१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २६ आइतबार १३:३०:००
Read Time : > 2 मिनेट
नयाँCity

चियाको देशमा कफीको प्यासन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २६ आइतबार १३:३०:००

अस्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीको दुई चिजमा लत बसेको हुन्छ, चकलेट र कफी । अस्ट्रेलियामा होटेल म्यानेजमेन्ट पढ्दा मलाई पनि कफीको लत लाग्यो । कक्षामा निन्द्रा लाग्दा पनि कफी पिउँथेँ । बिस्तारै यो मेरो ‘प्यासन’ बन्दै गयो । त्यही प्यासनका कारण स्वदेश फर्केर कफी सप खोल्ने निष्कर्षमा पुगेँ ।

सन् १९९९ मा हिमालयन जाभा सुरू गर्दा नेपालमा ‘कफी कल्चर’ विकास भएको थिएन । सहरवासी चियामै रमाउँथे । चियाको देशमा हिमालयन जाभामार्फत कफी ‘सर्भ’ गर्न थालेँ । पाँच रुपैयाँको चिया खाने ग्राहकलाई ३५÷४० रुपैयाँको क्यापुचिनो टक्र्याउन थाल्यौँ । हामीले कफी सप सुरू गर्दा मान्छेले अनौठो मान्थे । अहिले काठमाडौं र ललितपुरका गल्ली–गल्लीमा झन्डै ११ सयवटा कफी सप खुलिसकेका छन् ।

गगन प्रधान
सञ्चालक, हिमालयन जाभा

काठमाडौं उपत्यकामा ३५ वटा तथा पोखरा, चितवन, मुस्ताङको जोमसोम र सोलुखुम्बुको नाम्चेमा हिमालयन जाभाका आउटलेट खोलिसक्यौँ । अमेरिकामा तीनवटा, क्यानाडा, भुटान, दार्जिलिङ, तिब्बत र थाइल्यान्डमा पनि हिमालयन जाभा पुगिसक्यो ।

दुई कक्षामा पढ्दै गर्दा ठूलो भएपछि होटेलमा काम गर्ने दिमागमा क्लिक भएको थियो । त्यतिवेलाको चाहना पूरा गर्नकै लागि अस्ट्रेलियामा होटेल म्यानेजमेन्ट पढेँ । धेरै युवा विदेश पढ्न गएपछि स्वदेश फर्किन चाहँदैनन् । तर, मलाई सुरुदेखि नै अस्ट्रेलिया बस्ने सोच पलाएन । उतै बस्न खोज्ने युवाले ममा भने स्वदेश नै फर्किनुपर्छ भन्ने सोचलाई बलियो बनाइदिए ।

नेपाल फर्किनेबित्तिकै चल्तीको होटेलमा काम सुरु गरेँ । तर, सात दिन पनि टिक्न सकिनँ । शायद आफूले काम गरेर फर्किएको ठाउँको स्ट्यान्डर्ड काठमाडौंको त्यस होटेलमा पाइनँ होला । त्यसपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँ । र, बजार अनुसन्धानमा लागेँ । अध्ययनबाट नेपालमा कफीको बजार तयार पार्न सकिन्छ भन्ने लाग्यो ।

सन् १९९९ मा हिमालयन जाभा सुरु गर्दा नेपालमा ‘कफी कल्चर’ विकास भएको थिएन । सहरवासी चियामै रमाउँथे । चियाको देशमा हिमालयन जाभामार्फत कफी ‘सर्भ’ गर्न थालेँ । पाँच रुपैयाँको चिया खाने ग्राहकलाई ३५÷४० रुपैयाँको क्यापुचिनो टक्र्याउन थाल्यौँ । 

कफी सप खोल्नुअघि कर्पोरेट हाउस र विभिन्न कार्यालय धाएर फिडब्याक लिएँ । विभिन्न प्रश्न बनाएर हामी ती ठाउँमा पुगियो । फिडब्याक राम्रो आयो । हामी उत्साहित भयौँ । र, त्यही फिडब्याकका आधारमा कफी सप चल्छ भनेर खोलेँ । तर, सातामा तीनपटक कफी पिउन आउँछु भन्ने मान्छे तीन वर्षमा एकचोटि पनि आएनन् ।

मैले सुरूमै निधो गरेअनुसार हिमालयन जाभा खोलेको दुई दशकमा नेपाली कफी नै प्रयोग गरिरहेको छु । विदेशका आउटलेटमा पनि नेपाली कफी नै बिक्री गर्छु । विदेशका आउटलेटमा नेपालका विभिन्न कथा पनि बेचिरहेको छु । कफीको पछाडि कथा जोड्दा अझ स्वादिलो हुन्छ । अमेरिकाको मेनुमा चार सट एस्प्रेसोलाई ‘शेर्पा बम’ भनेर बेच्छौँ । यस्तै, ‘ट्रेकर्स डिलाइट’ र ‘शेर्पा डाइट’ पनि मेनुमा छ । त्यहाँको जाभामा सगरमाथाको ठूलो फोटो राखेको छु । त्यसको अगाडि बसेर विदेशीहरू तस्बिर खिच्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।

सुरुमा कफी बिक्री गर्न निकै गाह्रो परेको थियो । मिल्क कफी, ब्ल्याक कफी खाइरहेको नेपालीको बानी । हाम्रो मेनुमा एस्प्रेसो, रिस्ट्रेटो, क्यापुचिनो, लाट्टे, मक्का, बकाचिनो थिए । धेरै ग्राहकलाई नाम नै थाहा थिएन । धेरैलाई कफीका ती सबै परिकार पिउने बानी बसाल्यौँ । कफीको क्रेज बढ्दै जाँदा विदेशी ब्रान्डसमेत धमाधम नेपाल भित्रिइरहेका छन् ।

सबै कफी सप चल्छन् भन्ने हुँदैन । धेरैले लहडमा कफी सपमा लगानी गर्छन्, तर चलाउन सक्दैनन् । रिसर्च नगरी खुलेका धेरै कफी सप बिस्तारै बन्द हुन्छन् । व्यवसाय सुरु गर्नुअघि सम्भाव्यता अध्ययन गर्नुपर्छ । त्यसका लागि खर्च पनि गर्न सक्नुपर्छ । तर, हामीकहाँ २० लाख डुबाउन तयार हुने, तर अध्ययनका लागि एक लाख रुपैयाँ खर्च गर्न तयार नहुने प्रवृत्ति देखिन्छ ।