मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार ११:४८:००
Read Time : > 1 मिनेट
खेलकुद

राखेपमा ११७४ व्यक्तिको पेस्की बेरुजु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार ११:४८:००

राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट विभिन्न समयमा पेस्की लिएका एक हजार एक सय ७४ व्यक्तिको पेस्की बेरुजु देखिएको छ । उक्त बेरुजुको रकम एक अर्ब ३५ करोड छ । नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले राखेपको कमजोर आर्थिक प्रशासनको खुलासा गरेका हुन् । उनका अनुसार यो पेस्की बेरुजु पञ्चायतकालदेखिको हो । सदस्य–सचिव सिलवालले तीन पूर्वखेलकुदमन्त्रीले समेत पेस्की फस्र्योट नगरेको खुलासा गरे । 

राखेपले आइतबार आर्थिक वर्ष ०६७/७७ को योजना कार्यान्वयन सम्बन्धमा आयोजना गरेको गोष्ठीमा सदस्य–सचिव सिलवालले भने, ‘हामीसँग कमजोर आर्थिक प्रशासनको नमुना छ । पेस्की लिने अनि फस्र्योट नगर्ने गलत संस्कर बढेको छ । पेस्की लिएका कतिपय व्यक्ति बितिसक्नुभएको छ । कतिपयको घर–ठेगाना नै थाहा छैन । ठेगाना थाहा भएका कतिपयले पेस्की फस्र्योट गर्न चासो दिनुभएको छैन । अझ लाजलाग्दो कुरा तीन–तीनजना पूर्वमन्त्रीले समेत पेस्की फस्र्योट गर्नुभएको छैन ।’

सदस्य–सचिव सिलवालले पेस्की फस्र्योट नगर्ने पूर्वमन्त्रीको नाम भने खुलाएनन् । उनले अब आफ्नो कार्यकालमा आर्थिक प्रशासनलाई चुस्त बनाउने बताए । त्यसका लागि एकपटक पेस्की लिएका व्यक्तिलाई त्यसको फस्र्योट नगरेसम्म अर्काे पेस्की नदिइने स्पष्ट पारे । राखेपले आर्थिक वर्ष ०६७÷७७ मा सरकारले खेलकुद सम्बन्धमा तय गरेको परियोजनाको समयमै कार्यान्वयनका लागि आफूअन्तर्गतका इन्जिनियर, क्षेत्रीय प्रमुख, लेखा अधिकृत र विभागीय प्रमुखहरूका लागि गोष्ठीको आयोजना गरेको हो ।

पेस्की फस्र्योट नगर्नेमाथि कारबाही भएन
राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले आफू अघिल्लोपटक उपाध्यक्ष रहँदा पनि पेस्की बेरुजुको ठूलो समस्या बेहोरेको बताए । उनले पेस्की रकम लिएर फस्र्योट नगर्नेलाई कारबाहीका लागि सिफारिस गर्दासमेत अहिलेसम्म त्यसको सुनुवाइ नभएको बताए । 

‘म अघिल्लो कार्यकालमा उपाध्यक्ष रहँदासमेत पेस्की बेरुजुको यस्तै समस्या थियो । त्यसवेला खेल संघहरूको पेस्की फस्र्योटसम्बन्धी बेरुजु मिलान समितिमा बसेर काम गरेको थिएँ,’ उपाध्यक्ष तिम्सिनाले भने, ‘हामीले धेरै मिहिनेत गर्दासमेत १७ करोडबाट ११ करोडसम्म मात्रै पेस्की मिलान गर्न सकेका थियौँ । कतिपयले त्यसवेला रकम नै ल्याएर बुझाएका थिए । पेस्की फस्र्योट नगर्ने बाँकीलाई कारर्बाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्दासमेत अहिलेसम्म त्यसको कार्यान्वयन भएको देखिएको छैन ।’ तिम्सिना अघिल्लोपटक युवराज लामा सदस्य–सचिव हुँदा पनि राखेपमा उपाध्यक्ष थिए । 

कोलेनिकाको सुझाब, ‘समयमै काम सक्नुहोस्’
कार्यक्रममा उपस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय ­(कोलेनिका)का प्रमुख भोजराज पौडेलले कुनै पनि आर्थिक समस्याबाट बच्न राखेप पदाधिकारी र कर्मचारीलाई समयमै परियोजना सम्पन्न गर्ने गरी काम गर्न सुझाब दिए । ‘सरकारले घोषणा गरेका कुनै पनि परियोजना अघि बढाउन तपाईंहरूले अख्तियारी पाइसक्नुभएको छ,’ कोलेनिका प्रमुख पौडेलले भने, ‘त्यसलाई समयमै सक्ने गरी प्रक्रिया अघि बढाउनुहोस् । 

‘खरिद योजना बनाएर काम गर्नू’
यस्तै, महालेखा परीक्षक दामोदर पुडासैनीले खरिद योजना बनाएर काम गर्न सुझाब दिए । त्यसरी काम गरिएको अवस्थामा समयमै काम सकिने र कुनै पनि किसिमको आर्थिक समस्या नआउने उनले बताए । ‘हाम्रो देशमा कुल विकास खर्चको ४१ प्रतिशत असार महिनामा मात्रै हुने गरेको छ,’ उनले भने, ‘यही अवस्थाले समस्या निम्त्याउने हो । तपाईंहरू खरिद योजना बनाएर काम गर्नुहोस् । 

खेलकुद पूर्वाधारको अध्ययन गर्दै महालेखा
महालेखा परीक्षक पुडासैनीले महालेखा परीक्षकको कार्यालयले नेपाली खेलकुदको भौतिक पूर्वाधारको अध्ययन गरिरहेको जानकारी दिएका छन् । अध्ययन पूरा भएपछि त्यसको प्रतिवेदन संसद् हुँदै सरकारलाई बुझाउने तयारी भएको उनले बताए । ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान खेलकुद पूर्वाधार कमजोर भएको भन्नेबारे धेरै गुनासा आए । पौडी प्रतियोगिता होटेलमा गरेका समाचार आए । खेलाडीले प्रतिस्पर्धा गर्ने वेला जुत्तासम्म लगाउन नपाएका गुनासा पनि आए,’ उनले भने, ‘त्यसैले हामीले नै एउटा टोली बनाएर खेलकुदको भौतिक पूर्वाधारको अध्ययन थालेका छौँ । प्रतिवेदन तयार भएपछि संसद् हुँदै सरकारलाई बुझाउनेछौँ ।