रुद्राक्षको दानामा प्लास्टिकको क्लिप लगाउने र विषादी प्रयोग गर्ने क्रम बढ्न थालेको छ । धेरै मुखदार र बढी उत्पादन लिन भन्दै कतिपय किसान र व्यापारीले कलिलो रुद्राक्षको दानामा क्लिप लगाउने र बगैँचामा विषादी छर्किने गरेका छन् । यसले रुद्राक्षको प्राकृतिक गुण नासिने खतरा बढेको छ ।
संखुवासभालाई रुद्राक्षको राजधानी भनेरसमेत चिनिन्छ । संखुवासभाको स्याबुन, वाना, धुपु, चेवाबेसी, माङतेवा, भोजपुरको दिङ्ला, नेपालेडाँडा, सोमबारेलगायतका ठाउँका हजारौँ किसानले व्यावसायिक रूपमा रुद्राक्ष खेती गर्दै आएका छन् ।
व्यापारिक चहलपहल सुरु भएसँगै कतिपय किसान र व्यवसायीले बढी आम्दानी हुने लोभमा अप्राकृतिक रूपमा रुद्राक्ष उत्पादन गर्न थालेको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्र बिसुन्केले बताए । व्यापारीलाई रुद्राक्ष बगान ठेक्कामा दिए पनि विषादी छर्किन र क्लिप प्रयोग गर्न दिन नहुने उनले बताए । ‘यसले क्षणिक रूपमा रुद्राक्ष उत्पादन बढे पनि बोट नै बिग्रने सम्भावना छ,’ उनले भने ।
चिनियाँ व्यापारी आकर्षित गर्ने उद्देश्य
चिनियाँ व्यापारीले चिल्लो, थेप्चे, मदाने र कण्ठे आकारका रुद्राक्ष मन पराउँछन् । चिनियाँ व्यापारी आकर्षित गर्न रुद्राक्षको आकार बिगार्ने क्रम बढेको हो । ‘कतिपय किसान र व्यापारीले रुद्राक्षको बगानमा नै विषादी छर्किने र कृत्रिम क्लिप लगाउने गरेका छन्,’ अध्यक्ष बिसुन्केले भने, ‘यसले रुद्राक्षको प्राकृतिक गुण मासिने जोखिम त बढेको छ नै, रुद्राक्षको महŒव पनि घट्न सक्छ ।’ उनले रुद्राक्षमा विषादी छर्किने र क्लिप लगाउने क्रम रोक्नुपर्ने बताए ।
केही वर्षअघिसम्म संखुवासभा र भोजपुरमा उत्पादन भएको रुद्राक्षको मुख्य बजार भारत थियो । चिनियाँ व्यापारीको प्रवेशसँगै भारतीय व्यापारीको एकाधिकार तोडिएको छ । चिनियाँ र भारतीय व्यापारीबीच प्रतिस्पर्धा चलेपछि किसानले पनि रुद्राक्षको राम्रो मूल्य पाउन थालेका छन् ।
विषादीले दीर्घकालीन असर
चिनियाँ व्यापारीले चाहेजस्तो रुद्राक्ष उत्पादन गर्न भन्दै विगत तीन–चार वर्षदेखि किसानले रुद्राक्षमा क्लिप प्रयोग गर्न थालेका हुन् । गत वर्षदेखि रुद्राक्षको दानामा विषादी छर्किन थालेको पाइएको छ । गत वर्ष संखुवासभाको चैनपुर नगरपालिकाको लोहाकोटमा १५ लाखमा ठेक्का लगाइएको रुद्राक्ष बगानका दुईवटा बोटमा परीक्षणका लागि विषादी प्रयोग गरिएको पाइएको छ ।
यस वर्ष खराङ, लोहाकोट, पाँचखपनलगायतका ठाउँका किसानले पनि बगानमा विषादी प्रयोग गरेको पाइएको छ । चैनपुरका रुद्राक्ष व्यावसायी वीरबहादुर तामाङका अनुसार विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुन्छ । तर, एक महिनापछि नै रङ खुइलिने, हलुका हुने र कालो देखिने उनको भनाइ छ ।