१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ श्रावण २२ बुधबार ०७:२५:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्से घट्यो, कारोबार रकम बढ्यो

Read Time : > 4 मिनेट
२०७६ श्रावण २२ बुधबार ०७:२५:००

गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही गतिलाई निरन्तरता दिएको छ । यस दिन नेप्से शून्य दशमलव ७५ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ । पुँजीगत लाभकरको भारित औसत गणना विधि कार्यान्वयनमा नआएका कारण बजारले सकारात्मक दिशा लिन नसकेको एक लगानीकर्ताले बताए । अर्थ मन्त्रालयले कट अफ डेट तोक्ने जिम्मा नेपाल धितोपत्र बोर्डलाई दिएको थियो । तर, लगानीकर्तासँग सम्झौता भएको १ साता बितिसक्दा पनि सो समस्याको समाधान नभएपछि लगानीकर्ता निराश भएका छन् । पुँजी बजारका समग्र वातावरण सकारात्मक रहेको अवस्थामा सो विवादको अन्त्य भई कार्यान्वयनमा आए बजार सकारात्मक दिशातर्फ अघि बढ्ने उनको भनाइ छ । साउन महिनालाई सेयर बजार बढ्न सिजनका रूपमा लिइन्छ । वित्तीय क्षेत्रमा पर्याप्त तरलता, कम्पनीहरूको नाफामूलक वित्तीय विवरणले पनि बजार बढ्न टेवा दिन नसकेका कारण लगानीकर्ता अन्योलमा परेको एक विश्लेषकले बताए । 

बजार सारांश
मंगलबार नेप्से परिसूचक ९ दशमलव ३६ अंक घटेर १ हजार २ सय ४५ दशमलव ७३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ९१ अंक घटेर २ सय ६९ दशमलव १० बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६१ अंक घटेको छ । यस दिन १ सय ६९ कम्पनीको ६ हजार ९ सय ४१ पटकको कारोबारमा ४५ करोड ७ लाख ५५ हजार १ सय ८२ रुपैयाँबराबरको १४ लाख ४९ हजार ६ सय ९७ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको आरएसआई यस दिन ३९ दशमलव ८१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २१ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये २५ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय १६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २८ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे पहिलो टेवा १ हजार २ सय ४२ दशमलव शून्य ६ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ३६ दशमलव ३९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे नेप्सेले १ हजार २ सय ५३ दशमलव शून्य ८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ६० दशमलव ४३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिनको पिभट बिन्दु १ हजार २ सय ४८ दशमलव ४१ रहेको छ । 

कृषि विकास बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा कृषि विकास बैंक लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ३ सय ७४ पटकको कारोबारमा ८ करोड ५४ लाख ४१ हजार रुपैयाँबराबरको १ लाख ९६ हजार ३ सय ५६ कित्ता सेयर खरिद–बिक्री भएको छ । सो बैंकको सेयरमूल्य यस दिन १ रुपैयाँ घटेर ४ सय ३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बैंकले मंगलबार गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो । अघिल्लो आवको तुलनामा १९ प्रतिशत नाफा बढाउन सफल भएका कारण लगानीकर्ता यस बैंकतर्फ आकर्षित भएका हुन् । नेपाल बैंकको यस दिन ४ करोड १६ लाख रुपैयाँबराबरको १ लाख २७ हजार १ सय ७ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, एनआइसी एसिया बैंक, प्रभु बैंक, लुम्बिनी विकास बैंक, सिद्धार्थ बैंक र नबिल बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ । यस दिन कारोबार संख्याका आधारमा भने सान्जेन जलविद्युत् कम्पनी लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यसै दिनदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो ।   

सबै समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका १२ वटै समूहका परिसूचक घटेका छन् । उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ५१ प्रतिशत घटेको छ । कारोबारमा आएको लघुवित्त समूहको परिसूचक यस दिन १ दशमलव ३७ प्रतिशत, होटेल समूहको १ दशमलव २६ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ९१ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८३ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव ८१ प्रतिशत घटेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक शून्य दशमलव ७६ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ६६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ५८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३२ प्रतिशत, अन्य समूहको शून्य दशमलव २२ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ । 

घट्दै लघुवित्त कम्पनीहरूको सेयरमूल्य
अघिल्लो सातादेखि निरन्तर सकारात्मक सर्किट लागिरहेको केही लघुवित्त कम्पनीहरूको सेयरमूल्य सोमबारदेखि घट्न थालेको छ । यस दिन सेयरमूल्य सर्वाधिक घटेको १० कम्पनीहरूको सूचीमा ९ लघुवित्त कम्पनीहरू परेका छन् । यस दिन पनि कारोबारमा आएका २ कम्पनीहरूको सेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन १० प्रतिशत घटेर सर्किट लागेको हो । 

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव २१ प्रतिशत घटेको छ भने नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ८ दशमलव १३ प्रतिशत घटेको छ । यस दिन कम्पनीहरूको सेयरमूल्य खासै बढ्न सकेन । सेयरमूल्य बढेका २५ कम्पनीहरूको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ ।

सूर्या लाइफको बुक क्लोज
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २९ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० बराबर ७ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । 

कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीले साउन १६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

ग्लोबल आइएमई लघुवित्तको हकप्रद निष्कासन
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २१ गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सो हकप्रद सेयरमा असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द भदौ २३ गते हुनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेयरधनीले लक्ष्मी क्यापिटल मार्केट, ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्तका केन्द्रीय तथा शाखा कार्यालयहरू र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २२ करोड ९ लाख १५ हजार पुग्नेछ ।