मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण २७ सोमबार ०९:५३:००
Read Time : > 2 मिनेट
नयाँCity

जाम घटाउने १२ उपाय : रिङरोडमा रेल सहरमा अन्डर पास

Read Time : > 2 मिनेट
२०७६ श्रावण २७ सोमबार ०९:५३:००

काठमाडौंमा गाडी धेरै भएर होइन, ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बढी जाम भइरहेको छ । विकसित मुलुकले पनि यस्तो समस्या भोगिसकेका छन् । युरोपेली मुलुकका कतिपय सहरमा काठमाडौंमा जस्तै साना सडक छन् । ती मुलुकले स्मार्ट व्यवस्थापनबाट जाम घटाएका हुन् । सरकारले चाहेमा काठमाडौंमा पाँच वर्षभित्र ट्राफिक व्यवस्थापनमा कायापलट हुन सक्छ । जाम घटाउने १२ उपाय यस्ता हुन सक्छन् :

बस स्टपमै यात्री चढाऔँ
विश्वभर सार्वजनिक सवारीसाधनले यात्री चढाउने र झार्ने निश्चित ठाउँ हुन्छ, जसलाई बस स्टप भनिन्छ । हामीकहाँ मुख्य सडकमै यात्रुले जहाँ हात उठायो, त्यहीँ बस रोक्ने चलन छ । दुई लेनको सडकमा बस रोकिँदा जाम भइहाल्छ । यात्रु ओराल्न र चढाउन सडकको छेउमा जमिन किनेरै भए पनि बस स्टप बनाए कम्तीमा २० प्रतिशत ट्राफिक जाम तुरुन्तै हट्छ ।

माइक्रोबसलाई निरुत्साहन
काठमाडौंमा सार्वजनिक यातायातमा सुधार हुँदै छ । अहिले सरकारले अलिकति सोच्न थालेको देखिन्छ । दुई÷तीनवटा बसले समस्या भइहाल्ने होइन, तर थालनी भएको छ । सरकारले साझालाई तीन सय विद्युतीय बस किन्न तीन अर्ब रुपैयाँ दिइसकेको छ । अरू कम्पनीलाई पनि त्यसरी नै प्रेरित गर्नुपर्छ । माइक्रोबसलाई निरुत्साहित गर्नुपर्छ ।

सार्वजनिक बसलाई डेडिकेटेड लेन
बिहान चक्रपथबाहिरका मान्छे काम गर्न कोर सिटीमा आउँछन् । साँझपख सहरबाट बाहिर जान्छन् । त्यसैले, सार्वजनिक यातायात सञ्चालन गर्न डेडिकेटेड लेन छुट्याइदिनुपर्छ, जसमा अरू गाडी प्रवेश गर्न पाउँदैनन् । सार्वजनिक बसलाई स्तरीय बनाएर छुट्टै लेन दिनेबित्तिकै धेरै मान्छे निजी गाडी चढ्न छाड्छन् । विकसित मुलुकमा शनिबार र आइतबार वा अन्य बिदाका दिन घुमफिर गर्नका लागि मात्र निजी गाडी निकाल्छन् । नेपालमा पनि ‘डेडिकेटेड इम्प्रुभ्ड मास ट्रान्स्पोर्ट’ प्रणालीको व्यवस्था हुनासाथ अर्को २० प्रतिशत जाम घट्छ ।

लेन अनुशासनको पालना
नेपालमा लेन अनुशासन पटक्कै छैन । पैदल यात्रीलाई जेब्राक्रसिङबाट मात्र बाटो काट्न लगाउने, चालकलाई लेन अनुशासनमा रहेर गाडी चलाउन प्रेरित गर्ने, अटेर गर्नेलाई अत्यधिक जरिवाना गरेर राजस्व बढाउने र त्यो राजस्व ट्राफिक व्यवस्थापनमा लगाउने गर्नुपर्छ । यसबाट पनि केही हदसम्म ट्राफिक जाम घटाउन सकिन्छ ।

स्कुल बसलाई निश्चित समय
दुई दशकअघि थाइल्यान्डको बैंककमा ट्राफिक समस्या विकराल थियो । बिहान र साँझमा स्कुलका बस अत्यधिक गुड्थे । बैंककमा बिहान सात बजेदेखि दिउँसो एक बजेसम्म स्कुल चलाउने नियम ल्याइयो । यहाँ पनि यस्तै व्यवस्था गरिदिए कार्यालय जाने र फर्किने समयमा हुने जाम १५/२० प्रतिशत घट्छ ।

आकासे पुलको प्रयोग
३०/३५ वर्षअघि दक्षिण कोरियामा काठबाट सडकमा आकासे पुल बनाइएको थियो । एकैपटक महँगा पुल बनाउनुपर्छ भन्ने छैन । हामीकहाँ एकैपटक महँगो योजना तयार हुन्छ, जुन कार्यान्वयन हुँदैन । सामान्य आकासे पुल बनाउन समय धेरै लाग्दैन, खर्च पनि धेरै हुँदैन । मान्छेलाई आकासे पुल प्रयोगका लागि प्रेरित गर्नुपर्छ ।

खोला किनारमा करिडोर
काठमाडौं उपत्यकाका खोलाका किनारमा निर्माणाधीन सडक करिडोर तत्काल सम्पन्न गर्नुपर्छ । यसले पनि मुख्य सडकको ट्राफिक घटाउन धेरै सहयोग गर्छ । तर, सरकारले जमिन प्रशस्त हुँदाहुँदै दुई लेनका सडक बनायो । अलि चौडा बनाएको भए मुख्य सडकको जाम घटाउन धेरै सहयोग पुग्थ्यो ।

सडकको अवरोध हटाऔँ
खाल्डाखुल्डी चाँडै मर्मत गरेर सडकलाई चुस्त बनाउनुपर्छ । भत्काइएका सडक पनि छिट्टै निर्माण सक्नुपर्छ । कतिपय ठाउँमा सडक, ढल, खानेपानी, बिजुलीका पोलका कारण सडकमा जाम भइरहेको देखिन्छ । जोरपाटी–बौद्ध सडकको हबिगत छ । सडकमा हुने यस्ता अवरोधलाई तत्काल हटाउनुपर्छ ।

चक्रपथमा  विद्युतीय रेल
अहिले चक्रपथमा सबैभन्दा बढी गाडी गुड्छन् । चक्रपथको ग्रिनबेल्टको छेउमा दुईतिर कुद्ने गरी विद्युतीय रेल कुदाउन सकेमा काठमाडौंमा ३० प्रतिशत गाडी हट्छन् । त्यसबाट प्रदूषण हट्छ, इन्धन खपत कम हुन्छ । ट्राफिक जाम पनि कम हुन्छ । बाहिरी चक्रपथ बनाउँदा डिपिआरमै विद्युतीय रेलबारे व्यवस्था गर्न सकिन्छ ।

मोनोरेल र ट्राम
मलेसियामा सडकमाथि एउटै पोलको भरमा मोनोरोल कुदेको देख्न सकिन्छ । काठमाडौंका धेरै ठाउँमा मोनोरेल कुदाउन सम्भव छ । चक्रपथमा ट्राम कुदाउन सकिने सम्भावना पनि छ ।

मुख्य चोकमा अन्डर पास
सवारीसाधनको भिड बढी हुने चोकमा कलंकीमा जस्तै अन्डर पास बनाउन सकिन्छ । अन्डर पास एक÷दुई वर्षमै बन्छन् । बल्खु, कोटेश्वर, चाबहिल, त्रिपुरेश्वर, कालीमाटी, माइतीघर, महाराजगन्जलगायत ठाउँमा अन्डर पास बनाएर जाम घटाउन सकिन्छ ।

सरकारी कार्यालय सहरबाहिर
दीर्घकालीन रूपमा सहरबाहिर विस्तार गर्ने अनि सेवाग्राहीको भिड हुने सरकारी निकाय सहरभन्दा बाहिर राख्ने कार्य गर्न सकिन्छ । यो रातारात गर्न पनि सकिँदैन । तर, नगरी पनि हुँदैन ।

तस्बिर : संजित परियार