मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मानदत्त रावल
२०७५ पौष २१ शनिबार १४:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

जुम्लामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण

Read Time : < 1 मिनेट
मानदत्त रावल
२०७५ पौष २१ शनिबार १४:०५:००

जुम्लामा झण्डै डेढ दशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक जुम्लामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो ।


प्रजिअ पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य एक सय ३० रुपैयाँ र डिजेलको प्रति लिटर मूल्य एक सय १५ रुपैयाँ कायम गरिएको छ । यस भन्दा अघि पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँ र डिजेल एक सय ३० रुपैयाँ सम्ममा किनबेच भइरहेको थियो । मूल्य निर्धारणसँगै अब जताततै पेट्रोलियम पदार्थको कारोबार नहुने पौडेलले बताए । ‘सदरमुकामका अधिकांस किराना, कपडा, भाडा तथा खुद्रा पसलमा पेट्रोलियम पदार्थ राखिएको पाईयो,’ उनले भने, ‘अब मूल्यमा एकरुपता भएपछि पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको बिकृति अन्त्य हुने छ ।’


२०६२ सालमा कर्णाली राजमार्ग सुरु भएदेखि हालसम्म पेट्रोलियम पदार्थमा भइरहेको महंगी र कालोबजारी बारे कसैको ध्यान पुग्न सकेको थिएन । पेट्रोलियम पदार्थ ल्याउने टयांकरको भाडा, अहिलेको मुल्य, मजदुर ज्याला, छिमेकी जिल्लाको मूल्यलाई विष्लेषण गरेर जुम्लामा पेट्रोलियम पदार्थको मूल्य तोकिएको हो । जिल्ला प्रशासन कार्यालयको सर्वपक्षीय, सर्वदलीय बैठकले गरेको पेट्रोलियम पदार्थ सम्बन्धिको निर्णय कार्यान्वयन नगर्ने जो सुकैलाई कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।