१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २२ बुधबार ०९:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

धरहरा बनाइरहेको रमण कन्स्ट्रक्सन कालोसूचीमा

Read Time : > 2 मिनेट
२०७६ श्रावण २२ बुधबार ०९:१७:००

हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाटस्थित पुल निर्माणमा लापरबाही गरेपछि रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । धरहरा निर्माणसमेत गरिरहेको रमणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नदिन भनेको हो । 

रमण–पप्पु जेभीले ०६९ मा ठेक्का लिएको गोलाघाट पुल सम्झौता अवधि सकिएर तीन वर्ष कट्दासमेत निर्माण नगरेपछि सडक विभाग हुलाकी सडक निर्देशनालयले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेको थियो । तत्काल उनीहरूलाई अन्य खरिद कार्यको जिम्मेवारी दिँदा प्रतिकूल प्रभाव पर्ने सम्भावना भएकाले सार्वजनिक नियमावली, २०६४ को नियम १४१ को उपनियम २ बमोजिम कालोसूचीसम्बन्धी प्रक्रिया टुंगो नलागेसम्मका लागि ठेक्का प्रक्रियामा भाग लिन नदिने कार्यालयले भनेको छ । उनीहरूलाई कति समयसम्म कालोसूचीमा राखिएको भन्नेबारे भने खुलाइएको छैन । 

यसअघि कालोसूचीमा राख्ने निर्देशनालयको निर्णयपछि रमण–पप्पु सर्वोच्च अदालत गएको थियो । २३ असारमा सर्वोच्चले कालोसूचीमा नराख्न अन्तरकालीन आदेश दिएको थियो । तर, १५ साउनमा सर्वोच्चले ‘२३ असारमा भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला गरेपछि’ रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न बाटो खुलेको हो । पप्पु कन्स्ट्रक्सन भने यसअघि नै कालोसूचीमा परिसकेको छ । रमण कन्स्ट्रक्सनले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको हेडवक्र्स, पावरहाउसलगायतको ठेक्कासमेत पारेको छ । 

निर्माणमा ढिलाइ, कामसमेत गुणस्तरहीन
रमण कन्स्ट्रक्सनले धरहरा निर्माणमा समेत लापरबाही गरेको छ । सम्झौताअनुसार काम नगरेको जिआइइटिसी–रमण जेभीले निर्माण सामग्रीमा पनि गुणस्तरीयता कायम नगरेको स्रोतले जनायो । 

१४ जेठमा धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको उसले ६ महिनाभित्र माथिल्लो बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ तयार गर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्राधिकरण र रमण कन्स्ट्रक्सनबीच भएको सम्झौतामा नौ महिनाभित्र १० तल संरचना निर्माण गर्नुपर्ने भनिएको छ । तर, नौ महिना पूरा भइसक्दा पनि माथिल्लो बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङसमेत बनाएको छैन । अहिले जमिनमुनि पिलर राख्ने काम भइरहेको छ । जमिनमुनि एक सय ८२ पिलर राख्नुपर्नेमा अहिलेसम्म ५६ वटा मात्रै राखेको आयोजनाले जनाएको छ । धरहरा निर्माणको सबै काम दुई वर्षभित्र सक्ने गरी जिम्मा लिएको थियो । 

स्रोतका अनुसार बेसमेन्ट निर्माणमा मापदण्डभन्दा कम बालुवा, रोडा र कंक्रिटलगायत सामग्री प्रयोग गरेको छ । एक वर्ष पुग्न लाग्दासमेत २० प्रतिशत पनि काम नभएपछि छिटो सक्ने नाममा रातिराति काम गरेको, तर प्राधिकरणले आपत्ति जनाएपछि अहिले रोकेको स्रोतले बतायो । 

‘सात महिना बित्यो, एक तला पनि बन्न सकेको छैन । त्यसैले काम त ढिलै भएको भन्नुपर्छ । भएको ठाउँमा पनि उसले सही रूपमा काम गर्न नसक्नु दुःखद हो,’ विज्ञ सदस्यका रूपमा कार्यरत पुनर्निर्माण प्राधिकरणका पूर्वसहसचिव राजुमान मानन्धरले भने । रमण कन्स्ट्रक्सनले भने साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गोस्वारा हुलाक कार्यालय र टक्सार विभागको भवन नहटाएकाले काम ढिलो भएको दाबी गरेको छ । तर, दिइएको ठाउँमा पनि काम राम्रोसँग नगरेको मानन्धर बताउँछन् । पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले भने धरहरा निर्माणमा लापरबाही भएकोबारे आफूलाई कुनै रिपोर्टिङ नभएको बताए । ‘यो विषयमा मलाई रिपोर्टिङ छैन,’ उनले भने, ‘अब म आफैँ कुरा राख्छु ।’

काम थालेको नौ महिनापछि मात्रै परामर्शदाता नियुक्ति
धरहरा पुनर्निर्माणमा ठेकेदारले काम थालेको नौ महिनापछि मात्र परामर्शदाता नियुक्ति गरेको छ । गत ४ साउनमा नियुक्त भएको केज एन्ड सोइल टेस्ट जेभीलाई ५ गतेदेखि नै काम थाल्न प्राधिकरणले भनेको थियो । उसले साढे दुई करोडमा परामर्शदाताका रूपमा काम गर्न ठेक्का पाएको हो । कम्पनीले जिआइइटिसी–रमन जेभीले गुणस्तरीय ढंगबाट काम गरेको छ–छैन अवलोकन गर्ने र सही ढंगले काम गर्न सुझाउँछ । धरहराको परामर्शदातका रूपमा काम गर्न जेभीले १८ जनाको टोली बनाएर काम थालेको छ । परामर्शदाता कम्पनी आउनुभन्दा अघि विज्ञ सदस्यका रूपमा प्राधिकरणका पूर्वसहसचिव राजुमान मानन्धरको संयोजत्वमा प्राधिकरणका अन्य पाँचजनाले काम गर्दै आएका थिए । 

यस्तो बन्नेछ धरहरा
पुनर्निर्माणपछिको धरहरा बाहिरी र भित्री संरचनासहित २२ तलाको हुनेछ । यो धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिनेछ । नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै हुनेछ । मोटाइ भने पहिलेको भन्दा केही धेरै हुनेछ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेमले छोपेर राखिनेछ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो । 

धरहराको क्षेत्र अब ४२ रोपनीको हुनेछ । धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक तीनतले सवारी पार्किङस्थल पनि बन्नेछ । हाल कायम रहेको गोस्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङस्थल बन्नेछ । पार्किङ क्षेत्रमाथि मनोरम बगैँचासमेत निर्माण गरिनेछ । अहिले भएको गोस्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ । पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिनेछ । निर्माणका क्रममा पुरातात्विक महत्वलाई कायम राखिनेछ ।