मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पोखरा रंगशालामा १३औँ सागका लागि महिला क्रिकेट खेलाउन निर्माण तयारी हुँदै गरेको मैदानको भित्री भाग ।
२०७६ श्रावण २६ आइतबार १०:०९:००
Read Time : > 2 मिनेट
खेलकुद

पोखरामा सागको तयारी सुस्त

Read Time : > 2 मिनेट
२०७६ श्रावण २६ आइतबार १०:०९:००

महिला क्रिकेट थप भएसँगै पोखरामा आठ खेल हुने, सबै खेलका भौतिक पूर्वाधार निर्माण सुस्त गतिमा 

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेट इभेन्ट पोखरामा हुने सम्भावना छ । पोखरामा यसको तयारी सुरु भएको छ । यसअघि पोखरामा सात खेल हुने भनिएको थियो । अब महिला क्रिकेट पनि थप हुनेछ । यसअघि काठमाडौंको मूलपानीमा महिला क्रिकेट हुने भनिएको थियो । महिला क्रिकेट हुने मैदानको बाहिरी पूर्वाधार तयार भए पनि भित्री तयारीको काम सुरु हुँदै छ । मैदानमा आवश्यक पूर्वाधार निर्माणको कामसमेत सुरु भएको जनाइएको छ । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले मैदानमा प्लेयर बक्स, शैचालयसँगै चेन्जिङ रुम तत्काल बनाउनुपर्ने बताएका छन् । यसका लागि करिब एक करोड ३० लाख लाग्ने अनुमान गरिएको छ । मैदानका लागि आवश्यक रोलर, स्क्रिन बोर्डलगायत अन्य उपकरणका लागि करिब एक करोड खर्च लाग्ने उनले बताए ।

महिला फुटबल अन्योलमा
पोखरामा हुने खेलमध्ये महिला फुटबल हुने–नहुनेमा आशंका छ । भौतिक पूर्वाधारका कारण महिला फुटबल पोखरामा हुने–नहुनेमा अझै द्विविधा कायम रहेको हो । महिला फुटबलका लागि भनेर निर्माण भइरहेको रंगशालाको काम कछुवा गतिमा भइरहेको छ । हाल मैदान सम्याउने र वरिपरि पानी फाल्ने ड्रेन निर्माणबाहेक अन्य काम हुन सकेको छैन । निर्माणको समयावधि समाप्त भइसक्दा पनि रंगशालाको फुलफेजको नक्सासमेत हालसम्म बनेको छैन । मैदान तयार नहुँदा बन्द प्रशिक्षण सुरु भएको छैन । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाले प्रतियोगिताका लागि एन्फा तयार रहेको तर मैदानका कारण अन्योलमा परेको बताए । मैदानका कारण आयोजनास्थल तलमाथि भए जिम्मेवारी खेलकुदमन्त्रीले लिनुपर्ने थापाले बताए । 

प्रशिक्षणस्थल अभाव
पोखरा रंगशालामा मैदान अभावका कारण खेलाडीले अभ्याससमेत गर्न पाएका छैनन् । एन्फा उपाध्यक्ष थापाले पोखरामै प्रशिक्षण गर्न आफूहरूले नेपाली सेनासँग कुरा गरिरहेको बताए । उनका अनुसार महिला खेलाडीको बन्द प्रशिक्षण विजयपुरस्थित पृतनाको मैदानमा वा काठमाडौंमा दुई–चार दिनपछि सुरु हुनेछ । हाल पहिलो चरणमा ३५ खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् । 

नेपाली र भारतीयलाई जिम्मा
सागलक्षित पोखरा रंगशालाको निर्माण जिम्मा नेपाली र भारतीय कम्पनीले पाएका थिए । भारतको ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपालको एमए कन्स्ट्रक्सन प्रालि (जेभी)ले ठेक्का पाएका हुन् । सुरुमा रंगशालाको क्षमता १६ हजार पाँच सय सिटको भनिएको थियो । पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको निर्देशनमा यसको क्षमता २० हजार पुर्‍याइने भएको छ । ‘निरीक्षणपछि मैले पोखरा रंगशालाको क्षमता २० हजार पुर्‍याउनू भनेको छु,’ सदस्य–सचिव सिलवालले नयाँ पत्रिकासँग भने । यता निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेले सागलाई लक्षित गर्दै दर्शक र भिआइपी गरी आठ हजार सिट मात्रै फिटिङ गर्ने गरी तयारी भएको बताए । सिटहरू १० नोभेम्बरसम्म फ्रान्सबाट आइपुग्नेछन् । त्यसपछि कम्तीमा एक साताभित्र सिट जडान हुने न्यौपानेले बताए । 

 ह्यान्डबल 
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कर्भड हलमा ह्यान्डबल हुने भनिएको छ । तर, अहिलेसम्म हलको बाहिरी रूपमा तयारी भए पनि भित्रको काम भने सुरु भएको छैन । हलभित्र सिटसँगै फ्लोरिङ, साउन्डप्रुफ बनाउनेलगायत काम गर्नुपर्ने संघका सचिव केशव पाठकले जानकारी दिए । ती कार्यका लागि परिषद्बाट ६ करोड बजेट विनियोजन भइसकेको उनले बताए । बजेट आएसँगै दुई महिनामा आवश्यक सबै भौतिक पूर्वाधार निर्माण सम्पन्न हुने विश्वास पाठकको छ ।

 प्याराग्लाइडिङ
प्याराग्लाइडिङ सागका लागि नयाँ खेल हो । यसै संस्करणमा पहिलोपटक समावेश गरिएको प्याराग्लाइडिङ पोखरामा हुनेछ । तर, यसको उडान र अवतरण गर्ने क्षेत्र अझै निश्चित भएको छैन । नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले पोखरा महानगरपालिका–१८, सराङकोटमा रूख कटानका लागि महानगर र अन्य सरोकारवाला निकायसँग पत्राचार भइरहेको बताए । उडान र अवतरण गर्ने स्थानमा शौचालयसँगै चेन्जिङ रुम निर्माण गर्नुपर्नेछ, जसका लागि करिब एक करोड खर्च लाग्नेछ । उडानका लागि ८० बाई ८० मिटरका दुई छुट्टै मैदान आवश्यक पर्छन् । रावतले उडान भर्ने स्थान ४५ डिग्री भिरालो हुनुपर्ने र मैदानमा फुटसल मैदान वा कार्पेट आवश्यक पर्ने जानकारी दिए ।

 पुरुष र महिला भलिबल
पुरुष र महिला भलिबल पोखरामा हुँदै छ । ह्यान्डबल र भलिबल एकै हलमा गर्नुपर्ने भएकाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि वा पछि सक्ने गरी खेल–तालिका बनाउनुपर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । पोखरामा बन्द प्रशिक्षणका लागि आवश्यक इन्डोर हल नहुँदा काठमाडौंमा बन्द प्रशिक्षण सुरु गरिएको उनको भनाइ छ ।

 भारोत्तोलन
२० स्वर्णपदकका लागि हुने भारोत्तोलन खेल पोखरा सभागृहमा हुनेछ । भारोत्तोलन संघ कास्कीका अध्यक्ष राजन वडगामीले सभागृहमा रङरोगनसँगै प्लेटफर्म मर्मत, शौचालय व्यवस्थापनसँगै अन्य सामान्य भौतिक संरचना निर्माण गर्नुपर्ने बताए । 

 ट्रायथलन
पोखराको लेकसाइडस्थित फेवातालमा ट्रायथलन हुनेछ । ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले खेलाडीका लागि शौचालय र चेन्जिङ रुम आवश्यक पर्ने बताए । उपयुक्त स्थान हेरेर त्यहीँ प्रतियोगिता गर्ने उनको भनाइ छ ।

 आर्चरी 
आर्चरी संघ कास्कीका अध्यक्ष योगेन्द्र शेरचनले प्रतियोगिताका लागि रंगशालास्थित मैदानमा दुबो रोप्ने, रङरोगन, स्टोर कोठा, शौचालय, चोन्जिङ रुमलगायत भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि करिब ९० लाख लाग्ने भएकाले बजेट माग गरिएको छ ।