मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रवि मिश्र
२०७५ पौष २१ शनिबार ०८:१७:००
Read Time : > 3 मिनेट
साहित्य

भ्यु टावर किन ?

Read Time : > 3 मिनेट
रवि मिश्र
२०७५ पौष २१ शनिबार ०८:१७:००

उहिले मुलुकमा महीन्द्र मल्ल भन्ने राजाले राज्य गर्थे रे । ती राजा फेरि बडा प्रजावत्सल रे । बुढालाई जनताले नखाईकन भातै नरुच्ने रे । जब लन्च, डिनर टेम हुन्थ्यो, ‘भान्सा तयार भो महाराज !’ भनेसी चोटामा उक्लिन्थे रे । र, चुप्पाको झ्यालबाट एक एक घरको धुरी अवलोकन गर्थे रे । सबै घरको धुरीबाट धुवाँ आएको देखेसी मात्रै खान्थे रे । नत्र खाँदै खाँदैनथे रे । राजा भोकै पर्लान् भनेर प्रजा पनि परालको मुठो पुतपुताएर भए नि घरको धुरीबाट धुवाँ निकाल्थे रे । 
यो भयो ‘रे !’ का कुरा । पढेको, सुनेको । तर, त्यो हदको शासकीय वात्सल्य मुलुकमा देखिएन । पछि, यस पूण्यभूमिमा महावात्सल्य श्री केपी ओलीज्यूको उत्पत्ति भयो । र, सुनेको पढेको काल्पनिकजस्तो लाग्ने इतिहास वर्तमानमै बुर्कुसी मार्न थाल्यो ।

उनको वात्सल्य ‘कोही नेपाली भोको बस्न नपरोस्’ भन्ने थिमका साथ ‘मेरा राजमा कोही भोको पर्दैन’ भन्दै प्रकट हुन थाल्यो । भोको बस्न पर्दैन, नपरोस् त भनियो । ‘भोको छन् कि छैनन्’ भनी कसरी हेर्ने ? उहिले पो दरबार सबैभन्दा अग्लो हुन्थ्यो । अरू घर होचा होचा हुन्थे । दरबारको धुरी चढेर हेर्दा सबै घरका धुरी देखिन्थ्यो र धुवाँ आए नआएको हेर्न सकिन्थ्यो । चुलो बले नबलेको थाहा हुन्थ्यो र जनताले खाए नखाएको थाहा हुन्थ्यो । अहिले बालुवाटार, सिंहदरबारभन्दा पनि कति कति अग्ला घर बने । धुरीमै चढेर पनि कहाँ देखिन्थे र सबैका धुरी ? सहरमा बढेका अग्ला घरहरूले जनताले खाए नखाएको अवलोकन गर्न समस्या भयो । फेरि अहिले मोटरगाडीहरू नि व्यापक बढेको हुँदा धुवाँ आइहाले पनि त्यो धुवाँ मोटरगाडीबाट आएको हो कि जनताको धुरीबाट, छुट्याउन हम्मे । अझ त्यसमाथि निकट भविष्यमै आउने रेलको धुवाँले झनै कन्फ्युज पार्ने कन्फर्म । 

उखान टुक्काका बादशाह ओलीज्यूलाई ‘जहाँ इच्छा त्यहीँ उपाय’ भन्ने उखानटुक्का थाहा नहुने कुरै भएन । त्यसमाथि ‘मुलुकमा प्रजाले खाए नखाएको हेर्ने वातावरण नै छैन’ भनेर बस्न नि उनको वात्सल्यले दिने कुरै भएन । त्यसैले उखानटुक्काको अनुसरण गरेर भए पनि आफ्नो वात्सल्यलाई कार्यान्वयन गर्ने निष्कर्षमा उनी पुगे । दरबार होचो भयो त के भयो ? जनताका धुरी देखिएनन् त के भयो ? जनताको घरको धुरी हेरेर धुवाँ पुतपुताएुसी मात्रै खाने इच्छालाई कुन चै माकाफुईं आएर रोक्न सक्ने ? उपाय फुर्‍यो भत्केको धरहरा फेरि ठड्याउने । त्यो पनि २२ तले । ताकि कसैले एक्काइस तले नै घर बनाए नि धुरी देख्न सकियोस् । त्यो पनि लिफ्टसहितको बनाइने भइयो । ताकि भान्सा तयार भो भन्दा भात सेलाउन नपाइ खुर्र टुप्पामा पुगेर अवलोकन गरीवरी आएर खान सकियोस् । अनि दुई वर्षभित्रै धरहरा बनाई छाड्ने प्रण लिए । यसप्रकार आउँदो दुई वर्षमा काठमाडौं खाल्डोमा कोही भोको बस्नु नपर्ने भयो । धरहराबाटै यसरी निगरानी हुने भएसी कोही भोकै बस्न नपर्ने त के भोको बस्नै नपाउने भए । अनि त देउवाजीले गत चुनावमा सुनाएको हरर पुराणझैँ कम्युनिस्टले जितेसी भोको बस्नसमेत नपाइने हुने भयो । 

महीन्द्र मल्लले त काठमाडौं खाल्डो मात्रै हेरे पुग्ने थियो । काठमाडौंकै धुरीमा धुवाँ आए नआएको, काठमाडौंका जनताले खाए नखाएको मात्रै हेरे पुग्ने थियो । ओलीज्यूका दुःख नि ! त्यति हेरेर नपुग्ने ! उनको वात्सल्यले काठमाडौंको धुरी हेरेर मात्रै मान्थ्यो र ? भोकै त पूरै नेपालका कोही नेपालीले बस्न हुन्न नि । तर, गाउँगाउँका जनताले खाए नखाएको कसरी थाहा पाउने ? धुरीबाट धुवाँ पुतपुताएको कसरी हेर्ने ? फेरि ‘जहाँ इच्छा, त्यहीँ उपाय’ भन्ने उखानोच्चारणपश्चात् फेरि नयाँ जुक्ति फुर्‍यो । अब गाउँगाउँ, सहरसहरमा भ्यु टावर बनाउने । त्यहीँबाट जनताको धुरी अवलोकन गर्ने । प्रारम्भमा आफ्नै गृहजिल्ला, त्यसमा पनि जहाँका जनताले मत दिएर जिताए, त्यही निर्वाचन क्षेत्रबाटै गर्ने ताउरमाउर सुरु भयो । चानचुन तीन अर्बमा भ्यु टावर बनाउने निर्णे सदर भयो । आफैँले नियुक्त गरेका बालखा मन्त्रीले जहाज किनेर चार अर्ब झ्वाम् पार्दा, प्रधानमन्त्री स्वयंले, त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रमा तीन अर्ब खर्च गर्नु कौन्सा ठूल्कुरो भयो र ? त्यसपछि त माहोलै यस्तो भयो कि हरेक स्थानीय निकाय भ्यु टावर बनाउन बुरुकबुरुक छन् । यस्तो लाग्छ, अब मुलुकमा भोक भन्ने जिनिस नै दन्त्यकथा बन्छ । ‘खान नपाए नेपाल जानु’ भन्ने उक्तिले विश्वसामु नेपालको नाम टलक्कै हुनेछ ।

ताजुब लाग्छ, यस्तो परम पवित्र, परम वात्सल्ययुक्त भ्यु टावर प्रोजेक्टको नि मान्छेहरू बिरालाले खाबो चिथोरेझैँ आलोचना गरिरहेका छन् । सतीले सरापेको यो देशमा जनताले आलुचना खाए कि खाएनन् भनी हेर्न सुरु भएको महाअभियान धरी आलोचना मुक्त हुन सकेन । मान्छेहरू भन्दै छन्– भ्यु टावर बनाउने पैसाले त गज्जबको अस्पताल खोल्न पुग्थ्यो । विद्यालय बनाउन पुग्थ्यो । रोग लाग्दा उपचार गर्न हुन्थ्यो । नानीहरूले पढ्न पाउँथे । ए बाबा ! भोकभन्दा ठूलो रोग कुन छ ? जसको उपचार नभए केही हप्तामै मान्छेले वीरगति प्राप्त गर्छ । खाना नै नखाने हो भने ओखतीले कति दिन थेग्छ ? अनि भोको पेटमा केका ‘कपुरी क’ ? जब कि आवश्यकता ‘खाना ख’ जो छ । फेरि रेल आउँदै छ ।

बालुवाटार वा सिंहदरबारको झ्यालबाट त्यत्रो रेल अवलोकन गर्न सम्भव छ ? एउटो पुस १६ बितेर के भो  र ? एउटो पुसले जाडो जान्छ ? कुनै न कुनै पुस १६ मा पानीजहाज आउँदै छ, बार्दलीबाट हेरेर पानीजहाजको कसरी नियमन गर्ने ? जनताका घरघरमा ग्यासका पाइप पुगेको थाहापत्तो नपाएसी, खाए नखाएको कसरी थाहा हुन्छ ? सबैभन्दा ठूलो कुरा त समृद्धि आउँदै छ । समृद्धि हेरेरै मर्ने जुन धोको छ । त्यसमाथि मरेपछि पनि देशको सेवा गरिरहने इच्छा त चन्द्रागिरिको टुप्पो, जो आफैँमा एउटा भ्यु टावरजस्तै हो’मा पुग्दा फुरिबक्सेको कविताको अन्तर्यमा छर्लंगै भइसकेको छ । हाम्रो जुगकै सबैभन्दा ठूलो उपलब्धि समृद्धि परालको कुन्युबाट हेर्ने ? समृद्धि हेर्न नि भ्यु टावर त चाहियो नि । धेरै जनताहरू गरिबीको रेखामुनि छन् । कति सुकुमबासी त कति घरबारविहीनै पनि छन् । कतिको तारा गन्दै रात काट्ने बाध्यता छ । समृद्धि आएुसी नि तारा गन्दै रात काट्नुपर्‍यो भने समृद्धि आएको के अर्थ रह्यो ? कम्तीमा परिवर्तन त आउनुपर्‍यो । कमसेकम तारा गन्दै रात काट्ने विकल्पमा भ्यु टावर गन्दै रात काट्न त पाइन्छ । जसरी जताततै, टोलटोलमा, पोलपोलमा सरकार छ । त्यसैगरी भ्यु टावरको औचित्य नि स्पष्ट छ । त्यसैले यो वात्सल्यमय, सुझबुझपूर्ण, दूरदर्शी भ्यु टावर महाअभियानको दिल खोलेर स्वागत गरौँ । गाथा गाऔँ । राधे ! राधे !!