मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २८ मंगलबार ०८:३०:००
Read Time : > 1 मिनेट
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४२ प्रतिशत काम सकियोे 

Read Time : > 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०८:३०:००

गत असार मसान्तसम्ममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ४२ प्रतिशत काम सकिएको छ । तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिले काम गरिरहेको अयोजना प्रमुख विनेश मुनकर्मीले बताए । आयोजनाका अनुसार विमानस्थलको धावनमार्गको ढलानको सबै काम सकिएको छ । आयोजना प्रमुख मुनकर्मीले साइड सम्याउने काम पनि सकिएको बताए । एप्रोन निर्माण, जहाज पार्किङ गर्ने स्थल निर्माणको काम सकिएको छ । टर्मिनल विल्डिङ, हेंगर विल्डिङ, कार्गो, एटिसीलगायतका अन्य गरी झन्डै दर्जन भवन निर्माण कार्य एकैसाथ चलिरहेको छ । हेंगरको ढलान कार्य सकिएर स्टिल स्टक्चरको कामसमेत सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि चासोसमेत बढ्यो
११ जुलाई २०१७ मा निर्माण सुरु भएको यस विमानस्थल १० जुलाई २०२१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल निर्माणको काम धमाधम अघि बढ्दै गर्दा केही हवाई सेवाप्रदायक कम्पनीले यस विमानस्थलमा आफ्ना लागि पूर्वाधार बनाउन चासो बढाएका छन् । बुद्ध एयर, हिमालयन एयर र एउटा चिनियाँ विमान उडान कम्पनीले हेंगरलगायतका पूर्वाधार बनाउने चासो राखेको अयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । बुद्ध एयरले विमानस्थल सम्पन्न हुनासाथ आफ्नो नियमित ११ उडान गर्ने जनाइसकेको छ । त्यस्तै अन्य निजी हवाई उडान कम्पनीहरूले समेत चासो राखेका छन् । 

विमानस्थलको प्रधानमन्त्री केपी ओलीले १ वैशाख ०७३ मा सिलान्यास गरेका थिए । त्यसअघि उनकै चीन भ्रमणका वेला ८ चैतमा विमानस्थल निर्माण गर्न दुई देशीय ऋण सम्झौता भएको थियो । विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने सर्त छ ।

शिलान्यास भएको एक वर्ष काम भएन 
विमानस्थल निर्माणको शिलान्यास १ वैशाख ०७३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत उपस्थितिमा गरेका थिए । चिनियाँ एक्जिम बैंकले नागरिक उड्डयन प्राधिकरणले एयरपोर्टको सबै आम्दानी धरौटी राख्नुपर्ने कडा सर्त राखेका कारण ऋण स्वीकृत हुन ढिलाई भएको तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिए । जसका कारण एक वर्ष निर्माण ढिलो हुन पुगेको थियो । पछि ऋण प्रवाहमा केही लचिलो प्रणाली अपनाएका कारण ऋण स्वीकृति भयो र एक वर्ष ढिला गरी निर्माण थालनी भएको हो ।
 
विमानस्थल सफल पार्नैपर्ने चीनलाई बाध्यता 
गेजुवालगायत अधिकांश चिनियाँ कम्पनी नेपालमा ठेक्का सम्झौता गर्ने तर समयमा काम गर्न नसक्ने लिस्टमा छन् । जसका कारण नेपालमा चिनियाँ ठेकेदार कम्पनी बदनाम हुन सक्ने खतरा बढाइदिएको छ । यस्तो अवस्थामा चीनले नेपालमा समयमा काम सम्पन्न गरेर राम्रो सन्देश दिन पनि यस विमानस्थलको काम समयमा सक्ने गरी काम गर्ने विश्वास नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए । एक्जिम बैंक खोलेका सबै देशले हाम्रोजस्तो मुलुकमा आफ्नो सर्तबमोजिम काम गराउने गरेको र आफ्नै देशका ठकेदारले समेत निर्माण जिम्मा लिने भएकाले निर्माणको कामले तीव्रता पाउने अपेक्षा उनको छ । ‘यस आयोजना समयमा सम्पन्न गरेर राम्रो सन्देश दिनका लागि पनि चिनियाँ ठेकेदार कम्पनीहरूले तदारुकता साथ काम गर्लान् भन्ने अनुमान हामीले गरेका छौँ,’ उनले भने ।