गत साताको अन्तिम कारोबार दिन ओरालो लागेर बन्द भएको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । आइतबार नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबारमा रकम पनि घटेको छ । पुँजीगत लाभकरको विवाद समाधान नभएका कारण बजार ओरालो लागेको हो । सेयर बिक्री गर्न ल्याप्चे लगाउन ब्रोकर कार्यालयसम्म पुग्नुपर्ने झन्झटका कारण लगानीकर्ता निराश भएका छन् ।
सेयर बजार बढ्ने सिजनमा पनि यस्तो विवादका कारण नेप्से ओरालो लागेपछि लगानीकर्ताको मनोबल पनि घटेको एक ब्रोकरले बताए । सूचीकृत कम्पनीहरूले नाफामूलक वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । बजारमा सेयरको मूल्य पनि सस्तो भइसकेको छ । कम्पनीहरूले लाभांश घोषणा गर्न अब धेरै समय बाँकी छैन । यस्तो समयमा पनि बजार नबढ्नु भनेको लगानीकर्ताको मनोबल नै घटेको उनको बुझाइ छ । नियामक निकायहरूले विवादको अन्त्य गरे बजारले चाँडै नै सकारात्मक दिशा लिने एक लगानीकर्ताले बताए ।
बजार सारांशः
आइतबार नेप्से परिसूचक ४ दशमलव ८४ अंक घटेर १ हजार २ सय ३३ दशमलव ७१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ४० अंक घटेर २ सय ६७ दशमलव ६० बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २१ अंक घटेको छ । यस दिन १ सय ६६ कम्पनीको १७ हजार २२ पटकको कारोबारमा ३१ करोड १७ लाख ५६ हजार ८ सय ५६ रुपैयाँबराबरको ११ लाख ४५ हजार ५ सय ७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ३४ दशमलव ८९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।
एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ३४ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीमध्ये ३५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय २ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २९ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।
यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार २ सय २९ दशमलव ४२ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय २५ दशमलव १३ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार २ सय ३८ दशमलव १९ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ४२ दशमलव ६७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।
एनसिसिबीको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएको नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसिबी) को सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन २४ रुपैयाँ घटेर २ सय १८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सो बैंकले भदौ २३ गते सोमबार बीसौँ र एक्काइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सो सभामा गत आवको मुनाफाबाट १५ दशमलव ८९ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।
बैंकले साधारणसभा तथा बोनस सेयर वितरण प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्ने घोषणा गरेको थियो । सोअनुसार बैंकको यस दिन मूल्य समायोजन हुनुपर्ने थियो । तर, नेप्से यस दिन बैंकको मूल्य समायोजन गरेन । समायोजन नभए पनि सो कम्पनीको सेयरमूल्य यस दिन कारोबार खुलेदेखि नै १० प्रतिशत घटेको थियो । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पाँचथर पावर कम्पनीको सेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य यस दिन ९ दशमलव ११ प्रतिशत बढेको छ ।
७ समूहको परिसूचक रातो, ५ को हरियो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ७ समूहको परिसूचक घटेर रातो भएको छ भने ५ समूहको परिसूचक बढेर हरियो भएको छ । व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक ५ दशमलव ३४ प्रतिशत बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक शून्य दशमलव ८१ प्रतिशत, अन्य समूहको शून्य दशमलव २६ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव २५ प्रतिशत र वित्त समूहको शून्य दशमलव २ प्रतिशत बढेको छ ।
कारोबारमा आएको जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ७९ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको शून्य दशमलव ६५ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ४५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४३ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव २७ प्रतिशत घटेको छ ।
रसुवागढी र सान्जेनको सर्वाधिक कारोबार
सूचीकृत भएको दिनदेखि नै नकारात्मक सर्किट लागेको रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी यस दिन कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । रसुवागढीको यस दिन ६ हजार ३ सय ७५ पटकको कारोबारमा ४ करोड ५९ लाख ५९ हजार रुपैयाँबराबरको २ लाख १७ हजार ९ सय ८२ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
सो कम्पनीको सेयरमूल्य दिनभरिको उतार–चढावपछि २ सय १४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सान्जेनको यस दिन ५ हजार ६ सय ६९ पटकको कारोबारमा २ करोड ७९ लाख ९७ हजार रुपैयाँबराबरको १ लाख २४ हजार २ सय १६ कित्ता सेयर खरिद–बिक्री भएको छ । सो कम्पनीको सेयरमूल्य अघिल्लो दिनको तुलनामा ९ रुपैयाँ बढेर २ सय ३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रकम यस दिन १ करोड नाघेको छ ।
हिमाल दोलखाको आइपिओ संस्थापकका लागि
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन २६ देखि कम्पनीका संस्थापक, सञ्चालकलगायतका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । सो निष्कासनमा कम्पनीका संस्थापक सेयरधनी, सञ्चालक वा निजहरूको एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा कम्पनीको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओमा पूर्ण आवेदन नपरेका कारण संस्थापक तथा सञ्चालकका लागि बिक्री खुला गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
मल्टिपर्पोजको हकप्रदमा आवेदन दिने म्याद थप
मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि १ बराबर ८ दशमलव ६५ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिन म्याद थप गरेको छ । सो हकप्रद सेयरमा अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
सो हकप्रद सेयरमा असार ११ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेयरधनीले सिभिल क्यापिटल, मल्टिपर्पोज फाइनान्सको केन्द्रीय कार्यालय, सिभिल बैंकको विराटनगर, नारायणघाट, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी तथा वीरेन्द्रनगर शाखा कार्यालय र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।