मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २१ मंगलबार ११:५५:००
Read Time : > 1 मिनेट
समाचार

विपन्नका लागि निःशुल्क कपडा बैंक

Read Time : > 1 मिनेट
२०७६ श्रावण २१ मंगलबार ११:५५:००

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा कपडा बैंक सञ्चालनमा ल्याइएको छ । धनगढीका व्यवसायी गोपाल हमाल, देवेन्द्र हमाल र श्याम हमालले १५ लाख रुपैयाँँको लागतमा कपडा बैंकको स्थापना गरेका हुन् । कपडा बैंकमा एक साताअघि नै कपडा संकलन सुरु गरिए पनि सोमबारबाट औपचारिक उद्घाटन गरेर सञ्चालनमा ल्याइएको हो । सोमबारबाटै कपडा वितरणसमेत सुरु गरिएको सञ्चालकमध्येका एक श्याम हमालले बताए । बैंकमा संकलित लुगा निःशुल्क वितरण गरिने उनले बताए । यसबाट विपन्न वर्गका व्यक्ति लाभान्वित हुने उनले बताए । 

‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन् । नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई वितरण गर्ने सोच बनाएका हौँ ।’ सञ्चालक गोपाल हमालले जो कोहीले पनि कपडालगायत सामान कपडा बैंकमा ल्याएर दिन सक्ने बताए । ती कपडा त्यहाँबाट आवश्यक परेका व्यक्तिले निःशुल्क लग्न सक्ने व्यवस्था गरिएको हमालले बताए । 

उनले कपडा बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, सिरक, डस्ना, तन्ना, जुत्ता, चप्पल, भाडालगायत मानव जीवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताए । 
‘कपडा बैंक गरिबले लैजाने र धनीले दिने केन्द्र मात्र होइन,’ उनले भने, ‘आवश्यकता भएकाले लैजाने र आवश्यकताभन्दा केही बढी भएकाले दिने मात्रै हो ।’

आर्थिक अभावका कारण सिजनअनुसार लुगा किनेर लगाउन नसक्ने विपन्न वर्गका व्यक्तिलाई लक्षित गरेर कपडा बंैक सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन् । बाढीपहिरो, आगलागी पीडितलाई पनि बैंक सञ्चालन भएपछि सहयोग हुने सञ्चालकको विश्वास छ । 

सुदूरपश्चिम प्रदेश सांसद डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सोमबार कपडा बैंकको उद्घाटन गरे । प्रदेश सांसद पन्तले धार्मिक आस्था जोडिएको क्षेत्रमा कपडा संकलन र वितरण सुरु भएपछि विपन्न वर्गलाई धेरै सहज हुने बताए ।