मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १९ आइतबार १४:२७:००
Read Time : < 1 मिनेट
साहित्य

घनश्याम ढकालबारे समालोचना कृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १९ आइतबार १४:२७:००

साहित्यकार घनश्याम ढकालबारे समालोचक सुकुम शर्माद्वारा लिखित ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ नामक समीक्षा कृति शुक्रबार काठमाडौंमा विमोचन भएको छ । 

पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा बोल्दै प्रा.डा. ताराकान्त पाण्डेयले घनश्याम ढकाल माक्र्सवादी समालोचना र भौतिकवादी चिन्तनका क्षेत्रमा प्रतिबद्ध र प्रस्ट लेखक भएको बताए । सरुभक्तरचित ‘पागल बस्ती’ उपन्यासबारे प्रगतिवादी धाराबाट ढकालले नै सशक्त आलोचना पेश गरेको पाण्डेयले बताए ।

समालोचक निनु चापागाईंले नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक तथा सांस्कृतिक विचलन देखिएको सन्दर्भमा ढकालजस्ता आलोचकहरूको अभाव खड्किएको औंल्याए । चापागाईंले पार्टी नेतृत्वको खराब आचरण र गलत नीतिका विरुद्ध प्रतिवाद गर्ने र खरो आलोचना गर्ने व्यक्तित्वका रुपमा पनि ढकाललाई सम्झना गरे ।

समालोचक शर्माले घनश्याम ढकालसँगको आफ्नो संगत, सहकार्यका उतारचढाव स्मरण गर्दै ढकालबारे समालोचना पुस्तक लेख्दाको अन्तर्कथा सुनाए । उनले प्रगतिवादी फाँटका अरु स्रष्टाका जीवनी र समालोचना पनि आफूले तयार गरिरहेको चर्चा गरे ।

ढकालका पाँच कथा संग्रह, दुई उपन्यास, दुई निबन्ध संग्रह, चार कविता संग्रह, दुई सौन्दर्यशास्त्रसम्बद्ध पुस्तक, तीन वटा सम्पादित समालोचना पुस्तक र थुप्रै फुटकर रचना प्रकाशित छन् । प्रगतिशील लेखक संघ र अखिल नेपाल लेखक संघका तत्कालीन अध्यक्ष ढकालको १ फागुन २०६८ मा निधन भएको थियो । ढकालको स्मृतिमा २०६९ सालमा प्रतिष्ठान स्थापना भएको हो ।