मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०७:५९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो ओमिबायोसिस ?

Read Time : > 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०७:५९:००

ओमिबायोसिस शरीरको ठूलो आन्द्रामा प्रोटोजोवाको संक्रमणबाट हुने रोग हो । विभिन्न माध्यमबाट इन्टामोका टिस्टोलिटीका नामक प्रोटोजोवा शरीरमा प्रवेश गरेपछि ओमिबायोसिस हुने गर्छ । खासगरी वर्षायाममा ओमिबायोसिस बढी देखिने गर्छ । फोहोर वातावरण, खानेकुरा छिट्टै सड्ने, जथाभावी पानी जम्ने र फोहोर हुने भएकाले यो मौसममा बढी जोखिम रहने गर्छ । ओमिबायोसिस संसारभर देखिए पनि दक्षिण एसियामा बढी समस्या छ । प्रोटोजोवा एकदेखि चार हप्तामा पूर्ण रूपमा विकसित भइसकेको हुन्छ ।

लक्षण  

  •  कुनै पनि माध्यमबाट एन्टोमिबा हिस्टोलिटीका नामक प्रोटोजोवा मुखको सम्पर्कमा आएपछि खाद्यनली हुँदै ठूलो आन्द्रामा गएर बस्छ । जसले बिस्तारै ठूलो आन्द्राको भित्तामा असर गर्न थाल्छ । ओमिबायोसिसको संक्रमण बढ्दै गएपछि आन्द्रामा अल्सर, खकार उत्पादनमा वृद्धि, रक्रश्राव र पखाला लाग्नेजस्ता समस्या देखिन थाल्छन् ।
  •  बिस्तारै बिरामीमा बान्ता हुने, ज्वरो आउने र कडा खालको डायरिया अर्थात् दिशासँगै रगतसमेत देखापर्न थाल्छ । पेटमा ग्यास भरिने, तौल घट्दै जाने र छालामा समस्यासमेत हुन सक्छ । कतिपयमा अत्यधिक पेट दुख्ने समस्या पनि हुने गर्छ । 
  •  कतिपय अवस्थामा अमिबा विकसित भएर दिमागमा पनि जान सक्छ । जुन निकै घातक हुन्छ । अमिबा दिमागमा पुगेमा स्वाद र बास्ना महसुस गर्ने क्षमतामा परिवर्तन हुने, ज्वरो आउने, एक्कासि टाउको दुख्ने, भ्रम हुने, बान्ता हुने, ह्याल्युसनेसन हुने, शरीर ब्यालेन्स नहुने आदि लक्षण देखिन थाल्छन् । 
  •  यस्ता लक्षण एकदमै छोटो समयमै देखिन थाल्छन् । शरीरमा अमिबा छिटो फैलिने भएकाले पनि जोखिमपूर्ण हुने गर्छ ।  

कारण

  •  फोहोर पानी र खानेकुराबाट अमिबाको संक्रमण हुने गर्छ । खासगरी दूषित पानीको सम्पर्कले अर्थात् जमेको पोखरी वा तलाउमा पौडी खेल्दा, फोहोर पानी चलाउँदा, दूषित पानी पिउँदा अमिबाको संक्रमण हुन सक्छ । 
  •  फोहोर खानेकुरा, बासी, भुइँबाट टिपेर खाँदा, काँचै खाइने खानेकुरा सफा नगरी खाँदासमेत अमिबाको संक्रमण हुन्छ । 
  •  यसबाट रोगप्रतिरोधी क्षमता कम भएका व्यक्ति बढी प्रभावित हुने गर्छन् । 
  •  संक्रमित व्यक्तिसँगको सम्पर्क, चुम्बनबाट पनि अमिबा सर्न सक्छ । 

कसरी बच्ने ?

  •  काँचै खाइने खानेकुरा राम्ररी सफा गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ । 
  •  दूषित पानी र खानेकुरा खानुहुँदैन । बाहिरबाट आएपछि राम्ररी हातमुख धोएर मात्र खानेकुरा खान सकिन्छ । 
  •  दूषित पानीको सम्पर्कमा सकेसम्म जानुहुँदैन । 
  •  लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । अमिबाको प्रोटोजोवा शरीरमा एकदमै छोटो समयमा फैलिनसक्ने भएकाले घातक हुने गर्छ । तसर्थ, छिटो उपचार गर्नुपर्ने हुन्छ । 
  •  ओमिबायोसिस भएमा औषधिको सेवनबाट निको पार्न सकिन्छ । ग्यास्ट्रोइन्टेस्टनल भइसकेको अवस्थामा शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ ।