मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण २४ शुक्रबार ११:१५:००
Read Time : > 2 मिनेट
खेलकुद

इंग्लिस प्रिमियर लिगमा नयाँ नियम

Read Time : > 2 मिनेट
२०७६ श्रावण २४ शुक्रबार ११:१५:००

सन् २०१९/२० को युरोपियन फुटबलको सिजन सुरु हुन लागेको छ । इंग्लिस, स्पेनिस, जर्मन, फ्रेन्च र इटालियन लिग विश्वकै चर्चित लिगमा पर्छन् । यसमध्ये इंग्लिस प्रिमियर लिग (इपिएल) सबैभन्दा प्रतिस्पर्धात्मक मानिन्छ । इपिएल हेर्ने बानी परेका दर्शकलाई अरू लिग औसत लाग्छ । यस लिगमा कुन क्लबले कसलाई हराउँछ भनेर अनुमान नै लगाउन सकिँदैन । गत सिजनमा म्यानचेस्टर सिटी र लिभरपुलमध्ये को च्याम्पियन बन्छ भन्ने तय अन्तिम खेलबाट मात्र भयो । डिसेम्बरसम्म १० अंकको अग्रताका साथ ड्राइभिङ सिटमा रहेको लिभरपुल विन्टर ब्रेकसँगै सिटीभन्दा पछाडि पर्‍यो । इपिएलमा फराकिलो अन्तरले अगाडि रहे पनि नतिजा परिवर्तन हुन सक्छ । आउँदो शुक्रबारदेखि लिग सुरु हुँदै छ । इपिएलमा यसपटक थप प्रतिस्पर्धात्मक खेल र नयाँपन खेलाडी र समर्थकले देख्न पाउनेछन् । लिगमा केही नियम परिमार्जित भएका छन् । इन्टरनेसनल एसोसिएसन बोर्डको अनुमतिमै इपिएलमा नियम परिवर्तन गरिएको हो । 

फ्रिकिक : एट्याकिङ खेलाडी डिफेन्स वालमा बस्न नपाउने 
मानवीय पर्खाल कटाएर उत्कृष्ट फ्रिकिक गोल हेर्नु फुटबलको मजा हो । पेनाल्टी बक्सअगाडि आठ वा १० खेलाडी रहँदा विपक्षी खेलाडीले उनीहरूलाई नघाएर गोल गर्दा जति मजा आउँछ, त्यतिकै रमाइलोसँग खुसीयाली मनाउने गर्छन् । तर, अब इपिएलमा डिबक्सबाहिर फ्रिकिक हुँदा एट्याकिङ खेलाडी बस्न नपाउने भएका छन् । यो जिम्मेवारी निर्वाह गर्नेबाहेक अन्य खेलाडी भने मानवीय पर्खालमा बस्न पाउँछन् । लाइनमा कम खेलाडी राख्नुको उद्देश्य नै गोलरक्षकले बल राम्ररी देख्न सकून् भन्ने हो । यदि डिबक्सअगाडि यस्तो अवस्था आउँदा एट्याकिङ खेलाडी बसेमा रेफ्रीले तत्कालै कारबाही गर्न सक्नेछन् । 

 विस्थापन : खेलाडीनजिकको प्वाइन्टबाट बाहिरिनुपर्ने
अक्सर खेलाडी परिवर्तन हुँदा मैदानमा भएका खेलाडी आफ्नो टिमले जितिरहँदा समय कटाउन बिस्तारै बाहिर जान्छन् । साबिक नियमानुसार खेलाडी फोर्थ अफिसियल वा ड्रेसिङ रुम भएका स्थानबाटै बाहिरिन्छन् । मैदानको एक छेउमा रहे पनि ती खेलाडी अफिसियल भएकै ठाउँबाट हिँड्छन् । अब इपिएलमा समय खेर नफाल्न र खेल छिटो गर्न खेलाडी परिवर्तनका वेला बाहिरिने प्रक्रियामा फरक नियम ल्याइएको छ । बोर्डका अनुसार अब खेलाडीले अफिसियल भएको स्थान भएर जानुपर्दैन । अफिसियलले बोर्डमा परिवर्तन नम्बर देखाएपछि बाहिरिने खेलाडी आफूनजिकको लाइनबाट बाहिर निस्किनुपर्छ । 

पेनाल्टी : गोलरक्षकको एउटा खुट्टा लाइनमा
महिला विश्वकपमा यसपटक पेनाल्टी प्रहारका क्रममा धेरै विवाद आए । यस्तो किसिमको विवाद हटाउन बोर्डले पेनाल्टी प्रहारको समयका लागि केही नियम बनाएको छ । अब पेनाल्टी प्रहार हुँदा गोलरक्षकले अनिवार्य रूपमा एउटा खुट्टा गोल लाइनमा राख्नैपर्छ । यसअघि पेनाल्टी प्रहार गर्दा गोलरक्षक कुनै पनि अवस्थामा उभिन पाउँथे । उनले पेनाल्टी प्रहार गर्ने खेलाडीलाई डिस्टर्ब पनि गर्थे । यसपालि भने गोलरक्षकले लाइनमै बस्नुपर्ने हुन्छ । यसका साथै हातले क्रसबार छुने, टाउको हल्लाउनेजस्ता कार्य गर्न मिल्दैन । यता पेनाल्टी प्रहार गर्ने खेलाडीका हकमा भने केही नियम परिवर्तन भएको छैन ।

ह्विसलअघि बल चलाएमा : पहेँलो र रातो कार्ड
रेफ्रीले ह्विसल नफुकेसम्म फ्रिकिक प्रहार गर्न मिल्दैन । गोल स्कोरिङको मौका हुँदा रेफ्रीको ह्विसलको प्रतीक्षा नगरी खेलाडीले चलाखीपूर्ण रूपमा छिटो फ्रिकिक प्रहार गर्छन् । यसअघि इपिएलमा रेफ्रीको मुडअनुसार त्यो मान्य पनि हुन्थ्यो र अमान्य पनि । यसपटक रेफ्रीको ह्विसलअघि नै खेलाडीले यस्तो कार्य गरेमा कारबाही बेहोर्न सक्छन् । तर, रेफ्रीले बल रोकेपछि मात्र फ्रिकिक प्रहार गरेका वा गोल गरेका खेलाडीलाई आवश्यकताअनुसार रातो वा पहेँलो कार्ड देखाउने अधिकार रेफ्रीलाई प्रदान गरिएको छ । अब रेफ्रीको ह्विसलअगाडि नै चलाखी गरी बल चलाउँदा विनाशंकोच अफिसियलले कारबाही गर्न सक्नेछन् ।

प्रशिक्षक : रातो वा पहेँलो कार्ड कतिपय अवस्थामा निर्णय 
चित्तबुझ्दो नहुँदा प्रशिक्षक उग्र हुने र टच लाइनभन्दा बाहिर आउने गर्छन् । फोर्थ अफिसियलले उनीहरूलाई सम्झाइ–बुझाइ गर्छन् । यसले पनि मानेनन् भने अफिसियलले रेफ्रीलाई कम्प्लेन गर्छन् । रेफ्रीले त्यसैका आधारमा आफ्नो निर्णय सुनाउँछन् । तर, अब बारम्बार फोर्थ अफिसियलले भन्दा पनि टच लाइनको सीमा नाघेको अवस्थामा रेफ्रीले सीधै प्रशिक्षकलाई रातो वा पहेँलो कार्ड देखाउन सक्ने नियम बनाइएको छ, जुन इपिएलमा देख्न सकिनेछ ।