Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २० सोमबार १०:१४:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण हुन्छ गर्भावस्थामा मधुमेह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २० सोमबार १०:१४:००

डा. नरेश पराजुली
मधुमेह, थाइराइड तथा 
हार्मोनरोग विशेषज्ञ
मनमोहन मेमोरियल अस्पताल

गर्भावस्थामा हुने मधुमेहलाई गर्भकालीन मधुमेह भनिन्छ । जुन आमा र बच्चा दुवैका लागि घातक हुन्छ । गर्भावस्थामा मधुमेह पछिल्लो समय विश्वभरकै  समस्या हुँदै गइरहेको छ । नेपालमा भएका विभिन्न अध्ययनअनुसार गर्भवतीमध्ये १० देखि ३५ प्रतिशतमा गर्भकालीन मधुमेहको जोखिम हुने गरेको पाइन्छ । 

किसिम 

  • सामान्यतया, तीन किसिमले गर्भावस्थामा मधुमेह हुने गर्छ । प्रिकन्सेप्सन डाइबिटिज गर्भवती हुनुभन्दा पहिले नै देखिने मधुमेह हो । मधुमेहको समस्या भएका महिला गर्भवती भएमा यो समस्या हुने गर्छ । गर्भावस्थामा यो जटिल रूपमा देखिन्छ । 
  • गर्भकालीन डाइबिटिज अर्को मुख्य समस्या हो । यो गर्भवती भएको समयमा हुने गर्छ । यो अधिकांशमा हुने मधुमेहसमेत हो । 
  • साथै, गर्भावस्थादेखि नै हुने मधुमेह अधिकांशमा देखिने गर्छ । जसलाई तेस्रो किसिमको गर्भकालीन डाइबिटिज भनिन्छ ।

कारण

  • शरीरमा इन्सुलिनले पर्याप्त काम गर्न नसकेको अवस्थामा गर्भकालीन मधुमेहको समस्या हुने गर्छ । यो वेला बच्चाको वृद्धि–विकासका लागि प्राकृतिक रूपमै शरीरमा हार्मोन परिवर्तन हुने वा बढी सक्रिय हुने गर्छन् । विशेषगरी, एचपिएल, ग्रोथजस्ता हार्मोनले शरीरमा इन्सुलिनलाई निष्क्रिय बनाउँछन् ।
  • मधुमेहको अर्को प्रमुख कारण अस्वस्थ खानपान र जीवनशैली हो । गर्भावस्थामा यसमा ध्यान नदिँदा मधुमेहकोे समस्या झनै बढेर जान्छ ।
  • कुनै पनि महिलाका आमा–बाबुमा मधुमेहको समस्या भएको अवस्थामा ती महिलालाई गर्भवस्थामा मधुमेह हुने जोखिम बढी हुन्छ । 
  • अन्डाशयमा सिस्टको समस्या हुँदासमेत गर्भकालीन मधुमेह हुन्छ । त्यस्तै, अत्यधिक मोटोपना पनि इन्सुलिन निष्क्रिय पार्ने अर्को कारण हो ।  

शरीरमा इन्सुलिनले पर्याप्त काम गर्न नसकेको अवस्थामा गर्भकालीन मधुमेहको समस्या हुने गर्छ । अन्य कारण अस्वस्थ खानपान र जीवनशैलीसमेत हुन् ।

लक्षण 

  • गर्भकालीन मधुमेह हुँदा कुनै लक्षण नदेखिन सक्छन् । यदि, कुनै महिलामा पहिलेदेखिनै मधुमेहको समस्या भएमा मुख सुक्ने, तौल घट्ने तथा थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । 
  • अत्यधिक मोटोपना, आमाबाबुनै मधुमेह भएका महिला र अन्डासयमा सिस्टको समस्या भएकाको सुगर जाँच गरिन्छ । गर्भावस्थाको २४ देखि २८ हप्तामा हार्मोनको मात्रा बढी हुने भएकाले यो जाँच गर्नुपर्छ । खाली पेटमा सुगरको मात्रा ८१ एमडीभन्दा बढी हुनु र ७५ ग्राम ग्लुकोज खाएको १ घण्टामा १८० एमडी वा २ घण्टामा १५० एमडी भन्दा बढी सुगरको मात्रा भएमा गर्भकालिन मधुमेह भएको मानिन्छ ।

कति जोखिम ?

  • गर्भावस्थामा मधुमेह हुनु आमा र बच्चा दुवैका लागि घातक हुन्छ । पेटमा रहेको बच्चाको वृद्धि–विकास राम्ररी नहुने, समयभन्दा अगाडि नै बच्चा जन्मिने, बच्चाको तौल सामान्य भन्दा बढी वा कम हुने, अपांगता भएर बच्चा जन्मिने, बच्चाको मिर्गौला र ढाडमा समस्या हुने तथा पानी जम्ने जस्ता समस्या हुने गर्छन् ।
  • आमामा अत्यधिक मात्रामा पेट फुल्ने, रक्तचाप उच्च हुने, तौल बढ्ने, आँखामा रेटिनामा समस्या देखिने, बच्चाको तौल बढी हुँदा सुत्केरी अवस्थामा बढी रक्तश्राव हुने, शल्यक्रियाबाट डेलिभरी गर्नुपर्ने तथा पाठेघरको मुखमा घाउ आउने हुन्छ ।

रोकथाम र उपचार

  • गर्भवतीमा मधुमेहको समस्या भएमा सुरुवाती अवस्थामै नियन्त्रणमा ल्याउनुपर्छ । तौल सन्तुलत राख्ने, खानपानमा ध्यान दिने तथा औषधि सेवन गरिरहेको खण्डमा परिवर्तन गर्ने वा घटाउने तथा गर्भावस्थामा मधुमेहको समस्याबाट जोगाउन इन्सुलिन नै दिनुपर्ने हुन्छ । यसका लागि औषधिसमेत प्रयोगमा ल्याउन सकिन्छ । यद्यपि, गर्भावस्थामा औषधि प्रयोग खासै गरिँदैन । 
  • मधुमेहको समस्या बढी नै भएका चिकित्सकको निगरानीमा रहेर हेरचाह गर्नुपर्छ । कतिपय अवस्थामा बच्चामा समस्या हुने भएकाले एकदमै ध्यान दिनुपर्ने हुन्छ । यो समस्या पाँच वर्षमा फेरि दोहोरिन सक्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । स्वस्थ खानपान र हलुका एक्सरसाइज गरेमा धेरै हदसम्म मधुमेहको जोखिमबाट बच्न सकिन्छ ।