही मेलोडीमा मैले गीत तयार पार्नु थियो । त्यो मेलोडीमा रचना गरेको गीत साँच्चिकै हिट हुन्छ भन्ने मलाई लाग्यो । रातभरि नसुती मैले गीत तयार पारेँ– ओइ झुमा, ओइ झुमा, ओइ झुमा झुम्कावाली ।

बिहानीपख गीतका शब्द पढ्दा आफैँलाई मज्जा लाग्यो । दुई/तीनपटक पढेपछि मलाई ती शब्द कण्ठस्थ भए । विष्णु भाइलाई फोनबाटै सुनाएँ । उनी खुसीले गदगद् भए । सुरूमा उनले देउडा शैलीको मेलोडी बनाएका थिए । त्यसले मेरो मनभित्रै ड्रमसेट बजिसकेको थियो । अनि मनको बाजा सुनेर मैले गीत लेखेँ ।

पछि फेरि विष्णुले ‘स्याड सङ’ गर्छु, लेखिदिनुस् भने । उनलाई स्याड सङ नै लेखिदिएँ । ‘झुम्कावाली’ गाउने अवसर भने प्रमोद खरेलले पाए । त्यतिवेलै किरण कँडेलको स्टुडियोमा प्रमोदलाई भेटेकी थिएँ । उनले ‘झुम्कावाली’का शब्द सुन्नेबित्तिकै मन पराइहाले । त्यसको संगीत अर्जुन पोखरेलले तयार पारे ।

तर, विष्णुको मेलोडीलाई परिवर्तन गरेर मलाई सुन्न बोलाए । सुरूमा भजनजस्तो लाग्यो । तर, अर्जुनले ‘यो गीत हिट भएन भने मलाई कहिल्यै कम्पोजिसन गर्न नदिनू’ भने । त्यसपछि ‘ए वान म्युजिसियन’मा अर्जुनको संगीत, मेरो शब्द र प्रमोद खरेलको स्वरमा यो गीत रेकर्ड भयो ।