मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २१ मंगलबार ०७:१२:००
Read Time : > 4 मिनेट
सेयर बजार

करेक्सन हुँदै लघुवित्त समूह

Read Time : > 4 मिनेट
२०७६ श्रावण २१ मंगलबार ०७:१२:००

गत साताको दोस्रो कारोबार दिनदेखि उकालो लागिरहेको लघुवित्त समूहको परिसूचकमा सोमबार करेक्सन देखिएको छ । लघुवित्त कम्पनीहरूले प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको विवरणले लगानीकर्ता आकर्षित गरेपछि सो समूहको परिसूचक दैनिक बढिरहेको थियो । लघुवित्त कम्पनीहरूले असार मसान्तसम्ममा उल्लेख्य नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेका थिए । फलस्वरूप लगानीकर्ता लघुवित्ततर्फ आकर्षित भएका थिए । कम्पनीहरूको सेयरमूल्य निरन्तर बढेको मौकामा अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण सो समूहको परिसूचक यस दिन करेक्सन भएको हो । यस दिन सवार्धिक सेयरमूल्य घट्ने १० कम्पनीहरूको सूचीमा सबै लघुवित्त कम्पनीहरू परेका छन् । तर, कम्पनीहरूको प्राविधिक तथा आधारभूत विश्लेषण गरी सेयर खरिद–बिक्री गरेमा लगानीकर्ताले कहिले पनि घाटा व्यहोर्नुपर्दैन । वित्तीय विवरणले बजारलाई टेवा दिइरहेको अवस्थामा पुँजीगत लाभकरको विवादले बजार घट्न दबाब सिर्जना गरिरहेको एक लगानीकर्ताले बताए । विवादको मौखिक अन्त्य भइसके पनि कार्यान्वयनमा नआएका कारण लगानीकर्ता अन्योलमा रहेको उनको भनाइ छ । 

बजार सारांश : सोमबार नेप्से परिसूचक ४ दशमलव ५५ अंक घटेर १ हजार २ सय ५५ दशमलव शून्य ९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७७ अंक घटेर २ सय ७१ दशमलव शून्य १ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३४ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २२ अंक घटेको छ । यस दिन १ सय ६७ कम्पनीको ७ हजार १ सय ९४ पटकको कारोबारमा ४४ करोड ३२ लाख ५ हजार रुपैयाँबराबरको १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव ७१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ३९ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये यस दिन ३९ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २८ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

सोमबार नेप्सेको पिभट बिन्दु १ हजार २ सय ५६ दशमलव ७३ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार २ सय ५१ दशमलव ७२ बिन्दुमा पहिलो टेवा पाउनेछ भने १ हजार २ सय ४८ दशमलव ३५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय ६० दशमलव १० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुलाई तोडेर उकालो लागे १ हजार २ सय ६५ दशमलव ११ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

नेपाल बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ सय ९९ पटकको कारोबारमा २ करोड ६९ लाख ७८ हजार ४० रुपैयाँबराबरको ८१ हजार ३ सय ३२ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ३ सय ८७ पटक सेयर किनबेच भएको छ । कारोबारमा आएका कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्स, छिमेक लघुवित्त, एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट्स, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र मुक्तिनाथ विकास बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ ।

९ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये २ समूहको मात्र परिसूचक बढेको छ भने ९ समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत बढेको छ भने निर्जीवन बिमा समूहको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन सर्वाधिक १ दशमलव ७२ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५६ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४१ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २१ प्रतिशत, होटेल समूहको शून्य दशमलव १९ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव १६ प्रतिशत घटेको छ ।

स्पर्शको सेयरमूल्यमा नकारात्मक सर्किट
पछिल्लो समयमा १० प्रतिशत बढेर निरन्तरजसो सकारात्मक सर्किट लागिरहेको स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी घटेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ८ दशमलव १० प्रतिशत, इन्फिनिटी लघुवित्तको ७ दशमलव १० प्रतिशत र नेपाल सेवा लघुवित्तको ७ दशमलव शून्य ८ प्रतिशत घटेको छ । बजार ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्यमा खासै धेरै बढ्न सकेन । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ४ दशमलव शून्य ४ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । 

गुराँसको अवितरित हकप्रद बाँडफाँड
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितिरित हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले साउन ३ गतेदेखि १० गतेसम्म सिलबन्दी बोलपत्रमार्फत खरिद आह्वान गरेको संस्थापक समूहको ९० हजार ५ सय ७१ कित्ता सेयर बाँडफाँड गरेको हो । बाँडफाँडमा नपरेको सेयरबापतको रकम साउन १९ गतेदेखि बोलपत्र फाराममा उल्लेख गरिएको बैंक खातामा रकमान्तर गरिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लक्ष्मी भ्यालु फन्डको लाभांश
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड १ ले गत आवको मुनाफाबाट इकाइधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । साउन १५ गते सम्पन्न लक्ष्मी क्यापिटल मार्केटको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यस योजनाको कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ । 

कुमारीको नाफा १ अर्ब ३३ करोड
आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्ममा कुमारी बैंक लिमिटेडले १ अर्ब ३३ करोड ४० लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २८ दशमलव शून्य ४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ४ करोड १८ लाख रहेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ७० लाख ९६ हजार पुगेको छ । बैंकले चौथो त्रैमासको ३ महिनामा ३३ करोड ७ लाख ५७ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८ दशमलव २४ प्रतिशत बढी हो । गत आवको सोही ३ महिनामा बैंकले ३० करोड ५५ लाख ७३ हजार नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ दशमलव २४ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख रहेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष भने ५ दशमलव ७८ प्रतिशत घटेर ३ अर्ब १८ करोड १९ लाखमा सीमित भएको छ । बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा ७३ अर्ब २० करोड १३ लाख निक्षेप संकलन गरी ७३ अर्ब १२ करोड ३ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ९३ प्रतिशत बढी हो भने कर्जा २० दशमलव ६६ प्रतिशत बढी हो ।